पोखरा बसपार्कबाट २८ तोला सुनसहित एक महिला प्रहरीकाे फन्दामा



काठमाडौं ।

 पाेखरा बसपार्कबाट एक महिलाले भित्री वस्त्र (ब्रा)भित्र लुकाएर ल्याएकाे  २८० ग्राम २९ मिलिग्रामको सुन  प्रहरीले  बरामद गरेको छ।

बिहिबार काठमाडौंबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बसमा यात्रारत काठमाडौं जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरुङबाट सो सुन बरामद गरेको हो।

विशेष सूचनाका आधारमा पोखरा बसपार्क पुगेर बसबाट झर्नासाथ ती महिलाको शरीर खानतलासी गर्दा ‘सुनजस्तो देखिने’ धातु भेटिएको  प्रहरीले बताएकाे छ  ।

  प्रहरीका अनुसार महिलाले प्रारम्भिक बयानका क्रममा काठमाडौंको एक व्यक्तिले निश्चित रकम दिएर सुन पोखरा लैजान भनेको र सोहीअनुसार आफू सुन बोकेर पोखरा आएको बताएकी छन्।

महिलाबाट बरामद सुन पोखराको कुनै सुनचाँदी व्यवसायीका लागि कसैले पठाएको र यो उपक्रम लामो समयदेखि चलिरहेको हुनसक्ने प्रहरी स्रोतको भनाइ छ। यस घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ  ।

प्रतिक्रिया दिनुहोस्