विगतदेखि नै मौलाउँदो छ भ्रष्टाचार

0
Shares

अहिले हामी धेरैजसो नेपालीलाई हाम्रो देशमा भ्रष्टाचार खूब मौलाएको छ भनेजस्तो लाग्न थालेको छ । यस्तो विचार आउनुको पछाडि विभिन्न घटना र कालखण्डका कुख्यात भ्रष्टाचारीहरु समातिने, कार्यवाही अगाडि बढाउनेजस्ता क्रियाकालपका कारण हामीभित्र त्यस्तो विचार आएको हो । तर भ्रष्टाचार अहिले मात्र मौलाएको होइन कि सुदूर इतिहासको कालखण्डदेखि नै मौलाएर आएको पाइन्छ । अहिलेभन्दा करिब २१८ वर्षअगाडिको नेपाल राज्यको शासनको इतिहासको पाना पल्टाउँदा यो कुरा थाहा हुन्छ कि, त्यति बेला पनि देशमा शासकवर्गबाटै भ्रष्टाचारका ठूला–ठूला काण्ड मच्चिन्थे, अझ अहिलेको भन्दा पनि उन्मुक्त वातावरणमा । अहिलेको तुलनामा नेपालको जनसङ्ख्या धेरै कम थियो तापनि शासकवर्गबाट हुने भ्रष्टाचारका कुकार्यले देशको आर्थिक अवस्था जर्जर अवस्थामा पुगेको हुन्थ्यो । आम जनताका खातिर कुनै काम हुँदैनथे । बरु अहिले लाखौँ नेपाली युवाहरु संसारका विभिन्न मुलुकमा वैदेशिक रोजगारीका लागि गएर केही कमाइ पनि गरेर ल्याए भने विभिन्न क्षेत्रका ज्ञान हासिल गर्न पाएका छन् । त्यस बेला वैदेशिक रोजगारी भनेको हाम्रो छिमेकी देश भारतमात्र हुन्थ्यो । उता शासकवर्गका मानिसहरु भोगविलासमा डुबेर दिन बिताइरहेका हुन्थे । यसै कारणले गर्दा देशको आर्थिक अवस्था डाँवाडोल भएको थियो । तत्कालीन राजा रणबहादुर शाहले आफूले पाउने पैसाले भोगविलासमा डुब्न नपुगेर पहिलेका विभिन्न कालखण्डमा बाहुनहरुलाई बिर्ता (दान) दिएको भनिएको जमिनसमेत हरण गरेर आफ्नो भोगविलासको लागि चाहिने खर्च जुटाएका थिए भन्ने कुराको इतिहास साक्षी छ । अहिले हामी सबैले भ्रष्टाचार गर्ने भ्रष्टाचारीको विरोध गर्न पाउँछौँ, उसलाई घृणा गरेर वा सामाजिक बहिष्कार गरेर भ्रष्टाचार गर्न निरुत्साहित गराउन सक्छौँ । तर त्यति बेलाको समयमा शासकले कालोलाई सेतो भनेर भन्छ भने पनि कुनै विरोध नगरेर मनले नमाने पनि स्वीकार गर्न बाध्य बन्नुपर्ने हुन्थ्यो ।

इतिहासको त्यो कालखण्डका राजाका भाइभारदारहरुसमेत गाँजा सेवन गर्ने गँजडी र जुवा खेल्न सिपालु थिए । जुवाडेहरुको कुनै कमी थिएन । यसै विषयलाई एकजना ऐतिहासिक कवि सुन्दरानन्द बाँडाले यसरी कविता लेखेका छन्– ‘कोही गाँजा लि खान्छन्, गाँजाले मातिएका भारदारले क्या सही राख्दछन् । कोही बक्सिस भया पनि वस्तु पाउँदैनन्, कोही सन्दुक भरी राख्दछन् ।’

त्यस्तै त्यही समयको अर्थात् भीमसेन थापाको शासनकालका एकजना बेनामी पुरुषले भीमसेन थापाको शासनकालको विकृतिको चित्रण यसरी गरेका छन्– ‘जर्नेलबाट काज गर्न लागेदेखि निसाफ केही छैन रुपैयाँ मात्रै धेरै लिन्छन्, घूस पनि धेरै खान लागे ।’ ‘पुराना भारदार भए जर्नेल बाँच्न कहाँ पाउँथे, आजकलका भारदार सबै जर्नेलले बनाएका केटाकेटी छन्, बुद्धि कसैको छैन ।’

आफ्ना बापबैरी पाण्डेहरुको सत्यनाश गराउँदै सत्ताको मादमा रमाएका भीमसेन थापा नेपालका प्रधानमन्त्री भएको केही समयपछिको आम जनताको शासकप्रतिको दृष्टिकोण र तात्कालिक शासनको अय्याशी प्रवृत्तिलाई यी भनाइ र कविताका हरफले अधिक मात्रामा खुलाउने काम गरेका छन् । त्यसपछिका दिनमा भ्रष्टाचार संस्थागतरुपमा विकासित हुँदै अगाडि बढ्न थाल्यो । धन देख्दा महादेवका तीन नेत्र भन्ने उखानले पुष्टि पाउँदै जान थाल्यो । त्यही सरुवा रोगले हालकौ हाम्रो राजनीति, कूटनीति, न्याय, प्रशासन, कानुन, राजनीति सबैतिर आफ्नो प्रभुत्व जमाउँदै जान थाल्यो । राज्य शासनको तहसम्म पहुँच हुनेहरुको दिमागी भ्याकुम निकै भीमकाय बन्न पुग्यो । जति घोप्ट्याएर लौ छिटो अघाइहाल् भन्ने आदेश दिइसक्दा पनि ऊ अघाउनेवाला थिएन । पाप–धर्मको कुरो, नैतिक आदर्शको कुरो केवल देखावटी नाटकमात्र बन्न पुग्यो । कसैको श्रीमान्, कसैको छोरो, कसैको ज्वाइँ, जोसुकै किन नहोस् भन्सारको कर्मचारी हुन सक्यो भने उसका सात पुस्ते सबैजसोको भाग्य चम्कन पुगे । अरु समानकाले भन्दा उसले अधिक सम्मान हासिल गर्ने मौका पायो ।

आजभन्दा दुई शताब्दीअगाडिको तुलनामा आज वैज्ञानिक र प्राविधिक उन्नतिका काम धेरै भएका छन् र हुँदै पनि छन् । यो हामी सबैका लागि खुशीको विषय हो । तथापि नेपाली मानवको दिमागी उन्नति त्यति धेरै मात्रामा हुनै सकेन । धर्मदेखि मान्छे डराउन छोड्यो । प्राचीन राजा वा शासक धर्म र पापको कर्ममा निकै ख्याल गर्थे र पो शासन केवल शासन मात्रै नभएर सुशासन हुन्थ्यो । तर पछिल्लो कालखण्डदेखि राजा नै लोभी र पापी बन्न थाले । लोभले पाप कर्म बढाइदिन्छ भन्ने कुरा उनीहरुले बिर्सिए । यसका कारण संसारमा यश फैलाउने गरी जनतालाई सुख दिएर शासन चलाउनुपर्ने र आम प्रजा र जनताको लागि प्राणप्रिय हुनुपर्ने राजा नै लोभका कारण धर्म–पापको ख्याल नगरेर केवल धनको पछाडि दौडने स्वभावका बनेर गए । धनका पछाडि लाग्ने शासकले जनतालाई सुख, शान्ति र समृद्धि दिन सक्छ भनेर सोच्न सकिने कुरै भएन । यसै कारणले गर्दा राजतन्त्रको अन्त्य करिब संसारबाटै भयो भन्दा फरक नपर्ला ।

हाम्रो देशको सन्दर्भमा भन्ने हो भने हामी राणा शासनको अँध्यारो शासनको लामो कठघराबाट प्रजातन्त्रको उज्यालोतिर अगाडि बढ्ने चेष्टामा थियौँ । तर कुनै दुर्गम गाउँबाट वा जिल्लाबाट राजधानी शहरमा आएका केही युवक बिचरा, गरिबीका कारणले हात्तीछाप चप्पल लगाएर, त्यसको लोती चुँडिदा सलाईको काँटी बालेर लोतो पगाली टाँस्दै शहरभित्रको एकान्तमा छिरेका थिए । उनीहरुका बा–आमाले औषधि किनेर खाने धनको अभावमा मृत्युवरण गर्नुपरेको थियो । त्यो बाल्यकालीन उमेरमै गरिबीको त्यत्रो पीडा भोगेको मान्छेको मूल उद्देश्य जसरी भए पनि धन कमाउनु थियो । कुनै जागिर खान पनि शैक्षिक योग्यताको सवाल थियो । मर्नुभन्दा बहुलाउनु निको भनेजस्तै उनीहरुले धेरै खालका सजिला अवसर खोज्दै जाँदा राजनीतिको लामो सुरुङ हुँदोरहेछ भनी पत्ता लगाए । त्यतिमात्र होइन कि उनीहरुले राजनीतिक उचाइ पूरा गर्नको लागि इमानदार बन्नुको साटो ढाँटछल र धोखाघडीका विषय अधिक जान्ने भए । सुरुङभित्र पस्दै जाँदा अथाह सम्पत्तिको भण्डार पनि सामुमै देखे । त्यो भण्डारले उनीहरुको विवेक भ्रष्ट बनाइदियो ।

यसै कारणले उनीहरु छलछामको राजनीति र ढाँटढुँटको आश्वासन बाँडेर कमाइको लेखाजोखामा लागे । त्यत्रो धेरै पैसा नदेखेको कसैले पहिलोपटक त्यति धेरै पैसा देख्दा छक्क नपर्ने वा नमात्तिने वा नआत्तिने भन्ने कुनै कुरै रहँदैनथ्यो । त्यो सम्पत्तिलाई आफ्नो कसरी बनाउने भन्ने कुरा पनि उनीहरुले निकै गहिरोसँग बुझे । उनीहरुका अभिभावकले आफैँले इमानदार मेहनत गरेर बाँच्नुपर्छ भन्ने आदर्श भनाइ सम्झाएका भए पनि उनीहरुलाई समयले त्यो कुरा बिर्सन बाध्य बनायो । यसरी ऐतिहासिक कालखण्डदेखि मौलाउँदै आएको भ्रष्टाचारको जालो अझै धेरै बलियो गरी गाँजिएर फैलिरहेको छ । खान पल्केकाहरुले त्यस जालोलाई यथावत् अवस्थामा राख्ने कोशिश गर्दै छन् भने नयाँ सोच–विचारका युवाले त्यसलाई भत्काएर नयाँलाई बास बसाउने जमर्को गरिरहेका छन् ।

दश वर्षको युद्धपश्चात् शान्ति सम्झौता गर्दै शान्तिपूर्ण वातावरणमा आइपुगेर पनि अपेक्षित उन्नति हुन सकेको देखिएन । यसको मतलब एक दशक लामो युद्धकालले कुनै उन्नतिको काम गर्न नसके पनि कसरी लुटेर खाने भन्ने तरिका भने सिकायो । जनताको घरको धुरीबाट धुवाँ आए÷नआएको हेर्न लगाएर जसको घरको घुरीबाट धुवाँ आएन, त्यसको मतलब उसले खान पाएन मात्र होइन कि के कारणले खान पाएन भन्ने कुरो पत्तो लगाएर पहिले उसलाई खुवाएर मात्र आफू खाने राजा पनि यसै देशमा थिए अरे भनेको सुन्दा आज हामीलाई पत्यार नलाग्न सक्छ । तर यो भनाइ त्यसै भनिएको होइन । पछिल्लो कालखण्डमा राजा स्वयं पनि लोभ र पापकर्ममा ध्यान दिन थालेका पाइए । जसका कारण आफ्ना जनता वा प्रजा जतासुकै रहून्, आफूले भएभरको सम्पत्ति थुपारेर अय्यासी जीवन बिताउन पाउनुलाई महान् गौरवको विषय सम्झे ।

भीमसेन थापाको शासनकालभन्दा अगावै नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको शासनकालमा पनि भ्रष्टाचार व्याप्त थियो । उनको शासनकलमा त्यसलाई नियन्त्रण गर्न खोजेर केही सफलता अवश्य मिलेको थियो । यसैकारण पृथ्वीनारायणले घूस खान्या र घूस दिन्या दुवै देशका शत्रु हुन् भनेर भोगेको तीतो यथार्थ सबैलाई सुनाएर आम जनतालाई सदाचारी बनाउन खोजेका थिए । यसैकारण उनीदेखि उनका जेठा छोरा रिसाएका थिए भन्ने कुरा इतिहासमा पढ्न पाइन्छ । उता उनका कान्छा छोरा बहादुर शाहले भने उनको भनाइलाई समर्थन गरेर घूस दिने र खाने चलनलाई नियन्त्रण गर्न खोजेका थिए ।

दशबर्से लडाइँ सकेर शान्तिपूर्ण राजनीतिमा आइसकेपछिका दिनमा राजतन्त्र पनि हटेर नेपालमा गणतन्त्र स्थापना भइसकेको अवस्थामा भ्रष्टाचार नियन्त्रणका कुनै प्रयास हुनुको साटो संस्थागतरुपमा भ्रष्टाचारको विकास भएर गएको पाइन्छ । शासनको माथिल्लो कुर्सीमा विराजमान हुने व्यक्तिले भ्रष्टाचार गर्न जानेन भने मानौँ ऊ अर्कै लोकबाट आएको पो हो कि जस्तो उसप्रतिको दृष्टिकोण रहने चलन नै चलेको देखिन्छ । अर्थमन्त्री हुने व्यक्तिले आम जनतालाई आर्थिक क्षेत्रमा के–कस्ता सुविधा दिएर सहज बनाइदिन सक्योको अर्थमा नलिएर आम जनताको रगत र पसिना शोषण गरेर राज्यको ढुकुटीमा अधिक राजस्व जम्मा गर्न र अधिक मात्रामा भागवण्डा लगाउन पुग्ने हुन्छ, त्यही सफल अर्थमन्त्री बन्ने चलन चल्यो ।

अबका दिनमा पनि भ्रष्टाचारको नियन्त्रण गरेर सदाचारी जीवशैलीको अनुशरण गर्न सकिएन भने देश विदेशी ऋणमा डुब्दै जाने र हामी नेपालीहरु अर्को कुन देशका नागरिक बन्नुपर्ने दिन नजिकै आउँदै छ । छिमेकी भारतले हामीकहाँ पठाउँदै आएको चामल हालैदेखि नपठाउने निर्णय गर्दै गरेका बेला त्यसको दिगो र भरपर्दो विकल्प के अपनाउने मात्र होइन, यस मौकाको भरपुर सदपयोग गरेर हामी स्वयं नै आत्मनिर्भरताको बाटोमा जान सक्ने विकल्प खोज्न ढिलो हुँदै छ । छिमेकीले दिएन भनेर निरुपाय भएर भोकै बस्नुको साटो विगतमा नेपालको माटोमा उब्जाउ भएको खाद्यान्न विदेश पठाइन्थ्यो भने अहिले झन् प्रविधिको यत्रो विकास भएको अवस्थामा सम्भावनाको खोजीमा लाग्नुपर्ने होइन र ?