केन्द्रीय कारागार अस्पतालमा एकै दिन ४ कार्यक्रम



काठमाडौं । 

केन्द्रीय कारागार अस्पतालमा सहकर्मी तथा सहपाठीलाई नै स्वास्थ्य परामर्शदाता बनाउन नेपाल स्वास्थ्य समाजको प्राविधिक सहयोगमा केन्द्रीय कारागार अस्पतालले डिल्लीबजार,नख्खु,महिला,भद्र तथा केन्द्रीय सुधार गृहका अस्पताल नाइके,सह नाइके तथा स्वच्छ आचरण भएका र सहयोगी मन भएका करिब ९५ जनालाई दौँतरी शिक्षाको तालिम प्रदान गरिएको जनाएको छ ।

डिल्लीबजार,नख्खु र केन्द्रीय सुधार गृहमा सञ्चालित उक्त साथी शिक्षा कार्यक्रममा सहभागीलाई प्रमुख अतिथि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकी,कारागार प्रशासक ललित बस्नेत र अनाश्रित प्रहरी गुल्मका डिएसपी कुमार विक्रम थापाले प्रमाणपत्र,ट्रयाकसुट र खाजा खर्च वितरण गर्नु भएको थियो ।

केन्द्रीय कारागार अस्पतालको  सभा हलमा अस्पतालका प्रमुख मेडिकल सुपेरिटेण्डेट डा. बुढाथोकीको सभापतित्वमा २ वटा सीएमई सम्पन्न भएको छ । कारागारभित्र रहेका कैदी बन्दी तथा थुनुवाहरूमा कमजोर भौतिक संरचना,खराब जीवनशैली तथा स्वास्थ्य सचेतनाका कमीले नसर्ने रोग,जीवनशैली रोग तथा सङ्क्रामक रोगहरूमा बढोत्तरी भइरहेको अस्पतालको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

केही हप्तादेखि अस्पतालमा अधिकतम बिरामी आ“खा पाक्ने,ज्वरो र मानसिक समस्याका देखिएकाले उक्त विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा काठमाडौँ मेडिकल कलेजकी आँखारोग विशेषज्ञ प्रा. डा. सबिना श्रेष्ठले पछिल्लो समय महामारीको रूपमा फैलिएको कन्जगंटिभाईटिसको परिचय , लक्षण, उपचार तथा रोकथामका बारेमा प्रस्तुतीकरण गर्नुभयो ।

मानसिक अस्पतालका वरिष्ठ मानसिक चिकित्सक डा. वासुदेव कार्कीले मानसिक स्वास्थ्यको परिचय, अवस्था, आत्महत्या, सरकारको पहल तथा रोकथामका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । त्यस्तै डेंगुका बारेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनी र डा. गोकर्ण दाहालले प्रस्तुतीकरण दिनु भएको थियो । समाजमा व्याप्त भ्रम तथा अन्तरक्रिया सहभागीबाट उठाइएका जिज्ञासाहरूको विज्ञहरूले समाधान गर्नु भएको थियो ।


हालै महामारीको रूपमा फैलिरहेको  डेंगु रोगको रोकथामका लागि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट एडभोकेसी कार्यक्रमका साथ निर्देशक डा. मरासिनीले जोखिम समूहमा रहेका बिरामी कैदी बन्दीका लागी ३ सय किटनाशक झुल केन्द्रीय अस्पतालका निर्देशक डा. बुढाथोकीलाई हस्तान्तरण गर्नु भएको थियो । कारागार प्रशासक ललित बस्नेत र इपिडिमियोलोजीका निर्देशकले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता गरिरहनु भएका अस्पतालका निर्देशक डा.बुढाथोकीले सहयोगी नेपाल स्वास्थ्य समाज, इपिडिमियोलोजी, प्रशिक्षकहरू,कारागार प्रशासक,डिएसपी लगायत सबैलाई धन्यवाद दिँदै प्राप्त सचेतनाको भरपुर व्यवहारतः कार्यान्वयनमा ल्याउन अनुरोध गर्नुभयो ।

उपलब्ध किटनाशक झुल अस्पतालका भर्नारत बिरामी,केन्द्रीय सुधार गृह,भद्र सुधार गृह,महिला सुधार गृह,नख्खु र डिल्लीबजार सुधार गृहमा रहेका ज्येष्ठ नागरिक तथा जोखिममा रहेका बिरामीलाई वितरण गरिने बताउनु भयो । सम्पूर्ण कैदी बन्दीलाई सम्बोधन गर्न सकिने गरी सहयोग दिन सबै सहयोगी संघ संस्थाहरुलाई अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा कारागार कार्यालयका प्रमुख ललित कुमार बस्नेत अनाश्रित गुल्मका प्रमुख डिएसपी कुमार विक्रम थापा, कारागार अस्पतालका विशेषज्ञ, मेडिकल अफिसर  लगायत अन्य कर्मचारी, नेपाल स्वास्थ्य समाजका अध्यक्ष ऋषि ओझा, कार्यालयकी  सीनियर अ हे व कल्पना ज्ञवाली, कारागारका नाइके भाइ ,चौकीदार  लगायत करिब एक सय  जनाको उपस्थिति रहेको थियो ।

साथी शिक्षा कार्यक्रम नेपाल स्वास्थ्य समाजका अध्यक्ष ओझा तथा सिएमई र किटनाशक झुल हस्तान्तरण कार्यक्रम कारागार अस्पतालकी अस्पताल नर्सिङ निरीक्षक सरिता प्रजापतिले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्