बखुण्डोल आधारभूत स्वास्थ्य केन्द्रमा वार्षिक ७ हजारलाई सेवा

निःशुल्क शिविरमा नागरिकको उत्साह



काभ्रे। 

धुलिखेल नगरपालिका वडा नम्बर ४ बखुण्डोल आधारभूत स्वास्थ्य केन्द्रमा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोगमा एक दिने आँखा शिविर आयोजना गरिएको छ । नगर भित्र रहेका १२ वटा वडाका १५ वटा स्वास्थ्य संस्था मध्ये वार्षिक रुपमा धेरै सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा प्रदान गरेको बखुण्डोल स्वास्थ्य संस्था जिल्लाकै नमुना बनेको छ ।

‘९२ प्रकारका औषधी सेवाग्राहीहरूलाई निःशुल्क वितरण गरिरहेका छौँ’–बखुण्डोल स्वास्थ्य संस्था प्रमुख हेमा संग्रौलाले भनिन–‘एक वर्षको अवधिमा ६ हजार ३ सय ९९ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।’ नजिकै धुलिखेल अस्पताल तथा केही निजी क्लिनिकहरु पनि छन् । तर पनि नागरिकहरु गुणस्तरीय र निःशुल्क सेवा उपलब्ध गराएका कारण स्वास्थ्य संस्थामा आउने गरेको संग्रौलाले बताइन् । एक वर्षको अवधिमा स्वास्थ्य संस्थाबाट ५ हजार १ सय ९० जनाले ओपिडी सेवा लिएका छन् । खोप सेवा २ सय ७१ जनाले लिए भने परिवार नियोजन सेवा ६४ जनाले लिएका छन् । सुरक्षित मातृत्व सम्वन्धी सेवा ९९ जनाले लिएका छन् । खकार संकलन ३ सय ७८ जनाको गराई परीक्षण गराइएको छ भने क्षयरोग भएका ५ जना बिरामीलाई सेवा उपलब्ध गराइएको छ । भिटामिन ए ८ सय ३ जनाले सेवन गरेका छन् भने पोषण कार्यक्रममा २ सय ७ जना बाललिका सहभागी भए ।

हरेक वर्ष नागरिकहरुलाई स्वस्थ राख्न विभिन्न प्रकारका शिविर आयोजना गरिरहेको बखुण्डोल आधारभूत स्वास्थ्य संस्थाले ४० वर्ष कटेका नागरिकहरुमा हुन सक्ने आँखाको रोगलाई पहिचान, परीक्षण र उपचार गर्ने उद्देश्य अनुरुप शिविर राखिएको वडा अध्यक्ष उत्तम तिमल्सिनाले बताए । हरेक नागरिकहरुलाई स्वस्थ राख्न वडा कार्यालय र बखुण्डोल आधारभूत स्वास्थ्य संस्था मार्फत निःशुल्क शिविरहरुको आयोजना गरिएको बताए । कार्यक्रममा धुलिखेल नगरपालिका आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाका प्रमुख सन्दीप केसीले स्वस्थ सहर धुलिखेल नगर बनाउने अभियानमा शिविर महत्त्वपूर्ण हुने बताए ।

गत वर्ष एक हजार भन्दा धेरै नागरिकहरुको आँखा परीक्षण गरिएकोमा यो वर्ष पनि १२ वटै वडामा शिविर आयोजना गरी एक हजार भन्दा धेरै नागरिकहरुको आँखा परीक्षण गर्न लागिएको उनले बताए । शिविरमा मोतियाविन्दुको अप्रेसन गर्नु पर्ने बिरामीहरूको हकमा स्वास्थ्य बिमा भएकाहरूको त्यही अन्तर्गत र नभएकाहरुलाई अस्पतालको तर्फबाट ५० प्रतिशत सहुलियत उपलब्ध गराइएको छ । अस्पतालसम्म जान आउनका लागि नगरपालिकाले निःशुल्क सवारी साधन उपलब्ध गराएको छ ।

स्वास्थ्य शाखाका सरोज थापाले नगरपालिकाले लिएको नागरिकहरु स्वस्थ राख्ने अभियानलाई शिविरले थप मद्दत पुग्ने बताए । धुलिखेललाई स्वस्थ सहर बनाउने अभियानमा हरेक नागरिक स्वस्थ रहनु पर्छ भन्ने उद्देश्य स्वरुप शिविर आयोजना गरिएको उनले बताए । कार्यक्रममा आँखा अस्पतालमा कार्यरत दृष्टि विशेषज्ञ सीमा गैरेले रोगको पहिचान, परीक्षण र उपचार महत्त्वपूर्ण हुने बताइन् । ४० वर्ष कटेपछि ब्यक्तिमा देखिने विभिन्न प्रकृतिका रोगहरुमा आँखा महत्त्वपूर्ण हुने भएकाले त्यसको हेरचाहमा ध्यान दिनु पर्ने उनले बताइन् । कार्यक्रममा आधारभूत स्वास्थ्य शाखा प्रमुख हेमा संग्रौलाले आम नागरिकहरु सेवाका लागि स्वास्थ्य संस्थामा आएर अझै गुणस्तरीय सेवाका लागि सुझाव दिन अनुरोध गरिन् ।

धुलिखेलमा डेंगी नियन्त्रणमा कार्ययोजना

 

धुलिखेल नगरपालिकाले डेंगी नियन्त्रणका लागि कार्ययोजना तयार गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले उक्त निर्णय गरेको हो । व्यक्ति, घर, समुदाय, संघ सस्थामा डेंगी र त्यसका बारेमा सचेतना जगाउँदै अस्पताललाई तयारी अवस्थामा राख्न बैठकले अनुरोध गरेको छ ।

धुलिखेल अस्पताल, स्वास्थ्य कार्यालय काभ्रे, प्राथमिक स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य केन्द्रहरुले सरोकारवाला नागरिकहरुलाई डेंगीबाट बच्न र सचेत हुन अनुरोध गर्ने र त्यसका लागि हरेक घरमा पुगेर डेंगी उत्पादन गर्ने लामखुट्टेको बासस्थानलाई खोज र नष्ट गर अभियानलाई तीव्रता दिने निर्णय गरेको छ । विरामी हुनै नदिने, विरामी भएको लक्षण भएमा तत्काल परीक्षण र पहिचान गरी उपचार गर्ने र थप संक्रमण फैलन नदिने तर्फ सचेत रहने बैठकले निर्णय गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुले नागरिकहरुलाई हरेक प्रकारका महामारीबाट बचाउन तथा विभिन्न रोगको उपचारका लागि स्वस्थ सहर कार्यक्रम मार्फत प्रभावकारी कार्य गरिने बताए ।

कोभिडको समयमा पनि धुलिखेल नेपालकै नमुना शहरका रुपमा चिनिएको थियो । कोभिड नियन्त्रणमा जस्तै नागरिकहरुले डेंगी नियन्त्रणमा पनि साथ दिन नगर प्रमुख ब्याञ्जुले अनुरोध गरे । कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम सेढाई, धुलिखेल अस्पतालका डा. विराज कर्माचार्य, डा. सुरक्षा कुँवर र स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

 धुलिखेलमा अघिल्लो वर्ष ९ जना संक्रमण भएकोमा यो वर्षको शुक्रबारसम्मको तथ्याङ्कमा कोही नागरिकलाई डेंगी भएको छैन । शून्यमा राख्न र शून्यबाटै डेंगी भगाउन आवश्यक कार्ययोजना सहित कार्यान्वनमा जोड दिन जनप्रतिनिधि र विभागीय प्रमुखहरुले स्वास्थ्यकर्मीहरू मार्फत आम नागरिकहरुलाई अपिल गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्