मनोबल नखस्काऊ



यस वर्षको परीक्षाफल अनुसार माध्यमिक तहको पढाइ पूरा गर्ने विद्यार्थीको संख्या ह्वात्तै घटेको छ । यसले विद्यार्थीको मनोबल खस्केको देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सुधार गर्ने नाममा ननग्रेडिङ (एनजी) उल्लेख गर्ने व्यवस्था गरेपछि माथिल्लो कक्षा पढ्ने विद्यार्थीको संख्या घट्न गएको छ । एनजी भन्नाले ३५ प्रतिशतभन्दा कम अंक ल्याउने जनाउँछ । एनजी भनेको अनुत्तीर्णसरह हो । गतवर्ष जारी लेटर ग्रेडिङ निर्देशिका अनुसार ग्रेडिङ प्रणालीमा पास–फेल नभने पनि एनजी आएकाहरुले माथिल्लो तहको अध्ययन गर्न पाउने छैनन् । यो वर्ष १ लाख ८२ हजार ९ सय २६ जना विद्यार्थीले एनजी ल्याएका छन् । दुई विषयमा एनजी ल्याउने विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था छ । अघिल्ला वर्षहरुमा दुईवटा विषयसम्म एनजी आउँदा ती विषयहरुमा मात्रै ग्रेडवृद्धि परीक्षा सोही वर्ष दिन पाउने व्यवस्था थियो । यो वर्षदेखि जतिवटा विषयमा एनजी आएको छ, त्यसको मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले गतवर्षको परीक्षाभन्दा सुधार भएको दाबी गर्नुभएको छ । बोर्डको उक्त दाबीलाई सकारात्मक भन्न सकिएला तर ठूलो संख्यामा विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएपछि परीक्षाको सुधारको विषय गौण देखिएको छ । परीक्षाको नतिजा अनुसार यो वर्ष ४९ दशमलव ९ प्रतिशत विद्यार्थीेले एनजी ल्याएका छन् । ती विद्यार्थीले उच्च शिक्षा पढ्न पाउन मुस्किल छ । यसले विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको घट्दो संख्यामा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । परीक्षामा एनजी ल्याएका विद्यार्थीलाई अनुत्तीर्णको संख्या दिएर त्यसैका आधारमा उच्च शिक्षा प्रवेशमा रोक लगाउनु गलत निर्णय हो । अधिकांश विश्वविद्यालयका कलेजमा विद्यार्थीको संख्या घट्दो क्रममा छ । अझ कम उत्तीर्ण गराएर विद्यार्थीलाई खाडी मुलुकमा विदेशिन बाध्य बनाउनु हो । माध्यमिक शिक्षा सकेर माथिल्लो कक्षा पढ्ने सपना देखेका विद्यार्थीलाई सरकारले नै पढाइको आधारमा अयोग्य ठहर गर्दा उनीहरुको भविष्य अन्योल हुने देखिएको छ ।

हुन त सरकारले माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ । केन्द्रले स्थानीय तहको अधिकार हस्तक्षेप गरी परीक्षा सुधारको नाममा अनुत्तीर्ण विद्यार्थीको संख्या बढाएर युवा जमातलाई विदेशिन बाध्य तुल्याएको छ । तीनघण्टे परीक्षाको नाममा सक्षम युवालाई अनुत्तीर्ण गराएर शिक्षामा सुधार आउँदैन । ओपन बुक होस् वा विद्यालयमा मूल्याङ्कन गरेर विद्यार्थीलाई उत्तीर्ण गराउनु उचित हुन्छ । अनुत्तीर्ण भएका विद्यार्थीले फेरि सबै विषयको परीक्षा दिने सम्भावना कम हुन्छ । त्यस्ता विद्यार्थीलाई प्राविधिक शिक्षामा जोड दिनु आवश्यक छ । होइन भने उच्च शिक्षा अध्ययन गर्न नसकेका युवाको संख्या विदेशिएपछि मुलुक थप दयनीय अवस्थामा पुग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्