कक्षा १२ को परीक्षाफल प्रकाशित : ५१ प्रतिशत उत्तीर्ण, ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डका अनुसार यो वर्ष झण्डै ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा ४९ दशमल प्रतिशत विद्यार्थीले नन ग्रेडेड (एनजी) ल्याएका छन् ।

गत वैशाख २६ गतेदेखि जेठ ५ गते सम्पन्न परीक्षामा ४ लाख ६७ हजार ३ सय ८९ विद्यार्थीले परीक्षा दिएका थिए । जसमा ५६ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिएका थिए ।

लेटर ग्रेडिङ निर्देशिकाअनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था छ । ननग्रेड ल्याएका र परीक्षाफलप्रति चित्त नबुझेका विद्यार्थीले एनजी आएको विषयको मात्र ग्रेड वृद्धिको परीक्षा दिन पाउने व्यवस्था छ । ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते हुने भएको छ भने उक्त परीक्षामा १ लाख २३ हजार परीक्षार्थी सहभागी हुने बताइएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आएमा अर्काे वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

यो वर्ष १ लाख ८२ हजार ९ सय २६ जना विद्यार्थीले एनजी ल्याएका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार गत वर्षभन्दा परीक्षामा सुधार भएको जानकारी दिनुभयो । परीक्षामा ६ हजार ९ सय ६७ जनाले ३ दशमलव ६१ देखि ४ जीपीए ल्याएका छन् । ३८ हजार ९ सय ९९ जनाले ३ दशमलव २१ देखि ३ दशमलव ६, ६९ हजार १ सय ७४ जनाले २ दशमलव ८१ देखि ३ दशमलव २०, ६३ हजार ७७ जनाले २ दशमलव ४१ देखि २ दशमलव ८० , ११ हजार ४ सय ३८ जनाले २ दशमलव १ देखि २ दशमलव ४० र ४७ जनाले १ दशमलव ६१ देखि २ जीपीए अंक ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्