सत्ता र प्रतिपक्षी सांसदले विरोध जनाएपछि राष्ट्रिय सभा बैठक स्थगित



काठमाडौं ।

शुक्रबार राखिएको राष्ट्रिय सभा बैठक कार्यसूचीमा प्रवेश गर्न लाग्दा स्थगित भएको छ । सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखिसकेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराउन खोजेका थिए । तर, प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरु उठेर विरोध जनाए ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसद उठेर विरोध जनाए । त्यसपछि अध्यक्ष तिमिल्सिनाले प्रतिपक्षीलाई बोल्न समय दिएपछि यसको विरोधमा सत्तापक्ष सांसदले उठेर विरोध जनाए ।

दुवै पक्षका सांसद उठेर विरोध जनाइरहेपछि अध्यक्ष तिमिल्सिनाले बस्न आग्रह गरे । उठेरै संसद चलाउने भएपछि पछि गाह्रो पर्ने भन्दै सांसदहरूमाथि उनले व्यंग्य पनि गरे । तर, दुवै पक्षका सांसद बस्न मानेनन् ।

सत्ता र प्रतिपक्ष सांसदहरू उठिरहेपछि अध्यक्ष तिमल्सिनाले शुक्रबारको बैठकको कार्यसूचीमा राखेका सबै कार्यक्रम हटाएको जानकारी दिँदै बैठकलाई साउन ३१ गते बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरे ।

प्रतिक्रिया दिनुहोस्