चिनियाँ दूतावास घेराउ गर्न पुगेका नेविसंघका चार नेता पक्राउ



काठमाडौं ।

नेपालस्थित चिनीया राजदुतावास घेराउ गर्न गएको नेविसंघका चार कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ । केही दिन अघि चिनियाँ राजदूत छन् सोङले कुटनीतिक मर्यादाविपरीत दिएको अभिव्यक्तिको विरोधमा नारा जुलुस गर्न गएका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

नेविसंघका केन्द्रीय सदस्य बासुदेव न्यौपानेको नेतृत्वमा गएको विद्यार्थीहरुको टोलीलाई नियन्त्रणमा लिएको प्रहरीले पुष्टि गरेको छ । उनीहरु दिउँसो साढे २ बजेर दुतावास अघि नारा लागाउदै पुगेका थिए । सोङले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल भारतबीचको व्यापारसम्बन्धलाई लिएर दुई देशको सदियौं पुरानो सम्बन्धमा प्रश्न उठाउने गरी अभिव्यक्ति दिएका थिए ।

राजदुतबाट आएको उक्त अभिव्यक्ति राजनीतिक बृत्तमा चर्चाको विषय बनेको छ । चिनियाँ राजदूतले नेपाल भारत सम्बन्धमा गैरकुटनीतिक अभिव्यक्ति दिएको भन्दै राजनीतिक दलका नेताहरुले समेत टिप्पणी गर्दै आएका छन् ।

नेपालसँग जोडिएका सीमानाकाहरु बर्षौं बन्द गरेर नेपालीलाई आवागमनमा निषेध गर्ने चीनले भारतसँगको नेपाल सम्बन्धका विषयमा प्रश्न उठाउँदै अभिव्यक्ति दिएका थिए । जिम्मेवार तहमा बसेका राजदुतले उक्त अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने नेविसंघका केन्द्रीय सदस्य बासुदेव न्यौपानेले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्