कांग्रेसमा आवधिक महाधिवेशन र पुस्तान्तरणको बहस



नेपालको सबैभन्दा पुरानो र प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा पटक–पटक रुपान्तरण र पुस्तान्तरणको बहस चल्दै आइरहेको छ । पार्टीका संस्थापक नेताहरु बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराईका पालासम्म यो अवस्था थिएन । आफैँमा समकालीन राजनीतिज्ञ उहाँहरु पार्टीलाई समेत सामूहिक नेतृत्वमा चलाउनुहुन्थ्यो । त्यस बेला छोटो–छोटो समयमा नेतृत्व परिवर्तन भइरहने र नेताहरुबीचमा समेत आन्तरविरोध भइरहे पनि पार्टी निर्माण र गतिशीलताका खातिर एउटै समितिमा बसेर काम गर्ने फराकिलो सोच उहाँहरुमा थियो । सभापतिको जिम्मेवारीमा बसिसकेका नेताहरु पार्टीको संस्थागत हितका लागि आवश्यकता अनुसार कार्यसमितिको जुनसुकै जिम्मेवारीमा बसेर काम गर्न नेताहरुबीच कुनै मतभेद थिएन ।

२००३ साल माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा भएको पहिलो भेलाबाट नेपाली राष्ट्रिय कांग्रेसको सभापति टंकप्रसाद आचार्य र कार्यकारी सभापति विश्वेश्वरप्रसाद कोइराला हुनुन्थ्यो । प्रकाशन विभाग अध्यक्षमा डा. डिल्लीरमण रेग्मी, संगठन मन्त्री कृष्णप्रसाद भट्टराई र प्रचार तथा संगठन निमित्त सदस्यमा देवव्रत परियारलाई जिम्मेवारी दिइएको थियो । लगत्तै मजदुर आन्दोलनका क्रममा नेताहरु बीपी कोइराला, तारिणीप्रसाद कोइराला, गेहेन्द्र शमशेर जबरा, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालालगायत नेताहरु पक्राउ परेपछि २००३ चैत्र २७ र २८ मा पहिलोपटक जोगवनी सम्मेलन भयो । सो सम्मेलनबाट कार्यवाहक सभापति मातृकाप्रसाद कोइराला र महामन्त्री कृष्णप्रसाद भट्टराई हुनुभयो । २००४ साउन १, २, ३ मा बनारसमा भएको दोस्रो सम्मेलनबाट कार्यवाहक सभापति डा. डिल्लीरमण रेग्मी र महामन्त्रीमा कृष्णप्रसाद भट्टराई बनाइएको थियो । २००४ साल वैशाख २०–२२ बनारसमा भएको पार्टीको दोस्रो महाधिवेशनबाट जेलमै रहेकाले बीपी कोइरालालाई सभापति र डा. डिल्लीरमण रेग्मीलाई कार्यवाहक सभापति बनाइयो । तर, कोइराला जेलमुक्त भएपछि पनि रेग्मीले कार्यवाहक सभापति नछाडेपछि पार्टीमा आन्तरिक खटपट भयो र पार्टी विभाजन भयो ।

२००५ फागुन १८–२० दरभंगामा भएको तेस्रो महाधिवेशनमा बीपी कोइराला दोस्रोपटक जेलमा परेकाले मातृकाप्रसाद कोइरालालाई कार्यवाहक सभापति बनाइयो । उता २००५ साल पुस १५–१७ मै कलकत्तामा भेला भई महेन्द्रविक्रम शाह सभापति र सूर्यप्रसाद उपाध्याय महामन्त्री भएर नेपाल प्रजातन्त्र कांग्रेस गठन भइसकेको थियो । २००६ साल चैत्र २७–२९ को चौथो महाधिवेशनले नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता महाधिवेशन गरी नेपाली कांग्रेसको सभापति मातृकाप्रसाद कोइराला, महामन्त्री महेन्द्रविक्रम शाह, कोषाध्यक्ष सुवर्णशमशेर र बीपी कोइराला सदस्य भएर पार्टी सञ्चालन गरेका थिए । २००९ जेठ १०–१२ मा भएको कांग्रेसकोे पाँचौँ महाधिवेशनले विश्वेश्वरप्रसाद कोइरालालाई सभापति र धनमानसिंह परियारलाई महामन्त्री चयन ग¥यो । सोही समितिमा मातृकाप्रसाद, सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय, गणेशमान सिंहलगायत नेताहरु रहेर पार्टी हाँकेका थिए । त्यही भदौ २१ मा मातृकाप्रसाद कोइरालाले पार्टी विभाजन गरी महेन्द्रविक्रम शाह र बोधप्रसाद उपाध्यायलाई महामन्त्री बनाएर आफू सभापति बन्नुभएको थियो ।

२०१२ मंसिर १२–१४ मा भएको वीरगञ्ज महाधिवेशनमा सुवर्ण शमशेर सभापति, विश्वबन्धु थापा र तुलसी गिरी महामन्त्री चयन हुँदा कृष्णप्रसाद भट्टराई सदस्य भएर काम गर्नुभएको थियो । त्यसपछि २०१४ जेठ १० मा पार्टीको विशेष महाधिवेशन गरी बीपी कोइराला सभापति, सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंह महामन्त्री, सुवर्ण शमशेर कोषाध्यक्ष र सदस्यमा कृष्णप्रसाद भट्टराई र धनमानसिंह परियार बस्नुभएको थियो । २०१७ वैशाख २५–३१ मा काठमाडौंमा भएको ७ औं महाधिवेशनबाट बीपी कोइराला सभापति, श्रीभद्रा शर्मा महामन्त्री, सुवर्ण शमशेर, सूर्यप्रसाद, मातृका, विश्वबन्धु, गणेशमान सिंहलगायत शीर्ष नेताहरु नै पार्टी सदस्य बसेर काम गरेका थिए । २०१७ पुसमा राजनीतिक कु हुँदा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति बीपी कोइराला, वरिष्ठ मन्त्री गणेशमान सिंह, सभामुख कृष्णप्रसाद भट्टराईलगायत नेताहरु गिरफ्तार भएपछि २०१७ माघ पहिलो साता पटनामा सम्मेलन गरी सुवर्ण शमशेर राणा कार्यवाहक सभापति भएर कांग्रेसको नेतृत्वमा दोस्रोपटक सशस्त्र क्रान्ति भएको थियो ।

पछि २०३४ मा बीपीले कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईलाई दिएर महामन्त्री गिरिजाप्रसाद कोइराला र पर्शुनारायण चौधरीलाई बनाउनुभयो । २०४८ साल फागुन पहिलो साता भएको कांग्रेसको आठौं महाधिवेशनले गणेशमान सिंहलाई सर्वमान्य नेता, कृष्णप्रसाद भट्टराईलाई सभापति, महेन्द्रनारायण निधिलाई महामन्त्रीमा सर्वसहमतमा चयन गरेको थियो । पार्टीको नवौं महाधिवेशन २०५३ वैशाख २६–२८ काठमाडौंमा भयो । सो महाधिवेशनबाट गिरिजाप्रसाद कोइरालाको हातमा नेतृत्व हस्तान्तरण भयो । उहाँको उपसभापति शैलजा आचार्य र महामन्त्रीहरु सुशील कोइराला र तारानाथ रानाभाट बन्नुभएको थियो । २०५७ मा भएको १० औं महाधिववेशनले पुनः गिरिजाप्रसाद कोइरालालाई सभापति चयन ग¥यो भने महामन्त्री सुशील कोइराला र कोषाध्यक्ष महन्त ठाकुरलाई बनाइएको थियो । २०५९ असार २–५ सम्म नेता शेरबहादुर देउवाले राखेको महाधिवेशन प्रतिनिधिहरुको भेलाले सभापति कोइरालालाई निष्कासन गरी देउवालाई सभापति बनाएको घोषणा गरेको थियो । सो भेलाले देउवालाई सभापति, चिरञ्जीवी वाग्ले उपसभापति, खुमबहादुर खड्का महामन्त्री, विजयकुमार गच्छदार सहमहामन्त्री बनाएपछि पार्टी विभाजन भएको थियो ।

त्यस बेला शेरबहादुर देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेर सभापति हुनुभएको थियो । २०६२ भदौ १४–१७ मा भएको नेपाली कांग्रेसको ११ औं महाधिवेशनबाट फेरि गिरिजाप्रसाद कोइराला नै सभापति बन्नुभयो । उहाँको उपसभापतिमा सुशील कोइराला र रामचन्द्र पौडेल बन्नुभयो भने महामन्त्रीमा कुलबहादुर गुरुङ र डा. रामवरण यादव, सहमहामन्त्री अर्जुन नरसिंह केसी बन्नुभयो । उता नेपाली कांग्रेस प्रजातान्त्रिकको महाधिवेशनले शेरबहादुर देउवा सभापति, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह उपसभापति र विमलेन्द्र निधिलाई महामन्त्री बनाएको थियो । २०६४ साल असोज ७ मा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकीकरण भई सबै नेताहरु पुनः नेपाली कांग्रेसमै समाहित भए । त्यस बेला सभापति गिरिजाप्रसाद कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, कार्यवाहक सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल बन्नुभयो ।

२०६७ असोज १–५ मा काठमाडौंमा भएको पार्टीको १२ औं महाधिवेशनमा सुशील कोइराला र शेरबहादुर देउवाबीच भएको प्रतिस्पर्धामा कोइरालाले महाधिवेशन जितेर सभापति हुनुभयो । वरिष्ठ नेता शेरबहादुर देउवालाई नै बनाइयो भने उपसभापति रामचन्द्र पौडेल र महामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष चित्रलेखा यादव र सहमहामन्त्री पूर्णबहादुर खड्कासमेत गरी बहुमत देउवा समूहका नेताहरुले जितेका थिए ।

२०७२ फागुन अन्तिम साता भएको १३ औं महाधिवेशनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच भएको प्रतिस्पर्धामा देउवा सभापतिसहित उहाँको बहुमत टिम पार्टी नेतृत्वमा पुगेको थियो । देउवा सभापति हुँदा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्का हुनुभएको थियो । त्यस्तै चौधौं महाधिवेशनमा पनि शेरबहादुर देउवा सभापति हुनुभयो भने उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ हुनुहुन्छ । महामन्त्रीमा युवा नेताहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माले जित्नुभएको छ ।

२०४६ को परिवर्तनपछि कांग्रेसमा जहिले पनि पाका पुस्ताकै नेताहरुले नेतृत्व गर्ने र उनीहरुबाट परिणाममुखी नीति कार्यक्रमहरु आउन नसक्ने, संगठनसमेत गतिशील हुन नसक्ने आरोप लाग्दै आएको इतिहास साक्षी छ । त्यसैको विकल्पका रुपमा पार्टीको नेतृत्व पुस्तान्तरणको एजेन्डा महामन्त्रीद्वय गगन–विश्व पुस्ताले गर्दै आएका छन् । सात दशक बढी समयदेखि नेपालको राजनीतिमा मुख्य मियोको भूमिकामा रहेको कांग्रेस पार्टीलाई अहिले पार्टी स्थापनाकालअघि नै जन्मनुभएका नेता शेरबहादुर देउवाले हाँकिरहनुभएको छ । देउवाले सिकाएको पुस्तान्तरण र रुपान्तरणको ‘वाण’ अहिले स्वयं देउवामाथि नै बर्सिएको छ । कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको विकल्प खोज्दै पटक–पटक पार्टी र संसदीय नेतृत्वमा पुग्न खोज्ने र नसकेपछि पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिकको नेतृत्व गर्नुभएका देउवाको विकल्पमा अहिले आम कांग्रेसजनभित्र बहसको विषय बनेको छ । पार्टीका दोस्रो र तेस्रो पुस्ताका नेताहरुले तिनै आम कांग्रेसीजनको भावनालाई टेकेर ८० पुग्नुभएका सभापति देउवालाई धक्का दिँदै आएका छन् । देउवाले पनि आफ्नो गतिशील उमेरमा गिरिजाप्रसाद कोइराला र सुशील कोइराला दुवै नेतासँग सभापतिको प्रतिस्पर्धा गर्नुभएको थियो । तर, जसरी गिरिजाप्रसाद कोइरालाले सबै तहका नेता–कार्यकर्ताहरुको कुरा सुन्ने र उनीहरुको चित्त बुझाउने प्रयास गर्दै नेतृत्व आफैंले गर्ने समन्वायत्मक क्षमता राख्नुहुन्थ्यो, त्यो कला देउवामा देखिएन । सुशील कोइरालाको जस्तो शालीनता र सरलताको पनि देउवामा अभाव नै खड्किएको छ । उहाँहरुले देउवासहितका नेताहरुलाई सँगै लिएर पार्टीलाई संस्थागत गर्ने कुरामा कन्जुस्याइँ गर्नुभएको थिएन । तत्कालीन युवा नेता शेरबहादुर देउवाले शुरु गर्नुभएको विद्रोहको अभ्यासलाई पुनरावृत्ति गर्दै आज आइपुग्दा दोस्रो र तेस्रो पुस्ताका नेताहरु (शेखर–गगन) ले नेतृत्व परिवर्तनको आवाजलाई राजनीतिक एजेन्डाका रुपमा प्रस्तुत गरिरहँदा उहाँ निदाएको बहानामा चुपचाप रहेर नाजवाफ हुनुहुन्छ ।

यद्यपि देउवाले आफ्नो समूह भने वडादेखि केन्द्रीय समितिमा समेत दर्बिलो पकड बनाउनुभएको छ । सोही आधारमा देउवाले पार्टी कब्जाजस्तै गर्नुभएको छ । कांग्रेसको केन्द्रीय समिति बैठकमा पनि त्यो विषय छर्लङ्ग देखियो । केन्द्रीय समितिमा उहाँको पक्षमा सहज दुई तिहाइको आवाज गुन्जियो । गत चौधौं महाधिवेशनअघिसम्म उहाँको विकल्प खोज्दै समकालीन नेता रामचन्द्र पौडेलदेखि दोस्रो पुस्ताका नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शेखर कोइराला, शशांक कोइरालासमेत एकठाउँ भए । साथमा धनराज गुरुङ, चन्द्र भण्डारी, गगन थापा, मीनेन्द्र रिजाल, गोविन्द भट्टराईलगायत नेताहरु पनि थिए । तर, देउवाको विरुद्धमा एकजुट भएका तिनै नेताहरु महाधिवेशनका दिनसम्मा आइपुग्दा एकाएक परिवर्तन हुँदै देउवाकै सहयोगी बने ।

देउवालाई डा. शेखर कोइरालाले टक्कर दिएर सभापतिमा उम्मेदवार दिनुभयो । रामचन्द्र पौडेलको टिमबाट कोइरालालाई सर्वसहमत उम्मेदवार बनाउने कुरामा सहमति हुन नसकेपछि सोही टिमका नेता गणेशमान–पुत्र प्रकाशमान सिंह पनि उम्मेदवार बन्नुभयो । संस्थापन पक्षबाट समेत देउवाका विरुद्ध उहाँकै सबैभन्दा विश्वासपात्र महेन्द्रनारायण निधि–पुत्र विमलेन्द्र निधिले उम्मेदवारी हाल्नुभयो । नेविसंघका पूर्वअध्यक्ष युवा नेता कल्याण गुरुङसहित चौधौं महाधिवेशनमा पाँच नेताहरुको प्रतिस्पर्धा हुँदा देउवा र कोइराला क्रमशः पहिलो र दोस्रो भए पनि पार्टीको विधान बमोजिम ५१ प्रतिशत मत कसैले ल्याउन सकेनन् र दोस्रो चरणमा तिनै पुस्तान्तरण र रुपान्तरणको नारा घन्काएका नेताहरु प्रकाशमान सिंह र विमलेन्द्र निधि मात्र होइन स्वयम् फरक समूहको नेताको जिम्मेवारी बोकेका वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइराला, सुजाता कोइरालासमेतले देउवालाई सभापति बनाउन सहयोग गरे । त्यसदेखि नै उनीहरुले उठाउँदै आएको पुस्तान्तरण, रुपान्तरण र पार्टी पुनर्जागरणको एजेन्डा माटोमा मिलाएको आरोप नेताहरुले खेपिरहेका छन् ।

उता देउवा इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइराला र उहाँलाई साथ दिँदै आएका उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु गगन थापा, प्रकाशमानको समूहबाट महामन्त्रीमा विजेता विश्वप्रकाश शर्मा, देउवा समूहबाट महामन्त्री हारेका प्रदीप पौडेललगायत नेताहरु अहिले एउटा कित्तामा देखिएका छन् । सभापति देउवासँग दोस्रो तहका नेताहरु उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइरालालगायत नेताहरु छन् भने पहिलो पुस्ताका नेता रामचन्द्र पौडेल राष्ट्रपति भइसक्नुभएको छ । त्यस्तै गोपालमान श्रेष्ठ र एकताका गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र नेता कृष्णप्रसाद सिटौलासमेत अहिले देउवाकै वरिपरि हुनुहुन्छ । अब देउवालाई सभापतिमा तेहरिन विधानले दिँदैन भने श्रेष्ठ र सिटौलासमेत पार्टी नेतृत्वमा आउने सम्भावना कम देखिन्छ । राष्ट्रपति भएसँगै रामचन्द्र पौडेलको पार्टी राजनीतिको कोर्स टुंगिइसकेको छ । यो अवस्थामा पार्टीमा दोस्रो तहका नेताहरु नै आगामी १५ औं महाधिवेशनमा नेतृत्वको लागि प्रमुख दाबेदार बन्ने करिब पक्का छ । यद्यपि तेस्रो पुस्ताका नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा पनि नेतृत्वको लाइनमा आइसक्नुभएको छ ।

महामन्त्री गगन थापाले त आफू पार्टी र सरकार दुवैको नेतृत्व परिवर्तन गर्ने र आफू नेतृत्वमा पुग्ने योजना बनाउनुभएको छ । त्यसका लागि वर्तमान पार्टी र संसदीय दलको नेतृत्व परिवर्तनको एजेन्डा सार्वजनिकरुपमा अभिव्यक्त गर्ने मात्र होइन पार्टीको आन्तरिक बैठकमा समेत दर्ज गराउने हिम्मत थापाले राख्नुभएको छ । देउवाको कार्यकाल २०८२ मा सकिने भएकाले आगामी १५ औं महाधिवेशन २०८२ भित्रै गर्नुपर्ने पार्टीको बैठकमै कुरा उठिसकेको छ । विधान अनुसार चारबर्से कार्यकाल भए पनि एक वर्ष समय थप गर्न सक्ने व्यवस्था कांग्रेसमा भएकाले त्यो सुविधा सभापति देउवाले प्रयोग गर्न सक्ने सम्भावना पनि बलियो छ । सोही सम्भावनाको आँकलन गर्दै यही साउन २–८ को पार्टी केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन–विश्वसहितका नेताहरुले २०८२ मा १५ औं महाधिवेशन गर्नुपर्ने आवाज उठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्