इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादीलाई नेपाल ल्याइयो

0
Shares

काठमाडौँ।

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादी म्याग्दीका २७ वर्षीय प्रकाश बिकलाई मलेशियाबाट सोमबार नेपाल फिर्ता ल्याइएको छ ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएका बिकलाई नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले ईन्टरपोल मलेशियासँग समन्वयमा नेपाल ल्याइएको हो।

बिक वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको साइबर ब्यूरो भोटाहिटीबाट अनुरोध प्राप्त भएबमोजिम बिकविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा २०७८ माघ २४ गते ईन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएको थियो ।

बिकलाई आवश्यक कानुनी कारबाहीका लागि साइबर व्यूरो भोटाहिटीमा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।

पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाई भिडियो रेकर्ड गरेका थिए। त्यसपछि नग्न भिडियो, फोटोहरु सामाजिक सञ्जालमा अपलोड गर्ने, पीडितको आफन्तलाई पठाइदिने गरेका थिए।

पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि निजको नाममा फेक एकाउन्ट बनाई ती सामग्री पोर्न साइटमा समेत अपलोड गरी चरित्र हत्या गरेको प्रहरीले जानेको छ।