जापान विश्वकपको क्वार्टरफाइनलमा



लन्डन, (एजेन्सी) । जापान जारी महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । जापानले अन्तिम १६ को खेलमा १९९५ को विश्व विजेता नर्वेलाई ३–१ गोलअन्तरले हराएको हो । टोलीलाई अन्तिम ८ मा पु¥याउन एक आत्मघाती गोलसँगै हिनाटा मियाजावा र रिसा शिमीजुले एक–एक गोल गरेका थिए । नर्वेको तर्फबाट गुरो रीइटेनले एक गोल फर्काएकी थिइन् ।

शुरुदेखि नै जापानले नर्वेको पोस्टमा लगातार आक्रमण गरेको थियो । नर्वेका खेलाडीलाई डिफेन्स खेल्न बाध्य तुल्याएको यो खेलमा २० औं मिनेटमा पहिलो गोल भएको थियो । त्यो गोल आत्मघाती थियो । मियाजावाले करिब १८ यार्डबाट प्रहार गरेको बललाई नर्वेकी डिफेन्डर इन्ग्रीड इन्जेनले क्लियर गर्न खोजिन् । तर, बलले आफ्नै पोस्टको दिशा लिदाँ जापानले २० औं मिनेटमा १–० को अग्रता लिन सफल भयो ।

तर, यसको भर्पाइ नर्वेले छिटै ग¥यो पनि । रिइटेनले २५ औं मिनेटमा गोल गरेर १–१ बराबरीमा ल्याइन् । यो स्कोर पहिलो हाफसम्म रह्यो । दोस्रो हाफमा जापानले दुई गोल थपेको थियो । शिमिजीले दोस्रो हाफ शुरु भएको पाँचौ मिनेटमा गोल गरेकी थिइन् । मियाजावाले ८० औं मिनेटमा गोल गरेर अस्टे«लिया र न्युजिल्यान्डमा जारी प्रतियोगितामा गोल्डेन बुट जित्ने संभावनालाई बलियो बनाइन् ।

जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने सूचीमा मियाजावा शीर्ष स्थानमा छिन् । उनको ५ गोल भएको छ । जर्मनीकी एलेक्सान्ड्रा पोपको ४ गोल छ । तर, उनको टिम समूह चरणबाटै बाहिरिएपछि उनको गोल्डेन बुट जित्ने संभावना समाप्त भइसकेको छ । जापानको अर्को खेल अमेरिका वा स्विडेनसँग हुनेछ ।

दोस्रो उपाधितिर

जापान महिला विश्वकपको दोस्रो उपाधि जित्न अग्रसर समेत भएको छ । १२ वर्षअघि सन् २०११ को विश्वकप जापानले जितेको थियो । यसपछि २०१५ को विश्वकपमा पनि फाइनल पुगे पनि टोली अमेरिकासँग उपाधि भिडन्तमा पराजित भएको थियो । समूह चरणमा स्पेनलाई ४–० ले हराएदेखि जापानको उपाधि दावेदारी बलियो भएको मानिएको छ ।

उक्त खेलमा जापानी टिमले काउन्टर एट्याकिङ फुटबल खेलेको थियो । यसमा जित हात पारेपनि २३ प्रतिशत मात्रै बल पोजेसन रहेको थियो । नर्वेविरुद्ध पाएको गोल जापानले जारी प्रतियोगितामा बेहोरेको पहिलो गोल समेत थियो ।

नर्वेको कमजोर खेल

नर्वेले लगातार दोस्रो पटक क्वार्टरफाइनल पुग्ने आस गरेको थियो । तर, जापानी खेलाडीको आक्रमक खेलमा नर्वेको टिमसँग कुनै जवाफ नै थिएन । एकपछि अर्को आक्रमण गरेपछि नर्वेको लागि आक्रमक गर्न सक्ने स्थितिमा पनि रहेन । त्यसो त समूह चरणमा नर्वेले फिलिपिन्समाथि ६–० गोलअन्तरको जित निकालेको थियो । नर्वेकी स्टार खेलाडी अडा हेजरबर्ग खेल सकिन १६ मिनेट बाँकी हुँदा मैदानमा आएकी थिइन् । तर, उनले टोलीलाई कुनै मद्दत गर्न सकिनन् ।

स्पेन पनि अन्तिम ८ मा

समूह चरणमा जापानसँग ४–० ले हारेको स्पेन पनि अन्तिम ८ मा पुगेको छ । प्रिक्वार्टर खेलमा स्पेनले स्विट्जरल्यान्डलाई ५–१ गोलले हराएको हो । यो स्पेनसँगको हार स्विट्जरल्यान्डको महिला विश्वकपमा ठूलो हार समेत हो । ला रोजा उपनामले चिनिने स्पेनको जितमा ऐटाना बोन्माटीले दुई गोल गरिन् ।

यस्तै अल्बा रिडोन्डो, कोडिना र हर्मोसोले एक–एक गोल गरेका थिए । स्विट्जरल्यान्डको लागि एक मात्र गोल पनि स्पेनकै कोडिनाले गरेकी थिइन् । उनले ११ औं मिनेटमा आफ्नै पोस्टमा गोल गर्न पुगेकी थिइन् । उनले गोलकिपरको लागि ब्याक पास गरेकी तर, गोल हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्