अर्थतन्त्र सुधारका लागि उद्यमशीलतामा युवा जमात लाग्न जरुरी: मुख्यमन्त्री चौधरी

जेसीज क्षेत्र (घ) सम्मेलन रुपन्देहीको तिलोत्तमामा सुरु 

0
Shares

बुटवल । 

नेपाल जेसीजको आयोजनामा  रुपन्देहीको तिलोत्तमामा जेसीज क्षेत्र (घ)सम्मेलन सुरु भएको छ । सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि युवा उद्यमशीलतामा जोड दिएका छन् ।

त्यस्तै पलायन भइरहेको युवा जनशक्तिलाई रोक्न र देश विकासमा सहभागी गराउनको लागि मुलुक भित्रै रोजगारी सिर्जना गर्नुपर्ने मुख्यमन्त्री चौधरीले जोड दिए । मुख्यमन्त्री चौधरीले प्रदेशमा दुई लाख युवालाई रोजगारी सिर्जना गर्ने कार्यक्रम सरकारले ल्याएको र यो कार्यक्रममा सहयोग गर्न पनि जेसीजलाई आग्रह गरे।

यो देशको भविष्य युवाको काँधमा रहेको बताउँदै उनले युवालाई जिम्मेवार भएर प्रस्तुत हुन पनि आग्रह गरे । जेसीजमा उद्यमशील युवाहरू रहेको औँल्याउँदै उहाँले रोजगारी सिर्जनामा जेसीजबाट पनि सरकारले केही आशा राखेको भनाई राखे ।

त्यस्तै नेपाल जेसीजका अध्यक्ष विकास मानन्धरले जेसीजमा १८ देखि ४० वर्ष उमेर समूहका युवाहरू रहेको जानकारी गराउँदै युवाको नेतृत्व व्यक्तित्व विकासमा काम गर्दै आएको बताए। त्यस्तै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले अब देशको नेतृत्व युवाले गर्नुपर्ने वेला आएको बताउँदै त्यसको लागि तयार हुन आग्रह गरे ।

तिलोत्तमा जेसीजको आतिथ्यमा शनिवार सम्म सञ्चालन भएकाे सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुने तिलोत्तमा जेसीजका अध्यक्ष प्रकाश गौतमले बताए । सम्मेलनमा गैँडाकोटदेखि पश्चिम महेन्द्रनगर सम्मका ५८ शाखाबाट करिब ५ सय जेसीसको सहभागिता रहेको  छ ।