कामपाले चटपटे, पानीपुरी र खुला दूध बिक्रीमा रोक लगाउने



काठमाडौं ।

काठमाडौं महानगरपालिकाले बर्खायामभरि पानीपुरी, चटपटेज लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

खुल्ला रुपमा वेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफुलको बजारमा निगरानी बढाउनु पर्ने काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । बजार व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण समितिको बैठकमा उनले यस्तो बताएकी हुन् ।

‘माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट चाँडो संक्रमण फैलिन्छ । यसको स्रोतहरु मासु पसल, दूध डेरी, तरकारी तथा फलफुल पसल हुन् ।’ उनले भनिन्, ‘अनुगमन गर्नु भनेको सचेत गराउने र सुधारको मौका दिने पनि हो । मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारवाहीको दायरामा ल्याउनु पर्छ ।’

बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भने, ‘पानीपुरी, चटपटेजस्ता उपभोक्ता खानेकुरामा उपभोक्ताहरु झुम्मिने गरेका छन् । यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनु पर्ने बताए  । ‘खुल्ला दूध प्लाष्टिकमा हालेर रवरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत हो । यसलाई तत्काल रोक लगाउनुपर्छ ।’

तरकारी बजारमा ल्याइने धेरै तरकारीमध्ये केही भाग विग्रिएको हुन्छ । यो उपभोगका दृष्टिले पूर्ण अस्वस्थ्यकर हो । यस्तो तरकारी र फलफुल सस्तोमा किनेर ल्याएर सडक किनारामा भाग लगाएर बेच्ने काम जनस्वास्थ्यका दृष्टिले पनि जोखिमपूर्ण छ । बैठकमा वडाध्यक्ष एवं अनुगमन मूल्याङ्कन समितिका सदस्य राजेन्द्र मानन्धरले, फाल्नु पर्ने तरकारी र फलफुल बेचबिखनमा तत्काल रोक लगाउनु पर्ने बताए  ।

बैठकमा यस अघि जारको पानीमा गरिएको अनुगमनका विषयमा जानकारी गराउँदै कृषि तथा पशुपंक्षी विभागका प्रमुख डा. अवधेश झाले भने, ‘कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड छ । यसविपरीतका जार जफत र नष्ट गरिएको हो ।’

डा. झाका अनुसार काठमाडौँमा १५० भन्दा धेरै जारको पानीका वितरक छन् । यी हरेकको पानीको गुणस्तर जाँच नगरी स्वच्छताको अवस्था भन्न सकिने अवस्था छैन । व्यापारिक क्रियाकलापमा हुने निगरानीसँगै उपभोक्तालाई स्वच्छता र गुणस्तरका विषयमा सचेत गराउने काम पनि सँगै सञ्चालन गर्नुपर्ने बैठकले खाँचो देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्