प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्दै छ ।

बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरू पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी आजकै बैठकमा गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीको कार्यावधि थप गर्ने प्रस्ताव सदनमा पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राइले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्