अंशवण्डा : कसलाई कस्तो सम्पत्ति किन वण्डा गरिन्छ ?



नेपालको प्रचलित सम्पत्तिसम्बन्धी कानुनबमोजिम कुनै पनि नगद, वस्तु वा कार्य जसलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा उपभोग गर्न, स्वामित्व हस्तान्तरण गर्न, कारोबार गर्न, निष्क्रिय पार्न तथा खरिद–बिक्री गरेर लाभ प्राप्त गर्न सकिनेलाई सम्पत्ति भनेर परिभाषित गरेको छ । ब्ल्याक ल डिक्सनरीले सम्पत्तिलाई अलि पृथक तवरले परिभाषित गरेको पाइन्छ, ‘कुनै वस्तुको स्वामित्व भनेको एक वा धेरै व्यक्तिहरुको अधिकार हो र यो अरुको अधिकारबाट वञ्चित गर्ने विशेष अधिकार हो ।’ त्यस्तै गरी भारतको कानुनले सम्पत्ति भनेको चल वा अचल, मूर्त वा अमूर्त कुनै पनि प्रकारको वस्तुलाई सम्पत्ति सम्झनुपर्छ र त्यस्तो प्रकृतिको सम्पत्तिमा कुनै प्रकारको व्यवसाय वा व्यक्तिसँग विशेष अधिकार वा स्वार्थ समावेश हुन्छ भनी परिभाषित गरिएको छ ।

सम्पत्ति विशेष गरी दुई प्रकारका हुन्छन् । अचल सम्पत्ति र चल सम्पत्ति । सामान्य बुझाइमा अचल सम्पत्ति भनेको पृथ्वीको धरातलसँग जोडिएको जुनसुकै सम्पत्तिलाई बुझिन्छ । नेपालको सम्पत्तिसम्बन्धी परिच्छेदले कुनै पनि घर वा जमिन वा सोसँग जोडिएको संरचना, घर वा जमिनसँग स्थायीरुपमा आबद्ध भएको कुनै वस्तु, खानी, ढुंगा वा खनिजजन्य वस्तु, भूसतह तथा भूमिगतरुपमा रहेको पानी, नदी, ताल, तलैयामा तैरने गरी स्थायीरुपमा बनाइएका घर वा अन्य संरचना, जमिनमा खडा भएको रुख, बिरुवा वा फलफूलका बोट वा त्यस्ता रुख, बिरुवा वा फलफूलका बोटमा फलेका फल वा फूलेका फूल, जमिनमा फलेका बाली र अचल सम्पत्तिसँग आबद्ध रहेको कुनै चल सम्पत्तिलाई अचल सम्पत्ति भन्दछ ।

नेपालमा रहेको सम्पत्तिसम्बन्धी कानुनको सोही परिच्छेदले नगद वा नगदसरह कारोबार हुने वस्तु वा विदेशी मुद्रा, सुन, चाँदी, जवाहरात, रत्न, सुनचाँदीबाट बनेका गरगहना वा बहुमूल्य पत्थर, माथि उल्लिखितबाहेकका एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न सकिने अन्य वस्तु, साथै ऋणपत्र, धितोपत्र, प्रतिज्ञापत्र, विनिमयपत्र, प्रतीतपत्र वा अन्य विनिमय अधिकारपत्र वा त्यसबाट प्राप्त हुने लाभ, बौद्धिक सम्पत्ति, धितोमा रहेको हक, व्यापारिक ख्याति वा फ्रेन्चाइज, अचल सम्पत्तिबाहेकका अन्य सम्पत्तिलाई चल सम्पत्ति भनेको छ ।

सम्पत्तिलाई विभिन्न किसिमले वर्गीकरण गरिएको छ । जस्तै– निजी सम्पत्ति, सगोलको सम्पत्ति, संयुक्त सम्पत्ति, सामुदायिक सम्पत्ति, सार्वजनिक सम्पत्ति, सरकारी सम्पत्ति, गुठीको सम्पत्ति । यी सम्पत्तिहरुमा विशेष गरी निजी सम्पत्ति नितान्त व्यक्तिगत हुने हुनाले कसैको वण्डा नलाग्ने हुन्छ । संयुक्त सम्पत्ति यसको प्रकृति र स्वामित्वको आधारमा वण्डा लाग्ने वा नलाग्ने भन्ने हुन्छ । सामुदायिक सम्पत्ति, सार्वजनिक सम्पत्ति, सरकारी सम्पत्तिमा कसैको हक–अधिकार तथा दाबी नलाग्ने हुनाले कुनै किसिमको वण्डा, बेचबिखन, हक–हस्तान्तरण हुने सम्भावना रहँदैन । गुठीको सम्पत्तिको सन्दर्भमा कुनै–कुनै गुठी अन्तर्गत भोगाधिकारको आधारमा अधिकारप्राप्त गर्न सक्ने भएको हुनाले सोहीबमोजिम हस्तान्तरण भई अंशियारहरुमा वण्डा लाग्ने हुन्छ तर गुठीकोे सम्पत्ति अंशियारबीच वण्डा गर्नको निमित्त सो सम्पत्ति सगोलको सम्पत्ति हुनुपर्दछ ।

विषेश गरी कुनै पनि सगोलको सम्पत्ति पति, पत्नी, बाबु, आमा, छोरा, छोरीको बीचमा वण्डा लाग्ने कानुनी प्रावधान रहेको पाइन्छ । जसमा परिवारको प्रत्येक अंशियार अंशको बराबर हकदार रहने व्यवस्था छ । त्यतिमात्र नभई अंशवण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र निजले जन्माउने शिशु अंशियार हुने भएमा त्यसरी जन्मने शिशुलाई समेत समान अंशियार मानी निजको अंश छुट्याउन पर्ने हुन्छ । कदाचित उक्त गर्भमा रहेको शिशु जिउँदो नजन्मिएमा त्यस्ता शिशुको लागि छुट्याइएको अंश अन्य अंशियारले बराबर पाउने हुन्छ ।

कुनै पनि दम्पती जसको विवाह सम्बन्ध अन्त्य भैसकेको छ भने निजहरुबाट जन्मेका छोराछोरीले ती आमाबाबुबाट अंशभाग पाउँछन् । बाबुको पहिचान नभएका छोराछोरीले भने आमाको सम्पत्तिबाट मात्र अंश पाउने हुन्छ । अर्को विवाह गरेको तर कुनै प्रकाश नगरी गोप्यरुपमा बाहिर राखेको पत्नीले वा निजबाट जन्मेका छोराछोरीले पति वा बाबु मरेपछि अंशमा दाबी गर्न पाउने अधिकार कानुनले प्रदान गरेको छैन ।

कोही व्यक्तिको पति वा बाबुआमाको मृत्यु भएमा मृत्यु भएको व्यक्तिले प्राप्त गर्ने सम्पुर्ण अंश भाग निजका पत्नी वा छोराछोरीले पाउने हुन्छ । यदि विधवा महिलाले अर्को विवाह गरेमा निजले आफ्नो पतिले पाउने सम्पूर्ण अंश हक आफैँले पाउने हुन्छ र सोही आमाबाट छोराछोरीले अंश लिन सक्छन् तर छोराछोरी नभएमा निज स्वयंले नै उक्त सम्पत्ति लिन पाउने हुन्छ । त्यस्तै कुनै व्यक्तिको एकभन्दा बढी श्रीमती छन् भने त्यस व्यक्तिको जे–जति अंश छ, सो अंश भागबाट बराबर दुवै पत्नीले अंश भाग पाउने हुन्छ । यद्यपि कुनै व्यक्तिले पत्नी, छोराछोरीसँग अंशवण्डा गरी भिन्न भएपछि वा त्यसरी भिन्न भएकासँग आफ्नो अंश छुट्याई सँगै बसेको अवस्थामा अर्को विवाह गरी त्यसबाट जन्मिएको छोराछोरी वा पत्नीले बाबु वा पतिबाट मात्र अंश भाग पाउने कानुनी प्रावधान मुलुकी देवानी संहिता अंशवण्डासम्बन्धी व्यवस्थाको दफा २१० ले व्यवस्थित गरेको छ ।

वास्तवमा एकाघरसँगका अंशियारहरुमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्ने कानुनी व्यवस्था प्रमाण ऐन, २०३१ को दफा ६ (क) मा भएको पाइन्छ । त्यसैले सगोलको सम्पत्ति अंशवण्डा गर्दा सम्पूर्ण अंशियारहरुबीच औपचारिकरुपमा वास्तविक व्यवहारबाट लिखित वण्डापत्र गर्नुपर्ने हुन्छ । बाँडफाँड गर्दा सम्पूर्ण सम्पत्ति असल–कमसल, नरमकरम मिलाई गर्नुपर्ने हुन्छ । धनमात्र नभई सम्पूर्ण अंशियारहरुलाई सो परिवारमा भएका ऋण पनि घटी–बढी नहुने गरी बाँडफाँड गर्नुपर्ने हुन्छ । यसरी वण्डा गर्दा कुनै विवाद आएमा विवादलाई समाप्त गरेर मात्र वण्डा गर्नुपर्ने हुन्छ तर त्यस्तो विवाद समाधान हुन नसकेमा विवाद परेको सम्पत्ति बाँकी राखी अन्य सम्पत्ति वण्डा गर्नलाई कानुनले बन्देज लगाएको छैन । तर सगोलको ऋण भनेको घरको मुख्य व्यक्ति वा सवैको मञ्जुरीले केही व्यापार, घर, खेती वा अरु कुनै काम गर्न उमेर पुगेको व्यक्तिले लिएको ऋण वा व्यवहारलाई मात्र कानुनले ऋण मानेको छ ।

वण्डा गर्दाको बखतमा कुनै अंशियारले बदनियत राखी अंश वण्डा गर्नुपर्ने सम्पत्ति लुकाउन, छिपाउन नपाउने कानुनी प्रावधान रहेको छ । यदि कोही कसैले वण्डा लाग्ने सम्पत्ति लुकाएर, छिपाएर राखेको विषय पछि प्रकट हुन आएमा सो सम्पत्ति लुकाउने अंशियारउपर अंश दपोट मुद्दा लगाउन सकिन्छ । त्यतिमात्र नभई उक्त सगोलको सम्पत्ति लुकाउने व्यक्तिको उक्त सम्पत्तिउपर स्वामित्व नरहने र अरु अंशियारले सो सम्पत्तिलाई बराबर भाग लगाई वण्डा लगाई लिन पाउने व्यवस्था रहेको छ ।

अंश वण्डाको मुख्य उद्देश्य भनेको पैतृक सम्पत्ति सम्पूर्ण अंशियारलाई न्यायपूर्ण तवरले व्यवस्थितरुपमा विभाजन गर्नु पनि हो, जसको विषयमा सर्वोच्च अदालतका माननीय न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, माननीय न्यायाधीश ईश्वरप्रसाद खतिवडा, माननीय न्यायाधीश प्रकाशमान सिंह साउतसमेतको पूर्ण इजलासले मिति २०७३।०६।१३ (ने.का.प २०७३ भाग ५८, अंक १२, मुद्दा नं. ९७२५) को अंश मुद्दामा अंशवण्डा गर्दा सबै अंशियारहरुलाई बराबर हुने गरी गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा सबै सम्पत्तिबाट बराबर कित्ताकाट गर्दा व्यवहारमा मिल्दो नहुन पनि सक्छ । त्यसैले सम्पत्तिको मूल्याङ्कन, क्षेत्रफल, बनोट, प्रकृति आदि तथ्यको आधारमा व्यावहारिक हुने गरी सम्पत्तिको बाँडफाँड गरिदिनु न्यायोचित हुन्छ । साथै त्यस्तो कार्यले सम्पत्तिको उचित व्यवस्थापन भई सबै अंशियारहरुको व्यवहार सल्टिन पुग्छ । अंश वण्डाको महलको मुख्य मकसद पनि पैतृक सम्पत्तिको न्यायोचितरुपमा बराबर बाँडफाँड हुनुपर्ने भनी फैसला गरी नजिर स्थापना गरेको पाइन्छ ।

अन्त्यमा, कुनै पनि अंशियारको आफ्नो पैतृक सम्पत्तिमाथिको हक–अधिकार कोही–कसैले हनन गरेर कुण्ठित गर्न सक्दैन । कुनै एक अंशियारले अर्का अंशियारको हक मार्ने हेतु अनधिकृत तवरबाट कैयौँ व्यक्तिको नाउँमा राजीनामा पारित गरी वा अन्य कुनै तवरले हक हस्तान्तरण गरे तापनि कानुनको सहायता लिई आफ्नो अंश हक स्थापित गर्न सक्छ । अंश मासी खाने व्यक्तिउपर अंश प्राप्त गर्नुपर्ने व्यक्तिले मात्र नभई उसको कैयौँ पुस्तासम्मले मुद्दा दायर गरेर आफ्नो बाबुबाजेबाट प्राप्त गर्नुपर्नेे अंश हक प्राप्त गर्न सक्छ ।

(लेखक अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्