सहकारी बिग्रिए कस्लाई हुन्छ फाइदा ?



सहकारी ‘सहकार्य’ शब्दबाट शुरू भएको हो । सहकार्यका लागि संसारभर सहकारी एउटा महत्वपूर्ण र प्रभावकारी माध्यम हो । विश्वका हरेक क्षेत्रमा सहकारीको योगदान महत्वपूर्ण छ ।

सहकारी सदस्यसँगको सम्बन्धमा सञ्चालन हुने व्यवसाय हो । सहकारीले सदस्यसँग भएको श्रम, सीप र पुँजी परिचालन गरी थप आयआर्जन गर्न, सदस्यहरुले आर्जन गरेको थप पुँजीलाई परिचालनका लागि योजना बनाउने, प्रविधि उपलब्ध गराउने काम गर्दै आएको छ ।

सहकारीमार्फत् सदस्यको आर्थिक अवस्थामा सुधार ल्याउन तथा सदस्यलाई सामाजिक रूपमा पहिचान दिन सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । तर पछिल्लो समय सहकारीका सबल पक्षको भन्दा दुर्वल पक्ष अर्थात् गलत कामको धेरै चर्चा भइरहेको छ । नेपालको सन्दर्भमा सामाजिक सञ्जालले सहकारीलाई यतिबेला रक्षात्मक बनाइदिएको छ ।

सहकारीको मर्म, भावना र सिद्धान्त तथा ऐन कानुन अनुसार सञ्चालन नगर्ने केही सहकारीका कारण आज सिंगो सहकारी अभियानप्रति जनताले प्रश्न उठाएका छन् । के साँच्चिकै सबै सहकारीमा बद्मासी छ त ? के सबै सहकारीले सदस्यको बचत रकम जोखिममा पारेका छन् त ? यतिबेला यो विषयमा गम्भीर बहस हुन जरुरी छ ।

१२ वर्षपछि एक लाख बुझेर चित्त बुझाउनुपर्ने अवस्था छ । अझै पैसा कति पाइने हो कसरी पाइने हो ? बचतकर्ताहरु अन्योलमा छन् । ठूला बचतकर्ता त अझै के हो के हो ? भन्ने अवस्थामा छन् ।

सहकारी सदस्यहरुको हुनुपर्ने हो, तर व्यवहारमा सहकारी सदस्यको हुन सकेको पाइएन । सहकारीको मर्म सदस्यसँग मिलेर गरिने व्यवसाय भन्ने हुन्छ, सहकारी कानुनले सदस्य नभएका व्यक्तिसँग शेयर रकम र बचत लिन नपाइने व्यवस्था रहेको छ ।कानुनको लागि मात्र नभएर सहकारीको भावनात्मक सम्बन्धले पनि सहकारी सदस्यको हुनु पर्ने हो । तर, केही सहकारी संस्थाले सहकारीमा सदस्यलाई केवल ग्राहक सम्झेर व्यवहार गरेका कारण सहकारी संस्था र सदस्यको सम्बन्ध कमजोर बन्दै गएको छ ।

सदस्य नबनी कारोबार गर्ने तथा सदस्य नबनाई कारोबार गर्ने गरेका कारण धेरै ठाउँमा समस्या आएको छ । त्यति मात्रै होइन, सदस्यसँग मात्र कारोबार गर्दा पनि सदस्यको रुपमा नभएर ग्राहकका रूपमा कारोबार गरिएकाले सहकारीमा सदस्यसँगको सम्बन्ध कमजोर भएको हो ।

सहकारीमा आउने जुनसुकै समस्याको समाधान सदस्य मिलेर गर्नुपर्ने हो । तर सहकारीमा आएको समस्यामा सदस्यको संलग्नता कमजोर देखिएको छ । सहकारी सञ्चालन गर्ने, प्रवद्र्धन गर्ने, संरक्षण गर्ने काम सदस्यको हो, तर सदस्यले सहकारी संस्थाप्रतिको अपनत्व लिन नसक्ने अवस्था सिर्जना भएको छ ।

सदस्यलाई सहकारीले सदस्य बनाउन सकेनन् कि सदस्यहरु सहकारीका सदस्य बन्न सकेनन् यो सोचनीय विषय हो । जहाँ सदस्य र सहकारीको सम्बन्ध राम्रो छ, त्यहाँ कुनै समस्या छैन, जहाँ सदस्य ग्राहकका रुपमा रहेका छन् त्यहाँ समस्या छ । सदस्यहरु बढी व्याजका लागि सदस्य बन्ने, संस्थाले बढी ब्याज लिने र दिने गरेर पैसा संकलन गर्ने र त्यसलाई परिचालन गर्ने गरेका कारण सहकारीमा संकट निम्तिएको हो ।

बदमासी गरेका, नियम विपरित चलेका सहकारीमा त समस्या आयो नै केही सहकारीमा आएको समस्याका कारण अन्य सहकारीका सदस्यहरुले एकैपटक रकम झिक्न थालेपछि अन्य सहकारीमा पनि समस्या आयो । सबै सहकारीहरु एउटै हुन, सबै ठग नै हुन भन्दै हिड्ने गिरोहदेखि आफ्नो रकम सुरक्षित गरी हालौ भन्ने उद्देश्यका साथ सहकारीमा धाउने सदस्यका कारण समेत सहकारीमा समस्या बढ्न थालेको छ ।

सहकारीले सदस्यहरूसँग बचत संकलन गरेर सदस्यलाई नै ऋण लगानी गरेका हुन्छन् । त्यो ऋण १ वर्ष, २ वर्षदेखि लामै समयसम्म पनि हुन्छ । ऋण लगानी गरेको बाहेक १० देखि २० प्रतिशत रकम तरलतामा राखेका हुन्छन् । धेरै सदस्य एकसाथ रकम झिक्न आएपछि तरलताभन्दा बढीको रकम सहकारीले दिन सक्दैनन्, यस्तो अवस्थामा सदस्यले अब सहकारी डुब्न लागेछ भन्छन् ।

अरुलाई पनि यो विषयमा बताउन थाल्छन् । जब सदस्यमा शंका पैदा हुन्छ अनि झन् धेरै सदस्या लाइन लाग्छन् अहिले अधिकाशं सहकारीमा भएको समस्या यही हो । सहकारी संस्था बन्द भयो भने सबैभन्दा बढी क्षति हुने सदस्यलाई नै हो । यो कुरा सदस्यले बुझन जरुरी छ । १२ वर्ष अघि ओरियन्टल सहकारी समस्यामा प¥यो । त्यसका अध्यक्ष सुधीर बस्नेतसँग थुप्रै स्थिर सम्पत्ति थियो, त्यो समयमा जग्गा बेच बिखन पनि हुन सक्ने अवस्था थियो ।

तर, पनि कानुनी झन्झटका कारण पनि त्यो सहकारीमा पैसा राख्नेले फिर्ता पाएका छैनन् । भर्खर मात्रै १ लाखभन्दा कम रकम भएकालाई रकम भुक्तान गर्न थालिएको छ । १२ वर्षपछि एक लाख बुझेर चित्त बुझाउनुपर्ने अवस्था छ । अझै पैसा कति पाइने हो कसरी पाइने हो ? बचतकर्ताहरु अन्योलमा छन् । ठूला बचतकर्ता त अझै के हो के हो ? भन्ने अवस्थामा छन् ।
गत वैशाखदेखि बागलुङमा इमेज सहकारी बन्द भयो, इमेजका अध्यक्ष देवकुमार नेपालीको पनि स्थिर सम्पत्ति धेरै नै देखियो तर उनी बेपत्ता भए । उनी बेपत्ता भएको विषयमा धेरैको धेरैथरी अड्कल छ । अब इमेजका बचतकर्ताको रकम पनि कहिले पाउने भन्ने अन्योलता बढेको छ । कानुन व्यवसायीका अनुसार यो सबै प्रक्रिया सकिनका लागि कम्तिमा पनि २ वर्ष लाग्छ । नेपालको कानुन नै यस्तो छ कि पीडितलाई न्याय होइन, झन् पीडा दिन्छ । अदालतले सबै कुराको फैसला गर्दासम्म यो प्रक्रिया पनि धेरै लामो हुने र पीडितलाई झन् पीडा हुने अवस्था देखिन्छ । यस्तो विषयमा सम्बन्धित निकायहरु सचेत बनेर पीडितलाई छिटो न्याय हुने तरिकाले काम गर्न जरुरी छ ।

सदस्यलाई ऋण लगानी गरेका संस्थामा के हुन्छ ?

सहकारीका नाममा ठगी धन्दा चलाएका, आफ्नो सम्पत्ती जोडेका माथिका २ उदाहरण मात्र हुन् । यी र यस्तै कारोबार गर्ने सहकारीका सञ्चालकलाई राज्यले कारबाहीको दायरामा ल्याएर छिटोभन्दा छिटो पीडितलाई रकम फिर्ता गर्नुपर्छ । यी सहकारीमा बचत गरेकाको रकम फिर्ता नहुँदा आम सहकारीप्रति आशंका पैदा भएको छ ।

सहकारीमा पैसा जम्मा गर्नु हुँदैन, डुब्छ भन्ने भाष्य जबरजस्ती स्थापित गर्न खोजिँदैछ, के सबै सहकारीले रकम डुबाएका छन् ? सहकारीमार्फत् आम जनताले कति धेरै सुविधा लिएका छन्, विपन्न वर्गका जनताको आर्थिक अवस्थामाथि उठाउन सहकारीले कति धेरै योगदान गरेको छ, यस्ता विषय ओझेलमा छन् ।

जहाँसम्म आफ्ना सदस्यलाई ऋण लगानी गरेका संस्थाहरुले ऋण नउठेका कारण बचत फिर्ता गर्न नसकेको समस्या छ । यो अलि फरक विषय हो । ऋण कसरी लगानी गरे, किन उठेन फरक विषय हो । यहाँ चर्चा गर्न खोजिएको विषय ऋण नउठेका कारण बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका सहकारीलाई सदस्यले कसरी जोगाउने भन्ने विषय हो ।

यदि सदस्यले यिनलाई पनि जोगाएनन् भने सदस्यलाई नै मर्का पर्ने हो । सञ्चालक कर्मचारी त जेल जालान् वा भाग्लान । मर्कापर्ने सदस्यलाई नै हो । बचत फिर्ताका लागि दबाब दिँदा ऋण उठेको छैन, सकिँदैन भन्ने अवस्था आयो भने कार्यालय बन्द गर्नु प¥यो, कार्यालय बन्द भएपछि सञ्चालक वा कर्मचारीमध्ये कति त भाग्लान वा कानुनी कारबाहीमा पर्लान् । कार्यालय बन्द हुनु भनेको सदस्यको पैसा अब आउदैन भन्ने अवस्था सिर्जना हुन्छ ।

सदस्यमा लगानी गरिएको ऋण समयमा नउठ्नु सहकारीमा समस्या आउनुको एउटा महत्वपूर्ण कारण हो । सहकारीमा समस्या आएपछि ऋण तिर्न पर्दैन भन्दै बेलुन उडाउँदै हिड्नेको संख्या दिन प्रतिदिन बढ्दैछ । सदस्यले दुःख गरेर बचत गरेको रकम ऋणका रुपमा लगेर तिर्न पर्दैन भन्दै बेलुन उडाउने बद्मासी गर्नेहरुलाई कारबाही नगर्दा पनि सहकारीप्रतिको विश्वास कम हँुदै गएको छ ।

उल्लेखित २ वटा सहकारीजस्तै सहकारीमा जम्मा भएको रकम आफ्नो व्यक्तिगत सम्पत्ति जोड्न प्रयोग गरेकाहरुको हकमा र सहकारीको रकम सदस्यमा लगानी गरेका संस्थाको हकमा अवस्था फरक छ । व्यक्तिगत रुपमा लगानी गरेका सहकारीका सञ्चालक भागे वा जेल गए वा संस्था सञ्चालनमा आउन सकेन भने तिनीहरुबाट रकम असुली गर्न निकै नै समस्या देखियो । तर आफ्ना सदस्यमा लगानी गरेका सहकारीमा समस्या आयो भने सहकारीका बचतकर्ता, सञ्चालक र कर्मचारी तथा राज्यका निकायसमेत मिलेर संस्थाबाट ऋण लगेका ऋणीहरुबाट रकम उठाउने र बचत फिर्ता गराउने हो ।

सहकारी सदस्यको हो, सदस्यहरुको सक्रिय सहभागितामा मात्रै सहकारीले सफलता प्राप्त गर्न सक्छ । जहाँ सहकारीले सदस्य चिन्दछ र सदस्यले सहकारी चिन्छ, त्यहाँ अहिलेको यस्तो अवस्थामा पनि कुनै समस्या छैन, जहाँ संस्थाले सदस्य चिन्दैन, सदस्यले संस्था चिन्दैन जस्तो अवस्था छ, त्यहाँ अलि धेरै समस्या देखिएको छ ।

विशेष गरेर बजार क्षेत्रका सहकारीमा नाफामा केन्द्रित भएका कारण सहकारीमा समस्या देखिएको छ । सदस्यलाई नाफाको लोभ देखाउने, सदस्य बढी ब्याज र नाफाको प्रलोभनमा पर्ने कारणले सहकारीका सदस्य समस्यामा परेका छन् । सहकारीमा समस्या आउनुको आन्तरिक कारण संस्थाको आन्तरिक व्यवस्थापन कमजोर हुनु, सामुहिक रुपमा संकलन गरेको रकम व्यक्तिगत सम्पत्ति आर्जन गर्न लगानी गर्नु मुख्य हुन भने यतिबेला बाह्य कारण पनि सहकारीलाई समस्या परेको छ ।

प्रतिक्रिया दिनुहोस्