साउदी प्रो लिग युरोपलाई चुनौती दिँदै



लन्डन, (एजेन्सी) । साउदी अरेबियाको साउदी प्रो लिग (एसपीएल) ले ठूल्ठूला खेलाडीलाई लिगमा ल्याउन अझै खर्च गरिने जनाएको छ । लिगको बोर्डमा रहेका ब्रिटिश निर्देशक पिटर हटनले बताए–केही वर्ष अझै लगानी गर्न बजेट रहेको छ । यो कम हुने देखिँदैन ।

एसपीएलले फुटबलको नाम चलेका खेलाडी क्रिस्टियानो रोनाल्डोलाई लिगमा ल्याएदेखि यो लिगमा नाम चलेका खेलाडी आकर्षित भइरहेका हुन् । रोनाल्डोलाई जनवरीमा म्यानचेस्टर युनाइटेडबाट अल नासरले टोलीमा आबद्ध गरेको थियो । अहिले एसपीएलमा करिम बेन्जामा, जोर्डान हेन्डरसन तथा चेल्सी, म्यानचेस्टर सिटी र बायर्न म्युनिखका स्थापित खेलाडी एसपीएलमा पुगिसके ।

हालै अल हिलालले पेरिस सेन्ट जर्मेनबाट खेलिरहेका क्लिएन एम्बाप्पेलाई ठूलो रकमले लोभ देखाइरहेको छ । अल हिलालले उनको लागि विश्व कीर्तिमानी रकम २ सय ५९ मिलियन पाउन्डको प्रस्ताव बनाएको छ ।

युरोस्पोर्ट, र्ईएसपीएन, आईएमजी र फेसबुकमा वरिष्ठ अधिकारी हटनले बताए–मैले ४० वर्ष खेलकुदमा काम गरे । मैले कहिल्यै यस्तो ठूलो प्रोजेक्ट देखेको छैन । साउदी लिगबारे विश्वले बोलिरहेको छ । तर, प्रिमियर लिग क्लबले यस समरमा खर्च गरेको भन्दा यो लिगले चौथाइ रकम खर्च गरेको छ ।

म्यानचेस्टर सिटीका मेनेजर पेप गार्डिओलाले समेत साउदीको लगानी बारे सचेत हुनुपर्ने बताएका छन् । साउदी प्रो लिगको वृत्तीय शक्तिले ट्रान्सफरको लागि बजार परिवर्तन गरेको गार्डिओलाले बताएका थिए । यस्तै लिभरपुलका मेनेजर यर्जेन क्लोपले साउदीमा ढिलो ट्रान्सफर विन्डो क्लोजिङबारे चिन्ता भएको बताए ।

ट्रान्समार्केटको अनुसार एसपीएल क्लबहरुले यो समरमा ४ सय ९ मिलियन युरो खर्च गरेको छ । यो विश्व फुटबलमा लगानी भएको पाँचौ उच्चतम रकम हो । यो स्पेनको लालिगाको भन्दा बढी लगानी हो । हालसम्म प्रिमियर लिगले १ अर्ब ३७ मिलियन युरो खर्च गरेको छ । यो तथ्यांकले यही देखाउँछ कि एसपीएल युरोपको चम्किला लिगलाई चुनौती दिन सफल भएको छ ।

साउदी अरेबियामा मानव अधिकार र महिला अधिकारको समस्या रहेका छन् । यस्तै साउदीमा समलिंगी क्रियाकलापलाई अनैतिक र अवैध मान्छ । यसमा संभवत मृत्युदण्ड दिन पनि सक्छ । यसको बावजुद युरोपका शीर्ष खेलाडी यस देशमा खेल्न लालायित भएकोमा धेरैले आश्चर्य मानिरहेका छन् ।

तर, यसबारे हटन बताउँछन् –मेरी श्रीमति फिफाको महिला फुटबलमा काम गर्छिन् । त्यति समस्या देखेको पनि छैन । अरुले भने अनुसार महिलालाई बन्देज पनि छैन । साउदीमा ५० हजारको संख्यामा विद्यालयका छात्राहरु फुटबल खेलिरहेका तपाईँले देख्न सक्नुहुन्छ । साउदीमा १ हजार महिला कोच छन् । २०१८ मा ७ सय ५० कोच दर्ता भएका थिए । अहिले ५५ सय कोच भन्दा बढीसंख्या पुगिसकेका छन् । यसैले पनि एसपीएल सबैलाई आकर्षित गरिरहेको छ ।

एसपीएलको चाइनिज लिगसँग तुलना

चाइनिज सुपर लिगले पनि पहिले यसरी नै युरोपका खेलाडी आबद्ध गरेर चर्चा बटुलेको थियो । तर, अहिले यो लिग ओरालो लागेको छ । एसपीएल पनि चाइनिज लिग जस्तै हुन सक्ने बताइएको छ । हटनले साउदी अरेबिया सरकारले एसपीएलमा संलग्न भएको हुँदा लिग त्यति चाँडै समाप्त नहुने बताए ।

उनले बताए–साउदी लिग ५० वर्ष भइसकेको छ । स्थापित क्लबहहरुको लागि स्थापित समर्थक छन् । यो नै साँचो प्रतिस्पर्धा हो । एम्बाप्पेलाई प्रस्ताव राम्रो कुरा हो । साउदी लिगमा पाको खेलाडी मात्रै होइनन् युवा खेलाडी पनि आउन सक्छन् भन्ने स्पष्ट पार्छ । अझ के गरेमा साउदी लिगले अरु स्टार खेलाडीलाई ल्याउन सक्नेछ यसमा विचार विमर्श पनि गरिरहेका छौ । चेल्सी समर्थक वा म्यानचेस्टर सिटी समर्थक पनि उत्साहित हुन सक्छन् ।

आम्दानी राम्रै हुने

हटनले लिगबाट नौ वा दश वर्षको समयमा आम्दानी साँच्चिकै शसक्त हुने देखेको बताए । उनले बताए–वर्षपिच्छै आम्दानी बढ्दै जान्छ । टिभीको आम्दानी बढ्नेछ, प्रायोजकहरुले पनि मोटो रकम कमाउनेछन् । मलाई लाग्दैन कि यो लिग ओरालो लाग्नेछ । जब रोनाल्डोले अल नासरको लागि हस्ताक्षर गरे तब, अन्तर्राष्ट्रिय प्रशारकहरुबाट लिगमा चासो लिन थाले । रोनाल्डो अल नासरमा आबद्ध भएसँगै १ सय ७० क्षेत्रहरु भन्दा बढी लिगका लागि सक्रिय भए । यसले स्पष्ट पा¥यो कि प्रशारण विश्वभरि भएकोले सकारात्मक संकेत देखिएको छ । मलाई विश्वास छ कि आउँदो सिजनमा संयुक्त अधिराज्य (यूके) मा प्रशारकसँग सम्झौता हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्