सुन तस्करी प्रकरणमा महरा र उनका छोरामाथि छानबिन हुनुपर्छ: महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरामाथि पनि छानबिन हुनै पर्ने बताएका छन् ।

बुधवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब हुने अनुसन्धानमा पूर्वसभामुख महरा र उनका छोरालाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने बताए।

उनले भने, ‘अहिले सिआईबीले गर्दै गरेको छलफल जुन छ, त्यसमा एक जना ठूलै पार्टीका नेता, पदाधिकारी, तर यो संसदको पूर्व सभामुख नै भएर बस्नुभएको व्यक्ति, उहाँको सयौँ, र उहाँका छोराको कयौँ पटक तस्करहरुसँग टेलिफोनमा छलफल भएको भन्ने मिडियामार्फत बाहिर आएको छ। अब अनुसन्धान गर्दैगर्दा त्यो विषयलाई नछोडियोस्। उहाँहरु निर्दोष नै हो भनेपनि निर्दोष प्रमाण गर्ने निकायले छानबिनका लागि दायरामा ल्याउनुपर्छ।’

सुन प्रकरणका लागि छानबिन गर्न बन्ने उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रंगिन टालो भएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्