जमैकाको इतिहास, बराबरीले ब्राजिल बाहिरियो

0
Shares

लन्डन, (एजेन्सी) । अस्टे«लिया र न्युजिल्यान्डमा जारी महिला विश्वकपमा जमैकाले अन्तिम १६ मा स्थान बनाउँदा ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ ।

जमैकाले बुधबार भएको खेलमा ब्राजिललाई गोलरहित बराबरीमा रोकेर अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । यो नतिजाले ब्राजिलको टोलीलाई भने घर फर्कन बाध्य तुल्यायो । जमैकाले मेलबर्न रंगशालामा भएको खेलमा रक्षात्मक खेल पकेको थियो ।

ब्राजिलले अनुभवी स्ट्राइकर मार्टालाई टोलीमा समावेश गरेको थियो । तर, उनले गोल गर्न नसकेपछि ब्राजिलको लागि यो प्रतियोगिता निरासजनक भयो । बराबरीले ब्राजिल पहिलो पटक विश्वकपको २८ वर्ष इतिहासमा समूह चरणबाट बाहिरिनु प¥यो ।

३७ वर्षीया मार्टा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनी महिला वा पुरुषको विश्वकपमा सर्वाधिक १७ गोल गर्न सफल खेलाडी समेत हुन् । यो उनको छैटो विश्वकप प्रतियोगिता पनि हो । विश्वकपमा पुरुषतर्फको प्रतियोगितामा ब्राजिलले ५ पटक उपाधि जितेपनि महिलाको टोलीले अहिलेसम्म विश्वकप उपाधि जित्न सकेको छैन ।

समूह एफबाट फ्रान्स ७ अंकसहित शीर्ष टोली बन्दै अन्तिम १६ मा पुगेको हो । जमैका ५ अंक लिएर दोस्रो स्थानमा रह्यो भने ब्राजिल तेस्रो स्थानमा रहेको थियो । ब्राजिलको चार अंक छ । पानामा भने अंकविहीन हुँदै अन्तिम स्थानमा रहेको थियो ।

जमैकाको यो महिला विश्वकपमा पहिलो पटकको सहभागिता हो । यस पटक फिफाले आठ टोलीलाई मौका दिएको हो । यसअघि २४ टोलीले सहभागिता जनाएकोमा यस विश्वकपमा ३२ टोलीको सहभागिता रहेको हो ।

नयाँ ८ टोली समावेश भएकोमा जमैका मात्रै समूह चरण पार गर्न सफल भयो । अर्को नयाँ टोली पोर्चुगलको लागि पनि अन्तिम १६ मा पुग्ने मौका आएको थियो । तर, अमेरिकाविरुद्ध जित हात पार्न नसक्दा पोर्चुगलको महिला टोलीले इतिहास रच्न सकेन ।

अन्य ६ नयाँ टोलीमा भियतनाम, फिलिपिन्स, पानामा, हाइटी, गणतन्त्र आयरल्यान्ड र मोरोक्को रहेका छन् । यसमध्ये फिलिपिन्सले आयोजक टोली न्युजिल्यान्डमाथि जित निकाल्यो । तर, समूह चरण भने पार गर्न सकेन । आयरल्यान्ड, पानामा, भियतनाम, हाइटी र मोरोक्को पनि समूह चरणसम्म सीमित भए ।

जमैकाले पहिलो खेलदेखि नै राम्रो खेलेको छ । पहिलो खेलमा प्रतियोगिताकै उपाधि दावेदारीमध्ये एक टोली फ्रान्सलाई रोकेको थियो । यो खेल गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो खेलमा डेब्यु गरेको पानामामाथि १–० को जित निकालेको जमैकाले ब्राजिललाई पनि हिस्स बनायो ।

दक्षिण अफ्रिकाको पनि इतिहास

जारी प्रतियोगितामा पहिलो जित हासिल गरेसँगै दक्षिण अफ्रिका समूह जी बाट अन्तिम १६ मा पुगेको छ । वेलिंगटनमा भएको खेलमा दक्षिण अफ्रिकाले इटालीमाथि ३–२ को शानदार जित निकालेको हो । थेम्बी केगाटलानाले स्टपेज टाइममा गोल गर्दै दक्षिण अफ्रिकालाई नकआउट चरणमा पु¥याएकी हुन् ।

दक्षिण अफ्रिकाले अर्को चरणमा आइतबार नेदरल्यान्डस्विरुद्ध खेल्नेछ । नेदरल्यान्डस् गत विश्वकप २०१९ को उपविजेता बनेको थियो । दक्षिण अफ्रिकाले पहिलो खेलमा अर्जेन्टिनासँग २–२ बराबरी खेलेको थियो । यो अफ्रिकी टोलीको विश्वकपमा पहिलो अंक समेत थियो । यसअघिको विश्वकप २०१९ मा तीनै खेलमा हार बेहोरेको दक्षिण अफ्रिकाले यस पटक समूह चरण पार गरेर इतिहास कोर्न सफल भयो ।

अर्को चरणमा पुगेसँगै दक्षिण अफ्रिकाकी मेनेजर डेसीरी इलीसले आफ्ना खेलाडीको खुलेर प्रशंसा गरिन् । उनले बताइन् –उनीहरुले योद्धाहरुले झै लडाई लडे । उनीहरुले नायिकाहरुले जस्तै लडे । हामीलाई उनीहरुको क्षमता थाहा छ । उनीहरुले इतिहास रचेका छन् अहिले ।

यस समूह एफ को दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकासँग चार अंक रहेको छ भने इटालीको ३ अंक थियो । अर्जेन्टिनाको १ अंक मात्रै रहेको छ । यी खेल हुन अघि अर्जेन्टिना र दक्षिण अफ्रिकाको एक–एक अंक थियो । इटालीको तीन अंक रहेकोले नकआउटमा पुग्ने संभावना बढी थियो । तर, दक्षिण अफ्रिकाले रोमाञ्चक जित निकालेर इटालीलाई समूह चरणमै सीमित पारिदियो ।

धेरै गोल बर्सेको खेल

यही समूहको अर्को खेलमा फ्रान्सले पानामालाई ६–३ गोलअन्तरले हरायो । यो जितमा काडिडियाटोउ डियानीले ह्याट्रिक गरिन् । जारी प्रतियोगितामा धेरै गोल बर्सेको यो पहिलो खेल समेत हो । फ्रान्स समूहमा ७ अंक लिएर शीर्ष स्थानमा रहेको हो । यो खेलमा पहिलो गोल पानामाबाट भएको थियो ।

पानामाको लागि खेलको दोस्रो मिनेटमै मार्टा कक्सले फ्रिकिक प्रहारलाई गोलमा परिणत गरेकी थिइन् । तर, डेब्यु गरेको टोली पानामाविरुद्ध फ्रान्सले २१ औं मिनेटदेखि गोलको वर्षा गर्दै ५२ मिनेटभित्र ५ गोल गरेको थियो । यही क्रममा डियानीले ह्याट्रिक पनि पुरा गरिन् । यसपछि पानामाले २ गोल थपेर अन्तर ५–३ मा खुम्च्याएको थियो । तर, पानामाले फ्रान्सलाई जित्नबाट रोक्न सकेन ।

स्विडेनको तेस्रो जित

यस्तै यही समूहबाट पहिल्यै अन्तिम १६ मा पुगको स्विडेनले लगातार तेस्रो जित हासिल गरेको छ । स्विडेनले अर्जेन्टिनालाई २–० ले हराएको थियो । जारी प्रतियोगितामा समूहमा तीनै खेल जित्ने टोली तीन वटा रहेका छन् । यसअघि जापान र इंग्ल्यान्डले पनि तीनै खेल जितेका थिए । अब आज हुने खेलमा कोलम्बियाले पनि जितेमा जारी प्रतियोगितामा लगातार तीन खेल जित्ने टोलीसँख्या ४ हुनेछ ।