मुलुकको ऐन–कानुन र बुद्धद्वारा देशित गृही विनयको चर्चा



देशमा मूल कानुन संविधान छ र यसमा निहित भएर सयांै ऐन, कानुन, नियम, विनियम आदि पनि छन् । यी संविधानदेखि यावत् ऐन–कानुनका मर्म त देश–समाजको समृद्धि तथा जनताको जीवनयापनमा सहज पार्न अनि कुनै पक्षबाट कसैको विरुद्धमा अन्याय नहोस् भन्ने नै हो । यदि कसैले कसैलाई अन्याय गरेको भए न्याय दिलाउनु पनि ऐन–कानुनको लक्ष्य नै हो । यसै गरी विभिन्न कार्यालय, सेवाप्रदायकहरुको सञ्चालनार्थ पनि ऐन–कानुन भएको र ती कानुनको परिपालन, त्यसप्रति कर्तव्य निर्वाह गर्नु पनि संगठन, सेवाप्रदायक, सेवाग्राही सबैको कर्तव्य हो ।

देशमा भएका विभिन्न ऐन–कानुनमध्ये मुलकी देवानी संहिता २०७४ को प्रस्तावनामा उल्लिखित व्यहोरा यहाँ स्मरण गर्नु सान्दर्भिक हुन्छ । मुलुकमा कानुन र व्यवस्था कायम गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा एवं आम वर्गको हित कायम राख्न तथा सामाजिक र सांस्कृतिक क्षेत्रका न्यायपूर्ण व्यवस्था कायम गरी विभिन्न मत वा साम्प्रदायिकबीचको सुसम्बन्ध कायम राख्नको लागि यो ऐन बनाइएको उल्लेख भएको यहाँ स्मरणीय छ ।

यस ऐनमा विभिन्न परिच्छेद, भागहरुमा समाज, व्यक्तिको दैनिक जीवनमा आइपर्ने व्यवहारबारे चर्चा गरेको छ । सामान्यरुपमा पनि अरुलाई दुःख दिन नहुने, अन्य व्यक्तिको इज्जत र मान–प्रतिष्ष्ठामा आँच पु¥याउन नहुने, कसैको सम्पत्तिमा क्षति पु¥याउने गरी कुनै कार्य गर्न नहुने लगायत असल छिमेकीमा हुनुपर्ने कुरा आदि प्रसंगहरु पाउन सक्छौं । यो ऐनमा भएका प्रावधानहरु सबैले पालन गर्न सक्षम भएको समाजमा भैmझगडा, अन्तरद्वन्द्व नभई समृद्धिको पथमा लम्किने स्वतसिद्ध हुन्छ । यस ऐनको प्रस्तावनामा उल्लेख भएको सर्वसाधारणको नैतिकता सदाचारको जुन प्रसंग छ त्यो निकै सुन्दर लाग्छ तर नैतिकता, शिष्टाचार र सदाचारयुक्त जनमत तयार गर्न के–कस्तो तयारी र पूर्वाधार छ भन्ने कुरा गहन छ ।

देशमा गरिबी, बेरोजगारी, अनुत्पादन, महँगीको चक्र एकातिर हुनु अर्कोतिर चाहिने श्रम–स्रोतको अभाव हुनु, कतै श्रम–स्रोत, साधनको अत्यधिक दुरुपयोग हुनु पनि आजको यथार्थ भएको छ । आज देश समाजको दुरावस्थाको कारण भन्नु नै समाजका हरेक क्षेत्रमा कार्यरत बहुसंख्यक जनमत, जनतामा गृही विनयको शिक्षा, नैतिक शिक्षाको अभावले भएको मान्न सकिन्छ वा सकिँदैन ?

समाजको अवस्था, मुद्दामामिला, झैझगडा, वृद्धाश्रमको परिकल्पना र सञ्चालन, आमाबुबाहरुको स्याहारसुसारमा वादविवाद, अंश वण्डाको समस्या, सम्पत्तिको दुरुपयोग, सम्पत्ति जम्मा गर्ने लोभ, तृष्णा, भ्रष्टाचार, हत्यादेखि आत्महत्या, अनैतिकता तथा वर्तमान र विगतमा पनि सुन्ने–पढ्ने गरेका विभिन्न काण्डहरुको सँगालो आखिरमा समाजमा नैतिकता, सदाचार, शिक्षा आदिको कमी अनि यस्तो जनमत तयार गर्नमा चुकेको अवस्था मान्न सकिन्छ कि सकिँदैन ?

देशको ऐनको परिकल्पना अनुरुप जनमत तयार गर्नु प्रथम दायित्व र कर्तव्य पनि हो । यसमा भएका प्रावधानहरु सबेलै जान्नुपर्छ, कानुनको अज्ञानता क्षम्य हुँदैन भनेरमात्र राज्यको दायित्व पूरा भएको मान्न सकिन्छ र ? अझ अर्को शब्दमा भन्नुपर्दा समाजमा झैझगडा भएपछि कानुनको सहारा लिनु÷दिनु राम्रो हो कि सकभर यस्तो अवस्था नै आउन नदिनको लागि सक्षम र नैतिकवान् जनमत तयार गर्नु राम्रो हो ? निश्चित रुपमा वादविवाद नहुने वातावरण बनाउनु र नैतिकवान् अनि सदाचारयुक्त जनमत तयार गर्नु नै लाभदायी हुन्छ ।

यसै सन्दर्भमा भगवान् गौतम बुद्धले दिनुभएको सिंगाल सूत्र स्मरणीय हुन्छ । यसमा सही मित्र र गलत मित्रको पहिचान, आफ्नो सम्पत्तिको चार भाग गर्नुपर्ने, आमाबुबाको छोराछोरीप्रति, छोराछोरीको आमाबुबाप्रति, गुरुको शिष्यप्रति, शिष्यको गुरुप्रति, मालिकको नोकर र नोकरको मालिकप्रति, श्रीमान् र श्रीमतीको एक–आपसले गर्नुपर्ने कर्तव्य बताइएको छ । व्यक्तिले आम्दानीको चार भागको एक भाग खाना, दुई भाग उद्योग व्यापारमा लगानी र एक भाग आपत् कालको लागि सञ्चय गर्नुपर्ने शिक्षा दिएको पाउँछौँ ।

अब यी गृही विनय (नियम)मा भएका शिक्षाहरु अहिलेको समाजमा झन् सार्थक सिद्ध भएको देखिन्छ । यसमा बताएका शिक्षाहरुमा, आमाबाबुप्रति सन्तानका कर्तव्यहरुमा वृद्धावस्थामा पालनपोषण गर्नु, कामकाज गरिदिनु, कुल–परम्परा स्थिर राख्नु, अंश लिन योग्य बन्नु, दिवंगत भएका आमाबाबुको नाममा पुण्यदान गर्नु हो । यसै गरी सन्तानप्रति आमाबाबुका कर्तव्यहरु हुन्– नराम्रो बानी बसाल्न नदिनु (पापबाट बचाउनु, पुण्य कार्यमा लगाउनु, विद्यामा पारंगत गराउनु, योग्य स्त्री (वा पुरुष) सँग विवाह गरिदिनु, यथोचित खर्च गर्न दिनु (उत्तराधिकार सुम्पनु) हो ।

गुरुप्रति शिष्यका कर्तव्य हुन्– तत्परता देखाउनु, गुरुको कुरो मान्नु, एकचित्त भई विद्या अध्ययन गर्नु, सत्संग गर्नु (सेवा गर्नु, सत्कारपूर्वक विद्या सिक्नु) हो । त्यसै गरी शिष्यप्रति गुरुका कर्तव्यहरु हुन्– असल चालचलनको बनाउनु, राम्रोसँग असल शिक्षा दिनु, सबै विद्यामा पारंगत बनाउनु, मित्रगणको अगाडि शिष्यको प्रशंसा गर्नु, शिष्यलाई भय–त्रासबाट बचाउनु हो ।

पत्नीप्रति पतिका कर्तव्यहरु हुन्– सम्मान गर्नु, अपमान नगर्नु, परस्त्री गमन नगर्नु, धन–सम्पत्तिको जिम्मा दिनु, यथाशक्य गहना–वस्त्र दिनु तथा पतिप्रति पत्नीका कर्तव्यमा राम्रोसँग कामकाज गरिदिनु, कुटुम्ब–छिमेकीसँग सुसम्बन्ध बनाइराख्नु, परपुरुष गमन नगर्नु, धन सम्पत्तिको रक्षा गर्नु, घरको काममा दक्ष हुनु (अल्छी नहुनु) आदि हो ।

मित्रप्रति हाम्रा कर्तव्यहरु हुन्– दान दिएर कुरा गर्नु, मीठोसँग कुरा गर्नु, कामकाज गरिदिनु, आपूmजस्तै ठान्नु, साँचो बोल्नु (विश्वासिलो बन्नु) हो भने हामीप्रति मित्रका कर्तव्यहरु हुन्– बेहोसीमा भूल हुँदा रक्षा गर्नु, बेहोसीमा धनको रक्षा गर्नु, संकटमा शरण दिनु, आपतकालमा मद्दत गर्नु, मित्रको प्रियजनप्रति स्नेह राख्नु हुन् । यसै गरी नोकरप्रति मालिकका कर्तव्यहरु हुन्– सामथ्र्य हेरेर काम दिनु, उचित भोजन र तलब दिनु, बिरामी हुँदा औषधि गरिदिनु, आपूmले खाने वस्तु खुवाउनु, बेला बखतमा छुट्टी दिनु हो । यसै गरी मालिकप्रति नोकरका कर्तव्यहरु हुन्– मालिकभन्दा चाँडै उठ्नु, मालिकभन्दा पछि सुत्नु, मालिकले दिएको मात्रै लिनु, राम्रोसँग काम गर्नु, मालिकका कीर्ति प्रशंसा पैmलाउनु ।

श्रमण (भिक्षु) ब्राह्मणप्रति हाम्रा कर्तव्यहरु हुन्– मैत्रीपूर्वक शारीरिक काम गरिदिनु, मैत्री वचनले कुरा गर्नु, मनमा मैत्रीभाव राख्नु, सधैँ स्वागत गर्नु, भोजन आदि दान दिनु हो । हामी (उपासक, उपासिका) प्रति श्रमण ब्राह्मणका कर्तव्यहरु हुन्– पाप कर्म रोक्नु, पुण्य कार्यमा लगाउनु, अनुकम्पा राखेर कल्याण गरिदिनु, नसुनेको ज्ञानवद्र्धक कुरो सुनाउनु, सुगति प्राप्त हुने (भविष्य सुध्रने) मार्ग देखाउनु हो ।

यसरी घर–परिवार, समाजका यावत् क्षेत्रमा एक–आपसी कर्तव्य, सहयोग, सद्भाव नै स्वच्छ समाजको आधार हो भने, यसैको व्यापकता अनुरुप समाजका यावत् क्षेत्रमा संलग्न व्यक्तिहरु पनि आ–आप्mनो कार्यक्षेत्रमा थप कर्तव्य र दायित्वबोध गर्न परिपक्व हुन्छन् । देशमा विभिन्न सम्प्रदाय, धर्म, परम्परा, व्यवहार भएको सर्वसिद्ध छ । विभिन्न सम्प्रदाय, धर्ममा एक–आपसी सहयोग, सद्भाव सदाचार हुनुपर्ने, कसैले कसैलाई भेदभाव र अन्याय गर्न नहुने पनि स्वच्छ समाजको लागि आवश्यक कुरा हुन् भने संविधान र मुलुकी देवानी संहिताको परिकल्पना पनि आवश्यक हो । यी र कैयौं लिखित प्रावधानहरु यदि व्यवहारमा लागू हुँदैनन् भने यिनको कुनै अर्थ पनि रहँदैन । मूलतः यस्तो व्यवहार, कर्तव्य परिपालन गर्न जनताको शैक्षिक स्तर र नैतिक स्तरमा भर पर्ने हुरा हो ।

वर्तमानमा समाज तथा देशको यावत् समस्यको निराकरण तथा देशको ऐन–कानुनको लक्ष्य प्राप्ति हेत्ु पनि नैतिकवान्, कर्तव्यपरायण, देश–समाजप्रति जिम्मेवार बहन गर्ने जनमत आवश्यक भएकोमा विवाद नहोला । देशमा नैतिकवान्, सदाचार, शिष्टाचार जनमतविना देश–समाजको विकासको परिकल्पना गर्नु व्यर्थ र असम्भव नै हुन्छ । देशमा भएका ऐन–कानुनहरुको प्रावधानको जानकारीविना समाजमा यसको परिचालन हुने कल्पना पनि त गलत नै होइन र ? अथवा ऐन भनेको खालि मुद्दामामिला सुल्झाउनको लागि मात्र हो त ?

हाल देशमा सुन्न, पढ्न आइरहेका विभिन्न काण्ड, दुर्घटना आदि हटाउनका लागि ऐन–कानुनका प्रावधानहरुले मात्र समस्या सुल्झाउन नसकिने पर्याप्त आधारहरु देखा परेका मान्न सकिन्छ । रोगको निवारणको लागि औषधिमुलोको उपाय एक पक्ष हो भने रोग लाग्न नदिनु नै सर्वोत्तम हो । यसैको निरन्तरताको रुपमा सजायका लागि ऐन–कानुनको उपायमात्र खोज्नुभन्दा नैतिकवान्, सदाचार व्यक्तिहरु तयार गर्नको लागि देशको शिक्षा प्रणाली, पाठ्यक्रम, घर–परिवारको परम्परा (घर नै पहिलो पाठशाला), संस्कृति, व्यवहार आदिलाई नै परिवर्तनको संवाहक बनाउन अति जरुरी छ ।

देश र समाजको विकास, समृद्धिका लागि सदाचार, नैतिकवान् जनमत तयार गर्न बुद्धशिक्षा (गृही विनयलगायत अन्य समसामयिक) र देशको संविधान, विभिन्न ऐनहरु पनि क्रमशः शिक्षा प्रणालीमा समावेश गर्न अपरिहार्य देखिन्छ । शिक्षाको दीर्घकालीन योजना अनुरुप शैक्षिक पाठ्यक्रममा परिवर्तन, परिमार्जनको महसुस गर्न सकिन्छ । यही नै समाजको सु्ख, समृद्धि र संविधानको परिपालन गर्न एउटा बाटो हुन सक्छ । यही नै आजको पहिलो माग हुन आवश्यक देखिन्छ ।

(लेखक चित्रकार नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्