रिचर्डसनले जिते स्वर्ण



Untitled design – 1

लन्डन, (एजेन्सी) । करिअरको पहिलो ग्लोबल फाइनलमै अमेरिकाकी शकार्रि रिचर्डसनले विश्व एथ्लेटिक्स च्याम्पियनसिप २०२३ अन्तर्गत महिला एकल १ सय मिटर दौडमा स्वर्ण पदक जितेकी छन् ।

हंगेरीको राजधानी बुडापेस्टमा जारी च्याम्पियनसिपमा २३ वर्षीय रिचर्डसनले सोमबार सम्पन्न फाइनलमा जमैकाकी सरिका ज्याक्सन र सेलीयन फ्रेजर प्राइसलाई पछि पार्दै स्वर्ण जित्न सफल भइन् । सुरुवातमा राम्रो गति लिन नसके पनि रिचर्डसनले दौड १०.६५ सेकेन्डमा पूरा गरिन् । दोस्रो भएकी ज्याक्सनले १०.७२ सेकेन्डमा दौड पूरा गर्दा तेस्रो स्थानकी प्राइसले १०.७७ सेकेन्ड खर्चिएकी थिइन् ।

दुई वर्षअघि रिचर्डसनले निलम्बनका कारण टोकियो ओलम्पिक गुमाएकी थिइन् । त्यस्तै, गत वर्ष ओरेगन, अमेरिकामा भएको विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा रिचर्डसन छनोट भएकी थिइनन् । प्रतियोगिता अन्तर्गत गत आइतबार भएको १० हजार मिटर दौडमा युगान्डाका जोशुवा चेप्टेगुईले स्वर्ण पदक जित्न सफल भए । उनले उक्त दूरी २७ मिनेट ५१.४२ सेकेन्ड्समा पूरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्