नियमित र आकस्मिक अनुगमन कार्यलाई योजनाबद्ध बनाइने 

यही  महिनामा योजना बनाएर भदौबाट अनुगमन कार्यलाई नियमित बनाउनु पर्छ : उपप्रमुख डंगोल

0
Shares

काठमाडौँ ।

 महानगरबाट हुने अनुगमन कार्यलाई व्यवस्थित र नतिजामुखी बनाउन ‘अनुगमन टोली परिचालन कार्यविधि’ र ‘मूल्याङ्कन दिग्दर्शन’ तर्जुमा हुने भएको छ । अनुगमन मूल्याङ्कनका लागि प्राप्त कानुनी अधिकारको प्रभावकारी प्रयोगका लागि कार्यविधि र दिग्दर्शन तर्जुमा गर्न लागिएको हो । आज उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको ‘अनुगमन मूल्याङ्कन समिति’ को बैठकमा कार्यविधि र दिग्दर्शन तर्जुमा गर्ने, महानगरको नीति कार्यान्वयन योजना, वार्षिक कार्ययोजना, खरिद योजना र अनुगमन तथा मूल्याङ्कन योजनाका तालमेलका विषयमा छलफल भएको भयो ।

अनुगमनले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा पृष्ठपोषण दिन्छ । पूर्वाधार निर्माण र विकासका योजनाको मापदण्ड पालनामा दबाब सिर्जना हुन्छ । जनजीविकालाई सरल सहज बनाउन मद्दत गर्छ । बैठकमा उपप्रमुख डंगोलले भनिन्, ‘सूचक तयार पार्ने, सूचना र विवरण तयार पार्ने, कामको खाका तयार पार्ने काम साउन महिनाभित्रमा पूरा गरौँ । भाद्र महिनाबाट नियमित र आकस्मिक अनुगमनलाई नियमित सञ्चालन गर्नुपर्छ ।’

बैठकमा महानगरका नीति, महानगर गौरवका योजना, स्वर्णिम योजना र यी कार्यक्रमको कार्यान्वयन कार्य योजनासँग अनुगमनको तालमेलका सम्बन्धमा छलफल गरिएको थियो ।

अनुगमन योजना निर्माणसँगै कार्य सञ्चालनका लागि क्षमता विकास योजना पनि बनाउँदै लैजानु पर्छ । काम गर्ने क्षमता बढाउन सकिएन भने अनुगमन मात्र गरेर नतिजा आउँदैन । वडा २० का अध्यक्ष एवं समितिका सदस्य राजेन्द्र मानन्धरको धारणा थियो । त्यस्तै पूर्वाधार विकास विभागका प्रमुख राम थापाले, योजनाका चरणहरुमा ध्यान पु¥याउन सके काममा दोहोरोपना नहुने र भार कम नहुने भएकोले यसमा ध्यान दिनु पर्ने बताइन् ।

गएको वर्षमा भएका अनुगमन र मूल्याङ्कनका सिकाइबाट चालु आर्थिक वर्षमा विगतका गल्ती नदोहोरिने गरी अनुगमन कार्य सञ्चालन गर्ने योजना रहेको योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख नरेन्द्रबिलास बज्राचार्यको भनाइ थियो ।

कार्यविधि र दिग्दर्शन तर्जुमाका लागि नियमित ५ कार्यदिनमा सबै विभागसँग सम्बन्धित विषयमा छलफल गरिसक्ने योजना छ ।