अदृश्य धन र अज्ञानताले थिचिएको हाम्रो मुलुक



संसारमा दुई प्रकारका मानिसहरु हुन्छन्, एक ठूला सोच भएका र अर्को सानो सोच भएका । ठूलो सोच भएका मानिसहरुले माथि हेर्ने गर्दछन् । यसबाहेक यिनीहरुले सानातिना कुराहरुमा फोकस गर्दैनन्, यिनीहरुले गरिब असहाय, मुलुकको समस्या, मानवता र केही घरको बारेमा सोचिराखेका हुन्छन् । तर जसको मन र सोच सानो हुन्छ, यिनीहरुको सोच अलि अलग किसिमको हुन्छ । नकारात्मक कुरा गर्ने, अरुको उन्नति देखिनसहने, अल्छी गर्ने, खुट्टा तान्ने, होच्याउने, घरमा गृहिणी तथा बालबच्चालाई यातना दिनेजस्ता सोच यस्ता मानिसमा हुन्छ ।

तर समाजका यस्ता व्यक्तिबाहेक देश चलाउनेहरुमा अर्कै प्रकारको सोच हुन्छ । जस्तै कि हाम्रै मुलुकको कुरालाई लिऊँ, यहाँका नेताहरुको सोच नै एक प्रकारको अनावश्यक इगो, जसमा लामो समय शासन गर्ने, पार्टी तथा व्यक्तिगत प्रयोजनका लागि अकुत सम्पत्ति कमाउने, कार्यकर्ता पाल्ने, झुटो बोल्ने र समय बढाउनका लागि अल्झिराख्ने हुन्छन् । यिनीहरुले मेरो भविष्य कस्तो होला भनेर कहिल्यै सोच्दैनन् । आखिरमा नेपालका नेताहरुले राम्ररी काम गर्न नसक्नुको कारण के हो त ? शिक्षाको कमी, गलत आसेपासे या भनौं खोपडीमा गिदी नै नभएको, यिनीहरुलाई जति सम्झाऊ, सुझाव देऊ, गाली गर, दिमागमा घुस्दैन । त्यस कारणले गर्दा यसो भन्नुपरेको हो । नेताहरुको अदृश्य धन आर्जनले मुलुक सुस्त भएको भन्दा पनि फरक नपर्ला ।

वास्तमा भन्ने हो भने, देशमा यिनीहरुका कारणले गर्दा नै गाडी जहिले पनि फस्ट गियरमा चलेजस्तै देश पनि यसरी नै चलिराखेको छ । अहिले हाम्रो देशको वास्तविक हालत पनि यस्तै नै छ । हाम्रो देशमा लोकतन्त्र आएको पनि झन्डै ३५ वर्ष भइसक्यो । यति बेलासम्म देश त सुध्रिनुपथ्र्यो नि, खै त ?

एउटा बुझ्न नसकिएको कुरा के छ भने, भगवान्को आशिर्वाद नै नभएको हो कि, सतीको सराप हो कि, नेता तथा मानिसहरुको दिमागले नै काम नदिएको हो कि । यी कुराहरु भने बुझ्न गाह्रो भएको छ । हाम्रो देशमा लोकतन्त्र, गणतन्त्रपश्चात् राष्ट्रकोषको सदुपयोग राम्ररी भएको भए सर्वसाधारणले दालभात, शिक्षा, स्वास्थ्यका लागि यति उकुसमुकुस हुनुपर्दैनथ्यो होला । तर यस्ता कुरालाई लोकतन्त्र, गणतन्त्र ल्याउनेहरुले कहिल्यै पनि बुझ्न सकेनन् ।

देशमा लोकतन्त्र आएको यत्रो भइसक्यो तर देश चलाउनेहरु अझै माफियाहरुको पछि दौडिने, युवापुस्ता विदेश दौडिने, सर्वसाधारण महँगो दालभातका लागि मात्रै दौडिने हो भने यो मुलुक कसले बनाउने त ? जब मुलुकमा अनावश्यक नेता र अल्लडे मानिसहरुको संख्या बढी हुन्छ त्यो मुलुक सुध्रन गाह्रो हुन्छ । त्यसकारण यस्तो अवस्थामा राम्रा नागरिकहरु पनि देशलाई सुधार्न, बनाउन, बचाउन दौडिनुपर्दछ । अन्यथा यस्ता वाहियात लोकतन्त्रको के काम ?

अहिले देशलाई उचाइमा पु¥याउने केही आधारहरु छन् । यदि यसलाई सबै क्षेत्रबाट योगदान पु¥याउने हो भने यी कुराहरु असम्भव भने छैन । सर्वप्रथम देश चलाउनेहरुमा धेरै कुराहरु र अरु पुराना नेताहरुलाई गाली गरिरहनुभन्दा नयाँ–नयाँ देश सुधार हुने भिजनहरु बनाउनु जरुरी छ । हुन सक्छ भने पुराना बूढाखाडा नेताहरु पनि परिवर्तन हुने हो । एवं प्रकारले देशमा रहेका नागरिकहरुले पनि देशको अवस्थालाई हेरी सरकार, नेता, कर्मचारीहरुलाई पे्रसर दिने हो । खालि खराब कुराहरुको खण्डन, आलोचना र कलहलाई देख्दा मन दिक्दार भएर आउँछ । त्यसकारण सबै पक्षहरु मिलेर यस्तो वातावरण देशको हुन नदिऊँ । अहिलेको परिप्रेक्ष्यमा कानुन, पुलिस प्रशासन, अख्तियारका पक्षहरुमा पनि केही व्यक्ति खराब छन् भने बाँकी व्यक्तिहरु माथिका प्रेसरले गर्दा गलत बाटोमा जान बाध्य भइराखेका छन् । तर अब भने यस्तो हुन भएन । जतिसुकै मानिसलाई भगवान्ले खराब बनाउन लगाए पनि मानिसले यो बुझ्नु जरुरी छ– यो मेरो लागि परीक्षा हो, मैले गलत काम गर्दा आफ्नो परिवारको, देशको अवस्था नराम्रो हुन्छ । यस्तो सम्झी आफूले आफूलाई बदलेर राम्रो बाटो अपनाउनु जरुरी छ । अनि मात्र मुलुक बन्ने हो । भनाइको मतलब मानिस सधैँ एकनासले पैसाको लागि खराब बाटोमा मात्र लागिराख्ने हो भने अरुको नजरमा घृणाको पात्र हुनेछ । यसरी जीवनभर खराब मानिस भएर के बाँच्नु ?

हाम्रो देशमा एउटा अर्को पनि समस्या छ । त्यो हो– जब बाबुआमाले आफ्नो सन्तानलाई राम्रो संस्कार दिन सक्दैनन्, पारपाचुकेको कारण यिनीहरुको मृत्यु आदिका कारणले गर्दा केटाकेटी गलत बाटोमा जाने गर्दछन् । यसबाहेक घरायसी झगडा, पढाइमा इच्छा नहुनु, लागू पदार्थको लत, इगो, विदेशको सपनाजस्ता कारणले पनि केटाकेटी बिग्रेका हुन्छन् । यस्तो अवस्थामा सम्बन्धित निकायले यस्ताहरुलाई कडाइ तथा कन्ट्रोल गर्नुपर्दछ । यसमा कुशल नागरिकहरुले पनि सम्बन्धित निकायलाई प्रेसर दिन सक्नुपर्दछ ।

अन्त्यमा एउटा कुरा जोड्न चाहन्छु । मानिसको जीवनमा सानोतिनो मनमुटाव, पैसाको समस्या र दुर्घटनाजस्ता कुराहरु भइराखेका हुन्छन् । मानिसले यस्ता कुरालाई हल्कारुपले सामना गरेर अघि बढ्ने हो भने उसको जीवन रमाइलो हुन्छ । अर्को कुरा, नागरिकहरुले पनि सधैँ नेताहरुलाई गाली गर्नुभन्दा आफ्नो स्तरबाट पनि गाउँ, शहर र मुलकमै केही गरेर देखाउन सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्