कांग्रेस दुई समूहमा विभाजित- बढी मत भएको समूहचाहिँ गुमनाम



काठमाडौँ, २७ माघ नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी प्रधानमन्त्री एवं कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा लगायत पार्टी नेताहरु । तस्वीर ः रोशन सापकोटा, रासस

काठमाडौं । उमेर र संसद्को संख्याका हिसाबले नेपालको सबैभन्दा जेठो दल नेपाली कांग्रेसमा आन्तरिक कलह कायमै रहेको छ । पार्टीको गत साउन २ देखि ८ गतेसम्म चलेको केन्द्रीय समिति बैठकले आन्तरिक कलहलाई मत्थर पर्छ भन्ने आम बुझाइलाई गलत सावित गर्दै नेताहरू चार समूहमा विभाजन भएर आन्तरिक कलहलाई मलजल गरिरहेका छन् ।

झट्ट हेर्दा कांग्रेसमा एकातिर संस्थापन र संस्थापनइतर समूह जस्तो देखिन्छ भने अर्कोतर्फ बुढा पुस्ता र युवा पुस्ताबीचको लडाईं जस्तो पनि देखिन्छ । आवरणमा यिनै दुई समूहबीच पार्टी नेतृत्वमा पुग्न संघर्ष गरिरहेको देखिए पनि गुमनाम रहेका नेताहरूको मत पार्टीमा सबैभन्दा बलियो छ । चर्चामा रहेको पहिलो समूह संस्थापन पक्षलाई बुढा पुस्ताले नेतृत्व गरेको छ भने दोस्रो संस्थापनइतर समूह तेस्रो तहका नेताहरूले समेत साथ दिएको देखिन्छ ।

पार्टीको नेतृत्व गरिरहेको पहिलो पुस्ता सभापति शेरबहादुर देउवा र उहाँका दौतरी नेताहरू रहेका र दोस्रो पुस्तामा वरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरू पर्दछन् । तेस्रो पुस्ताका महामन्त्री गगन थापा, विश्प्रकाश शर्मा, प्रदीप पौडेल, गुरु घिमिरे, मधु आचार्य, रञ्जित कर्ण, नैनसिंह महर, भुपेन्द्रजंग शाहीलगायत नेताहरू पार्टी रूपान्तरणको मुद्दामा लागेका छन् । यद्यपि, यो समूहमा पनि आ–आफ्नो नेताको ‘लिगेसी’ कसैले छाडेको देखिँदैनन् । यी नेताहरूलाई नयाँ पुस्तामा राखिए पनि कतिपय नेताहरू पुरानै नेताहरूको पक्षमा उभिएका पनि छन् ।

यीबाहेक कांग्रेसमा चर्चामा नआएको एउटा यस्तो समूह छ, जुन समूहका नेताहरू पार्टी महाधिवेशनमा एक ठाउँ हुनसके निर्णायक भूमिकामा देखिने क्षमता राख्छन् । करिब ५५ देखि ७० वर्ष बीचको समूहमा सबैभन्दा बढी नेताहरू छन् । उनीहरू कांग्रेसमा गुमनाम नै छन् । चर्चामा नआएको यो समूहमा पार्टी उसपभापति धनराज गुरुङ, वर्तमान सहमहामन्त्रीहरू तथा पूर्व पदाधिकारीसहित केन्द्रीय सदस्यहरू छन् । यो समूह पार्टीको आन्तरिक राजनीतिमा सबैभन्दा कम चर्चा र बढी मत संख्या भएको समूह हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बे पार्टीमा युवा र बुढा पुस्ताका बीचमा रहेको एउटा पुस्ता गुमनाम रहेको र आफू त्यही पुस्ताको नेता भएको दाबी गर्नुहुन्छ । उहाँले आवरणमा बुढा पुस्ता र युवा पुस्ताबीचको लडाईं देखिए पनि चर्चा नकमाएका नेताहरूको संख्या पार्टीभित्र अत्याधिक रहेको बताउनुभयो । सहमहामन्त्री आङ्देम्बेले भन्नुभयो–‘अहिले नेपाली कांग्रेसमा पुस्ता–पुस्ताबीचको लडाइँ चलिरहेको छ । बाबु पुस्ताले नेतृत्व गरिरहेको छ । अर्को एउटा पुस्ता ७० नाघिसकेको पुस्ता छ, जो नेतृत्वमा आउन लडिरहेको छ, अर्को पुस्ता ५५ भन्दा मुनिको छ, जसले आफूलाई युवा भन्छ र हस्तक्षेपकारी भूमिका देखाउन खोजिरहेको छ । तर, यो बीचमा अर्को एउटा गुमनाम पुस्ता पनि छ, ५५ देखि ७० वर्षको । अहिलेलाई नेपाली कांग्रेसमा यो पुस्ता निर्णायक छ ।’ पार्टीमा अहिले गुमनाम रहेको पुस्ता कमजोर नरहेको र आफू पनि पनि त्यही गुमनाम पुस्ताको एउटा सदस्य भएको जिकिर गर्दै उहाँले दाबी गर्नुभयो– ‘यो गुमनाम पुस्ताले अहिलेलाई कांग्रेसको निर्णायक शक्ति भएकाले युवा र बुढा भनेर बेलाबेला भइरहने लडाइँमा फ्युजन गरेर कांग्रेसमा नयाँ रक्तसञ्चार गर्न सक्ने क्षमता राख्छ ।’

पछिल्लो समय कांग्रेसमा युवा नेताहरूले उठाएका एजेन्डालाई पार्टीले संस्थागत गरेर लैजानुभन्दा पनि गुटगत हिसाबले उनीहरूका महत्वपूर्ण एजेन्डाहरू बहिष्करणमा पर्ने गरेका छन्, पार्टीकोे एक वर्षपछि बसेको केन्द्रीय समितिको बैठकमा पेस भएका कतिपय एजेन्डाहरूसमेत यसै गरी मारिएका छन् । यद्यपि, पार्टीमा आफ्ना एजेन्डा स्थापित गराउन निरन्तर लडिरहने महामन्त्री गगन थापाले बताउनुभएको छ ।

पार्टीभित्र धेरै विचार समूहहरू देखिए पनि अन्ततः युवा पुस्ता र बुढा पुस्ताबीचकै लडाईं हुने गत १४औं महात्रिवेशनले समेत देखाएको स्मरण गराउँदै केन्द्रीय सदस्य मधु आचार्यले भन्नुभयो– ‘पार्टीको १४३औं महाधिवेशनमा पुस्तान्तरण र रूपान्तरणको नारा लाउने पुराना नेताहरू अन्तिममा एउटै ठाउँमा उभिएको छ । आगामी महाधिवेशनमा पनि सोही प्रवृत्ति दोहोरिन सक्ने आँकलन गरिएको छ ।’

बाहिर चर्चा नभएका नेताहरूको समूह एक ठाउँमा उभिन सके पार्टीमा दोस्रो पुस्ताको रूपमा स्थापित हुने उनिहरूको दाउ छ । आफूहरूपछि मात्र अहिलेको तेस्रो पुस्ता पार्टीको नेतृत्व तहमा आउनु पर्ने सो समूहको बुझाइ छ । तेस्रो पुस्ताका नेताहरूप्रति लक्षित गर्दै नेता भीष्मराज आङदेम्बेले भन्नुभयो– ‘हतारिएर कुनै पनि चिज प्राप्त हुन सक्दैन । हामीले सकारात्मक हस्तक्षेपको वातावरण बनाएर क्रमशः अगाडि जानुपर्ने हुन्छ ।’ तर, तेस्रो पुस्ताका नेताहरू आगामी महाधिवेशनमा पहिलो हुनेगरी अभियान चलाउन लागेका छन् । पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टी र सरकार दुवै ठाउँमा पुग्नका लागी हस्तक्षेपकारी रणनीति अपनाएर संगठन सुदृढीकरणका नाममा देशव्यापी अभियान चलाउने योजनामा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्