वर्षाऋतुमा मानिसको रोग–प्रतिरोधात्मक क्षमता निकै कमजोर भएको हुन्छ । वातावरणमा ब्याक्टेरिया, भाइरस पनि अति धेरै संख्यामा उत्पन्न भएका हुन्छन् । त्यस अतिरिक्त यस याममा मानिसलाई छाला चिलाउने समस्याले निकै तनाव दिएको हुन्छ । यस्तो अवस्थामा आफ्नो रोग–प्रतिरोधात्मक क्षमता (इम्युनिटी) बढाउन र तनाव व्यवस्थापन गर्नका लागि संगीत चिकित्सा एक प्रभावकारी र सहज गर्न सकिने विधि हुन सक्छ ।
पश्चिमा जगत्मा अहिले ‘संगीत’ चिकित्साको रुपमा निकै प्रसिद्ध र प्रतिष्ठित बन्दै गएको छ । संगीतमा यति जादुगरी शक्ति हुन्छ कि यसको सम्मोहन शक्तिबाट जंगली एवं विषालु जनावरहरुलाई समेत वशमा पार्न सकिन्छ । ठूला–ठूला संरचना भत्काउन सक्ने, इच्छाले वर्षा गराउन सक्ने, फूल फुलाउन सक्ने, भूतप्रेत आदिलाई बोलाउन वा भगाउन सक्नेसम्मको शक्ति हुन्छ । संगीतमा आत्मालाई नै जगाउन सक्ने अदभूत क्षमता हुन्छ ।
आयुर्वेदमा ‘असात्मय इन्द्रियार्थ संयोग’लाई रोगको एक बृहत् कारण बताइएको छ । मानव इन्द्रियहरुलाई जब अप्रिय (असात्मय) विषयहरुसँग लामो समयसम्म सम्पर्कमा राखिन्छ, त्यसले रोग उत्पन्न गराउँछ । त्यस्तै प्रिय विषयहरुसँगको सम्पर्कमा राख्दा त्यसले स्वस्थता एवं दीर्घायु प्राप्त हुन्छ ।
कान एउटा इन्द्रिय हो, जसको विषय ध्वनि हो । कानलाई प्रिय (सात्मय) ध्वनिहरुको सम्पर्कमा राख्दा मानवको शारीरिक र मानसिक स्वस्थता कायम रहन्छ र अप्रिय (असात्मय) ध्वनिको सम्पर्कमा ल्याउँदा त्यसबाट रोग उत्पन्न हुने हुन्छ । यही जगमा संगीत चिकित्साको विकास भएको मान्न सकिन्छ । संगीत भनेको गीत, गायन र वादन तीनैवटा पक्षको संयुक्त रुप हो ।
वैदिक कालदेखि नै पूर्वमा संगीत पर्यावरणीय तथा मानवीय स्वास्थ्य एवं चेतनाको विकास–विस्तारको लागि प्रयोग हुँदै आएको पाइन्छ । यसको लागि एक स्वतन्त्र वेद सामवेदको नै निर्माण भएको छ । त्यहीँबाट संगीतको सात सुर सा, रे, ग, म, प, ध, नि, सा प्रचलनमा आएको हो । वैदिक मन्त्रहरुको उच्चारणबाट निस्कने ध्वन्ािले मानवशरीर एवं मनमा सकारात्मक ऊर्जा प्रवाह गरी आत्मिक जागरण गर्ने र पर्यावरणलाई शुद्ध बनाउने विश्वास रहेको थियो । यसलाई मन्त्रको ध्वन्यात्मक प्रभाव नै मान्नुपर्छ, जुन विषय पछि गएर राग चिकित्सा बन्यो र अहिले संगीत चिकित्साको नामले फैलिँदै छ ।
संगीतले इम्युन सिस्टमको सक्रियतालाई बढाउँछ र तनावलाई घटाउँछ ।
आयुर्वेदको चरक, सुश्रुत संहिता र अष्टाङ्ग संग्रहमा पनि संगीतको (विविध रागको) चिकित्सकीय विषयको सूक्ष्म चर्चा पाइन्छ । शरीरभित्र र बाहिर उत्पन्न हुने ध्वनिलाई चिन्तन गरेर नै पूर्र्वीय योग शास्त्रहरुमा नाद योगको परिकल्पना गरिएको छ । राग चिकित्साको रुपमा वैदिक शास्त्रहरुमा संगीतको प्रयोगको चर्चा पहिलेबाट नै हुँदै आएको छ । अहिले आएर संगीतको चिकित्सकीय प्रभावको विषयमा विश्वव्यापी अनुसन्धान भइरहेको छ । भारतको चेन्नाई राज्यमा राग रिसर्च सेन्टर नै स्थापना गरिएको छ ।
आधुनिक विज्ञानले ध्वनिलाई ऊर्जाको एक रुप मान्दछ । ध्वनि तरंगमार्फत एक ठाउँबाट अर्को ठाउँमा जाने गर्दछ । ध्वनिको तरंग एक ठाउँबाट अर्को ठाउँमा जान माध्यम (ठोस, तरल वा ग्यास) चाहिन्छ । एक ठाउँको ध्वनि अर्को ठाउँमा जानु भनेको उक्त ठाउँबाट ऊर्जा अर्को ठाउँमा स्थानान्तरण हुनु हो । तरंग स्थानान्तरण हुन प्रयोग हुने माध्यम जस्तै– हड्डी, मासंपेशी, रगत, पिसाब, फोक्सोको हावामा पनि एक प्रकारले हलचल वा सक्रियता आउँछ, जसले ती माध्यमहरुमा भएको रोग कारक
कमजोरी (डिफेक्ट) हटाउँछ र ध्वनिले उपचारात्मक कार्य गर्दछ । यसरी माइन्ड, बडी मेडिसिनको सिद्धान्तले सांगीतिक ध्वनिको शक्तिले शरीर (हाड, मांस, रगत, ग्रन्थि, स्नायु आदि) प्रभावित हुँदा मन पनि प्रभावित हुन पुग्छ र सांगीतिक ध्वनिले मन (इन्द्रिय अनुकूलता) प्रभावित हुँदा शरीर पनि प्रभावित हुन पुग्छ । यही वैज्ञानिक सिद्धान्तमा ध्वन्यात्मक सांगीतिक रागहरुबाट शारीरिक, मानसिक एवं आध्यात्मिक स्वास्थ्यको स्थापना गर्ने गरिन्छ ।
३ डिसेम्बर २०१६ मा जर्नल अफ क्लिनिकल नर्सिङमा प्रकाशित एक शोध अनुसार घरमै उपचार गराइरहेका ६० देखि ७९ वर्ष उमेरका ३३ जना (आधा महिला र आधा पुरुष) रोगीहरुलाई संगीत चिकित्सा पनि दिइएको थियो । उनीहरुलाई ११ हप्तासम्म प्रतिहप्ता दुईपटकका दरले संगीत चिकित्सा दिई उनीहरुको गुणस्तीय जीवनयापनमा परेको प्रभाव मूल्याङ्कन गरिएको थियो । संगीत चिकित्साले गुणस्तरीय जीवनको मापक शरीरको आन्तरिक क्रिया सुधारिएको, शारीरिक सक्रियता बढेको, भावनात्मक संवेगहरुमा सुधार आएको, दुखाइ घटेको, सामान्य स्वास्थ्यमा सुधार भएको, आध्यात्मिक स्वास्थ्य सुधारिएको, सामाजिक क्रियाशीलता बढेको तथा रोगीहरुमा सकारात्मक उर्जामा वृद्धि भएको पाइएको थियो । त्यस अध्ययनले संगीत चिकित्साले रोगीको गुणस्तरीय जीवनयापन सुनिश्चित गर्ने देखाएको थियो ।
आयुर्वेदीय सिद्धान्त अनुसार मानवशरीरको घटक तत्वहरु वात, पित्त र कफ दोषको प्रभाव चक्र दिनको समयसँगसँगै परिवर्तन भइरहन्छ । शरीरमा बिहान कफ, दिउँसो पित्त र साँझ वात दोष बढ्ने हुन्छ । रातको शुरुवातमा कफ, मध्यरातमा पित्त र रातको अन्तिम प्रहरमा वात दोष बढ्ने हुन्छ । त्यसै गरी सांगीतक रागहरुको गायनको पनि निश्चित समय निर्धारण गरिएको छ । स–समय गरिएको राग गायन नै सुमधुर, प्रभावी र सिद्ध हुने शास्त्रीय मान्यता छ । राग र शारीरिक दोषका बीचमा यही आधारभूत समानता छ, जसले गर्दा चिकित्साका लागि राग थप सान्दर्भिक र उपयुक्त बनेको हो ।
त्यस्तै शारीरिक दोषहरु ऋतु परिवर्तनसँगै घट्ने, बढ्ने गर्दछन् । बर्षा ऋतुमा वात, शरदमा पित्त र वसन्तमा कफ दोष प्रकुपित भएको हुन्छ । फरक–फरक रागहरुको गायन ऋतु विशेष अनुसार गरिनुपर्छ भन्ने विधान भएकोले शारीरिक दोषहरुमा ऋतु अनुसार आउने असन्तुलनलाई पनि मिलाउन रागहरुको प्रयोग सार्थक बनेको हो ।
सांगीतिक रागहरुको प्रयोगले रोगकारक असन्तुलित दोषहरुको सन्तुलन गराई रोगबाट बचाउँछ । दोषहरुको सम्यक सन्तुलन कायम गरी शरीरलाई रोग लाग्नबाट बचाउँछ । अर्कोतर्फ विभिन्न खालको मानसिक संवेगले शरीरमाथि प्रभाव पारेर दोषको असन्तुलन गराई रोग निम्त्याउँछ । रिस, द्वेष, अहंकार, घृणा, भय आदि मानसिक भावहरुको सम्यक व्यवस्थापन रागहरुले गराउँछ र रोग लाग्नबाट बचाउँछ ।
अमेरिकन साइकोलोजिकल एसोसिएसनको वेबसाइटमा प्रकाशित तथ्य अनुसार संगीतले इम्युन सिस्टमको सक्रियतालाई बढाउँछ र तनावलाई घटाउँछ । शारीरिकभन्दा मानसिक स्वास्थ्यका लागि संगीतको प्रयोग बढी प्रभावकारी हुन्छ । डा. डयानियल जे लेभिटिन र डा. मोनालिसा चन्दाले विश्वका ४ सयवटा अनुसन्धान प्रतिवेदनहरु अध्ययन गरी उक्त तथ्य सार्वजनिक गरिएको वेबसाइटमा जनाइएको छ ।
उमेर, देश, काल एवं संस्कृति अनुसार व्यक्तिलाई मन पर्ने वा मन नपर्ने धुन फरक हुन्छ । बाल्यावस्थामा बालगीत–संगीत, जवानलाई मायाप्रीतिका र बूढाबूढीलाई भजन–किर्तन मन पर्ने गर्छ । युरोप, अमेरिकामा पप वा रक एवं वेस्टर्न शास्त्रीय संगीत बढी सुनिन्छ भने नेपाल–भारतमा शास्त्रीय संगीतप्रति बढी राग छ । सबै संगीतको आ–आफ्नै विशेषता भए पनि अनुसन्धानले संगीत चिकित्सामा भारतीय शास्त्रीय संगीत (राग) को प्रयोग प्रभावकारी देखाएको छ ।
बिरुवाहरुमा संगीतको प्रभावबारे पी टम्किन्स र जी बर्डको पुस्तक द सेक्रेट लाइफ अफमा उल्लेख गरिएको छ । सो अनुसार उनीहरुले तीन सेट वनस्पति तयार गरी त्यसमा क्रमशः रक÷पप संगीत, पश्चिमी शास्त्रीय संगीत र पूर्वीय शास्त्रीय संगीत सुनाइयो । पप गीत सुनाइएका वनस्पतिहरु तलतिर लत्रे, पश्चिमी शास्त्रीय संगीत सुनाइएका वनस्पतिहरु ३५ डिग्रीसम्म माथि उठे र पूर्वीय शास्त्रीय संगीत सुनाइएका वनस्पतिहरु ६० डिग्रीसम्म संगीतको स्रोततर्फ उठेको पाइएको थियो ।
सांगीतिक रागहरुले शरीरभित्र हुने षड्चक्रमाथि प्रहार गर्दछन् । स्नायु–अन्तस्रावी प्राणालीलाई क्रियाशील गरेर चक्रलाई सक्रिय गराउँछन् । त्यसैले शास्त्रमा हरेक चक्रको जागरणको लागि विशेष ध्वन्यात्मक बीज मन्त्र पनि तय गरिएको छ । जसको सिद्धले उक्त चक्रको जागरण हुन्छ । फलतः व्यक्तिमा असीमित क्षमता, शान्ति, ऊर्जा एवं शक्ति प्राप्त हुन्छ ।
इन्टरनेसनल आयुर्वेदिक मेडिकल जर्नलमा सहप्राध्यापक पल गुरु शरणद्वारा अगस्त २०१७ मा प्रकाशित डिस्कृप्सन अफ म्युजिक थेरापी इन आयुर्वेदका अनुसार रागले शरीरको व्याधिक्षमत्व बढाउँछ, शरीरको क्षय रोक्छ, अपव्यय रोक्छ, साथै तल्लो फ्रिक्वेन्सीको संगीतले संक्रामक जीवाणुलाई पनि मार्दछ । रागले मानसिक दोष रजस् र तमस्लाई पनि सत्व गुणतिर प्रवृत्त गराउन सहयोग गर्दछ ।
जे होस्, अहिलेसम्मको अध्ययन र प्रयोगले संगीत मानिसको रोग–प्रतिरोधात्मक क्षमता वृद्धि गर्न, उपचार गर्न प्रभावकारी सिद्ध भएको छ । मानिसको शारीरिक रोगमात्र नभई मानसिक रोग उपचारमा पनि संगीत प्रभावकारी साबित भएको छ । विभिन्न प्रयोगहरुबाट संगीत मानिस, पशुहरु र बोटबिरुवाहरुका लागि उपयोगी साबित भएको पाइएको छ । भविष्यमा उपचारका लागि संगीतको उपयोग वृद्धि हुँदै जाने देखिएको छ ।
प्रतिक्रिया