नमोबुद्ध ११ स्वाँरमा धुलिखेल अस्पतालले रिसर्च सेन्टर बनाउँदै



काभ्रे।

धुलिखेल अस्पतालले नमोबुद्ध नगरपालिका वडा नम्बर ११ को स्वाँरमा रिसर्च सेन्टर निर्माणको प्रक्रिया सुरु गरेको छ । नगरपालिकासँग २०७८ सालमा सम्झौता गरी सुरु भएको जग्गामा रिसर्च सेन्टर निर्माणको प्रक्रिया सुरु भएको हो ।

‘अस्पतालले निर्माण गर्न खोजेको रिसर्च सेन्टरको लागि नमोबुद्ध नगरपालिकासँग भएको सम्झौता अनुसारको जग्गाको स्थलगत अनुगमन गरिएको छ’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भने–‘स्थलगत जग्गा अनुगमनका लागि डिभिजन वन, मालपोत, नापी कार्यालयका साथै सुरक्षा निकाय र जनप्रतिनिधिको समेत सहभागिता थियो ।’ सार्वजनिक जग्गा प्राप्ति ऐन अन्तर्गत रहेर उक्त जग्गामा धुलिखेल अस्पतालले बनाउन लागेको रिसर्च सेन्टर निर्माणका बारेमा आवश्यक प्रक्रिया सुरु गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । धुलिखेल अस्पताललाई नमोबुद्ध नगरपालिकाका तत्कालीन प्रमुख टिपी शर्मा तिमल्सिनाले स्वाँरको खाली र बुट्यान उल्लेख भएको सार्वजनिक जग्गा २ सय ६३ रोपनी दिने गरी सम्झौता गरेका थिए ।

साबिक नमोबुद्ध पञ्चायत ५ र ६ मा रहेको कित्ता नम्बर ६२२ को ११३ रोपनी र कित्ता नम्बर ७३२ को १५० रोपनी जग्गा धुलिखेल अस्पतालको रिसर्च सेन्टर निर्माणका लागि उपलब्ध गराउने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार अस्पतालको तर्फबाट उक्त क्षेत्रमा ७ सय भन्दा धेरै विभिन्न प्रजातिका बिरुवाहरू रोपण गरिएको छ । अस्पतालले रिसर्चका लागि आवश्यक पर्ने घ्युकुमारी लगायतका प्रजातिहरू लगाएको छ । अस्पतालकी डा.आभा श्रेष्ठले उक्त स्थानमा नेपाल सरकारले सञ्चालन गरिरहेको नेपाल रिसर्च काउन्सिलका केही तालिमहरु समेत सोही सेन्टरबाट सञ्चालन गर्ने गरी रिसर्च सेन्टरको स्थापना गर्न लागिएको बताइन् । अस्पतालले गर्ने विभिन्न विभागका रिसर्चहरुका साथै बागमती प्रदेश र नेपाल रिसर्च सेन्टरका विभिन्न रिसर्चहरु सोही क्षेत्रबाट गर्न सकिने उनले बताइन् । रिसर्च सेन्टर, रिसर्च ल्याब लगायतका कार्य उक्त क्षेत्रमा सञ्चालन गर्न सकिनेछन् ।

वडा अध्यक्ष कृष्णबहादुर लामाले उक्त क्षेत्रको जग्गा अस्पतालको रिसर्च सेन्टरका लागि उपलब्ध गराउन स्थानीय तहबाट पुरा गर्नु पर्ने आवश्यक प्रक्रियाका लागि सहजीकरण गरिएको बताए । ‘अस्पतालका लागि उपलब्ध गराउने भनिएको जग्गामा कुनै समस्या छैन, बुट्यानहरु पनि छैनन्’–वडा अध्यक्ष लामाले भने–‘यो क्षेत्रको विकासका लागि उक्त रिसर्च सेन्टर महत्त्वपूर्ण हुनेछ । नमोबुद्ध नगरपालिकाको सबै भन्दा पिछडीएको वडा हो । रिसर्च सेन्टर निर्माण हुँदा यो क्षेत्र र यहाँका नागरिकलाई सहज हुनेछ ।’ जग्गा निरीक्षणका लागि अस्पतालका तर्फबाट डा.बलराम मल्ल, आभा श्रेष्ठ लगायतको टोली सहभागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्