‘गुरु’ शब्दका बारेमा हामीले धेरै सुनेका छौँ । जहाँसुकै जानुहोस् मानिसहरूले गुरुका बारेमा आ–आफ्नै धारणा बनाएका हुन्छन् । गुरुका ठूला–ठूला भक्त पनि छन् तर गुरुको अर्थ के हो ? गुरु को हुन् ! कतिपय गुरुले यो दुनियाँको कुरा गरिरहन्छन् । मनोकामना पूरा होओस् भन्ने हुन्छ । तथापि, मनका पछाडि दौडनुपर्ने आवश्यकता किन छ ? त्यसै पनि मानिसहरू मनका पछि दगुरिरहेकै छन् । कति गुरुहरूले त ‘म तिम्रो मनोकामना पूरा गरिदिन्छु’ भन्ने गर्छन् । यथार्थमा मनोकामना पूरा भएर शान्ति प्राप्त हुन सक्दैन ।
हामी सबैको मनोकामना हुन्छ । एउटा सानो उदाहरण छ । एकजना मानिस थिए । उनी बिहानीको समयमा अन्तर्वार्ता दिनका लागि आफ्नो साइकलमा निस्के । अर्का दोस्रोचाहिँ व्यक्तिले कसैको साइकलको टायर पङ्क्चर भएमा त्यसलाई मर्मत गर्ने भनेर पसल खोलेका हुन्छन् । जागिरका लागि अन्तर्वार्ता दिन गइरहेका व्यक्तिले सृष्टिकर्तासँग भन्छन्, ‘हे भगवान् ! मेरो टायर पङ्क्चर नहोओस् । नत्र भने त ढिलो हुनेछ । मैले जागिर नपाउन सक्छु ।’
साइकल पसलेले पनि सृष्टिकर्तासँग प्रार्थना गर्छन्, ‘हे भगवान् ! धेरै समयअघिदेखि अहिलेसम्म कसैको टायर पङ्क्चर भएको छैन । एक–दुईवटा टायर पङ्क्चर गराइदिनुहोस् । मेरो आजको खानाको जोहो हुन्थ्यो ।’ अब ती सृष्टिकर्ताले कसको कुरा सुन्ने ? हाम्रो कुरा वा उनको कुरा सुन्ने ? हामी बिर्सन्छौँ अनि आफ्नो मनोकामनामा बहकिन्छौँ ।
दुनियाँको ज्ञानका बारेमा त हामीलाई थाहा छ तर हाम्रै बारेमा बताइने ज्ञानका बारेमा हामीलाई थाहा छैन । तपाईंको सन्दुक (बाकस) मा दुई हजारजना मानिसको कोठाको चाबी छ तर तपाईंसँग आफ्नै बाकसको चाबी छैन । दुई हजारजनाको चाबी हुनु र नहुनुको फाइदा के नै भयो र ! आफ्नै बाकसलाई त खोल्न सक्नुहुन्न । आफ्नो बाकसको चाबी पनि त हुनुपर्छ । आफ्नो ताल्चा पनि त खुल्नुपर्छ । दुनियाँका बारेमा ज्ञान छ तर आफ्नै बारेमा ज्ञान छैन भने के फाइदा भयो र ? दुनियाँको सेवा त गर्नुहुन्छ, हरेक दिन गरिरहनुहुन्छ तर तपाईंभित्रका दिव्य चीजको पनि त सेवा गर्नुपर्छ ! यसको अर्थ हामीले दैनिकरूपमा गरिरहेको कामलाई बन्द गरिदिनुहोस् भनेको पनि होइन । केही छैन, त्यो काम पनि गर्नुहोस् । पत्रपत्रिका पढ्नुमा कुनै खराबी छैन । टेलिभिजन नहेर्नुहोस् भन्न खोजेको पनि होइन । तथापि, आफ्ना बारेमा पनि जान्नुहोस् अनि अनुभव गर्नुहोस् । यथार्थमा हामीले अनुभव गर्न नसकेको कुरालाई केवल भनाइका आधारमा मात्र बुझ्यौँ भने त त्यो चीज अपूरै रहन्छ । अनुभवको कुरा कस्तो हो भने भोको मान्छेको भोक शब्दले मेटिँदैन, भोजन ग्रहण गर्नै पर्छ ।
तपाईं जीवित रहुन्जेल यी सबै कुरा सम्भव हुन्छन् । दुःख पनि हुन्छ, सुख पनि हुन्छ । हाँस्नु पनि हुन्छ र रुनु पनि हुन्छ । कुरा राम्रो पनि हुन्छ अनि नराम्रो पनि हुन्छ । नातागोता पनि हुन्छन् । आफन्तहरूले पनि दुःख दिन्छन् । कतिपय अवस्थामा छिमेकीले हैरान पार्छन् । कतिपय अवस्थामा हामीले छिमेकीलाई दुःख दिइरहेका हुन्छौँ । यी सबै कुरा भइरहेका हुन्छन् । युवावर्गले जब तीव्र गतिमा कार चलाइरहेका हुन्छन् नि, त्यतिखेर प्रहरीले समात्लान् कि भन्ने डर रहिरहन्छ । तर, हामी जुन दुःख, झन्झट आदिबाट बच्ने कोशिश गरिरहन्छौँ नि, एकदिन यी सबै कुरा आफसे आफ बन्द हुन्छन् । कुनै डर छैन । कुनै कार चलाउनुपर्ने छैन । कोही आफन्त हुँदैनन्, कोही केही छैन । सबै कुरा समाप्त हुनेछ । हामी बिहानदेखि बेलुकासम्म कति चिन्ता बोकेर हिँडेका हुन्छौँ ! यो कुराको चिन्ता छ, त्यो कुराको चिन्ता छ । चिन्ताबाट जोगिनका लागि हामी के–केचाहिँ गर्दैनौँ र ! तथापि, एउटा त्यस्तो समय पनि आउनेछ त्यो समयमा हाम्रा यी सारा चिन्ताहरू आफसे आफ बन्द हुनेछन् । सबै समाप्त हुनेछन् । यदि शरीर नै बाँकी रहेन भने कस्ता नातागोता बाँकी रहन्छन् र ! कसले हैरान पार्छ ? कसैले नराम्रो भने पनि केही हुनेछैन ? हामी जुन यी सारा कुराका पछि दगुरिरहेका छौँ नि, जसलाई हामी झन्झट मानिरहेका हुन्छौँ– एकदिन यो कुरा आपैmँ सकिनेछ र यस्तो घटना सबै मान्छेका लागि घट्नेछ ।
अर्को जन्ममा स्वर्ग जान पाइयोस् भनेर मानिसहरू कहाँ–कहाँ पुग्छन् । के–के गर्नलाई बाँकी राख्छन् र ! यो मनले चाहना राख्छ । तपाईँ जीवित रहेकै अवस्थामा यदि कसैले ‘तपाईं स्वर्ग जान चाहनुहुन्छ’ भनेर सोध्यो भने आफ्नो शिर हल्लाउन सक्नुहुन्छ । तथापि, जब अन्तिम दिन आउनेछ नि, त्यस बेलामा ‘तपाईं स्वर्ग जान चाहनुहुन्छ’ भनेर सोधे पनि आफ्नो शिर हल्लाउने क्षमता हुँदैन । न त हुन्छ भन्न सक्नुहुन्छ, न हुन्न भन्न सक्नुहुन्छ । सोच्नुपर्ने कुरा के छ भने हामी जीवित रहेकाले नै यी सबै कुरा सम्भव भइरहेका छन् । तथापि, यसका अतिरिक्त पनि यो संसारमा हरेक चीज सधैँ बदलिरहेको हुन्छ । कुनै पनि चीज स्थायी हुँदैन । न पृथ्वी स्थायी छ, न सूर्य स्थायी छ, न त चन्द्रमा नै स्थायी छ । सबै चीज बदलिरहेका छन् ।
सन्त–महात्माहरूले पनि सत्यताका बारेमा बताएका छन् । सत्यता एकदमै सुन्दर छ । वास्तवमा मनले गर्ने गरेको कल्पना आपैmँमा राम्रो हुँदैन । तथापि, हामी त यही मनको कल्पनालाई सबैभन्दा उत्तम मान्छौँ । सत्यतालाई त हामी देख्नै सक्दैनौँ, किनभने यति घोर अन्धकारका कारण हामीले देख्नै सक्दैनौँ । यसर्थ ज्ञानको उज्यालो आवश्यक छ । त्यो दियोले हृदयलाई छोपेको अँध्यारोलाई हटाइदेओस् । यो अन्धकारलाई हटाउनका लागि मभित्र रहेको ज्ञानरूपी दियोलाई हजुरले बालिदिनुहोस् भन्ने प्रार्थना हुनुपर्छ । यदि मेरो जीवनमा प्रकाश प्राप्त भएमा मेरो खोजीमा रहेको त्यस चीजलाई म देख्न पाउनेछु । मैले भौँतारिने आवश्यकता पर्नेछैन । म आफ्नो जीवनमा वास्तविक आनन्दको अनुभव गर्न सक्छु । हामीभित्र यो कुरा नभएसम्म हामी धेरै कुरा गर्ने कोशिश गरिरहन्छौँ । यदि हाम्रो जीवनमा यो सम्भावना भयो भने त फेरि वाह ! वाह ! हुनेछ । त्यसपछि मात्रै वास्तवमा मानिसले वास्तविक शान्तिको अनुभव गर्न सक्नेछ ।
हामीले हाम्रो क्षमतालाई बिर्सेका छौँ । हामी को हौँ भन्ने कुरालाई हामी बिर्सन्छौँ । हामीभित्र भएको करुणालाई हामी बिर्सन्छौँ । हामीभित्र भएको लगनशीलतालाई हामी बिर्सन्छौँ । हामी आफूभित्र भएको दयालाई बिर्सन्छौँ । हामी आफूभित्र भएको आनन्दलाई बिर्सन्छौँ । हामी एउटा मानव के हो भन्ने कुरालाई नै बिर्सन्छौँ ।
मानिसको बारेमा कुरा नगरी तपाईँ शान्तिको बारेमा कुरा गर्न सक्नुहुन्न । किनकि, शान्ति त मानिसको हृदयमा नाचिरहेको हुन्छ ।
मलाई थाहा छ, अहिले मानिसहरू भन्छन्, ‘ओहो, मानिसहरू त खराब हुन्छन् । हेर्नुहोस् त तिनीहरूले के गरिरहेका छन् ! तिनीहरू त एक–अर्कालाई मारिरहेका छन्, एक–अर्कालाई आतङ्कित तुल्याइरहेका छन्, एक–अर्कालाई त्रसित पारिरहेका छन् । त्यो त मानिसको स्वभाव होइन ।’
यस संसारमा धेरै असल कुराहरू छन् । यस संसारमा धेरै दयालु छन् । यस संसारमा धेरै उदारता छ । यो मानिसको वास्तविक स्वभाव हो, यो तपाईँको साँचो स्वभाव हो । तपाईँको स्वभाव हो– शान्तिलाई अगाध प्रेम गर्नु, शान्ति चाहनु, तृप्त हुनु । यो भनिरहनुपर्ने कुरा नै होइन । साँच्चै नै यस पृथ्वीमा एउटा स्वर्गलाई स्थापना गर्न सकिन्छ ।
मानिसहरूले कुरा गर्ने गर्छन्, मरेपछि के उनीहरू स्वर्ग जान्छन् ? त्यस सुन्दर स्वर्गको एउटा सानो समस्या छ । त्यस स्वर्गमा पुग्नका लागि तपाईँले मर्नुपर्छ । तपाईँ जिउँदो हुँदैमा किन त्यो अनुभवद्वारा त्यो स्वर्गको स्थापना नगर्ने ? तपाईँ जिउँदो हुँदै, तपाईँ यहीँ हुँदै ?
मानिसहरूले भन्ने गर्छन्, ‘हेर्नुहोस् त कति मानिसहरू भोकै छन् ?’ किन ? तपाईँले कहिल्यै मानिसहरू किन भोकै हुन्छन् भनेर विचार गर्नुभएको छ ? के यसको मूल कारण खानेकुराको अभाव हो ? होइन ! चालीस प्रतिशत उत्पादित खाद्यान्नलाई खेर फालिन्छ । यसलाई फ्याँकिन्छ । यो उपभोगको लागि उपयुक्त छैन भनेर फालिन्छ । यस संसारका हरेक व्यक्तिलाई खुवाउन चाहिनेभन्दा पनि बढी खानेकुरा छ । मानिसहरूले भन्ने गर्छन्, ‘मानिसहरूलाई चाहिने स्वच्छ पानी छैन ।’ संसारमा प्रशस्त मात्रामा पानी छ । मलाई विश्वास गर्नुहोस्, प्रशस्त मात्रामा पानी छ । तर, पानीलाई कसले फोहोर बनाउँछ ? हामीले बनाउँछौँ ।
हाम्रो आफ्नो वास्तविक स्वभावलाई बुझ्ने, हाम्रो त्यो शक्तिलाई बुझ्ने कुरा हामीमा नै निर्भर छ । यदि हामी त्यो शान्तिलाई प्राप्त गर्न चाहन्छौँ भने त्यो शान्तिलाई हामी प्राप्त गर्न सक्छौँ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com_
प्रतिक्रिया