निर्देशक डा. पौडेललाई तत्काल निलम्बन गर्न माग



काठमाडौं । वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेल राजनैतिक पार्टीको संगठित सदस्य र पार्टी सम्बद्ध जनसंगठनमा महासचिव पदमा क्रियाशील रहेको भन्दै उहाँलाई तत्काल निलम्बन गरी कारबाही गर्न माग गरिएको छ ।

गत वर्षको फागुन ५ गते निर्देशक पदमा नियुक्त भएका डा. पौडेललाई तत्काल निलम्बन गर्न माग गर्दै वीरका कर्मचारीहरूले २ महिनाअघि जेठ १३ गते प्रधानमन्त्री, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मुख्य सचिव, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयमा पत्र दर्ता हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (चिविराप) वीर अस्पतालको ऐन २०६३ को दफा २० तथा चिविराप्र बैठक सञ्चालन, पदाधिकारीको काम कर्तव्य र अधिकार एवं पारिश्रमिक र सुविधासम्बन्धी नियमावली २०६४ को नियम ११ मा वीर अस्पतालको प्रशासकीय प्रमुखको रूपमा निर्देशक रहने व्यवस्था छ ।

त्यसै गरी वीर अस्पतालको निर्देशक प्रतिष्ठानमा कम्तीमा सहप्राध्यापक वा सोसरह पदमा कार्यरत चिकित्सकमध्येबाट नियुक्त हुने व्यवस्था छ । वीर अस्पतालका निर्देशक डा. पौडेल सहप्राध्यापक तथा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन दशांै तहमा नेपाल सरकार स्वास्थ्य सेवाका कर्मचारी हुनुहुन्छ । साथसाथै उहाँ नेकपा (एमाले)को संगठित सदस्य तथा जनसंगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको महासचिव पदमा पनि कार्यरत हनुहुन्छ । सो जनसङ्गठन एमालेको संशोधनसहितको विधान २०४९ को धारा ९१ अनुसार गठन भएको जनसंगठन हो । विधानको धारा ९१ मा भनिएको छ– ‘जनसङ्गठनले पार्टीको घोषित वैचारिक तथा नीतिगत मार्गदर्शनमा परिचालित हुने छ र उनीहरूले पार्टीको नीतिअनुरूप परिचालित हुने छ ।’

कर्मचारीहरूले दर्ता गराएको पत्रमा एमालेको विधानको यही धारा ९१ लाई उल्लेख गर्दै निज निर्देशक डा. पौडेल वीर अस्पतालको निर्देशक पदमा बस्न अयोग्य भएको दाबी गरिएको छ ।

कर्मचारीको यस्तो उजुरीपछि निर्वाचन आययोगले एमाले पार्टी र स्वास्थ्य मन्त्रालयसँग डा.पौडेलको बारेमा जानकारी मागेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको वीरका कर्मचारीहरूको दाबी छ । वीर अस्पतालले हाल निर्देशकको रूपमा कार्यरत डा. पौडेल १० औं तहका अर्थोपेडिक सर्जन रहेको भन्ने जवाफ पठाएको छ । स्वास्थ्य मन्त्रालयको जवाफ गोप्य राखिएको छ भने एमालेले अस्पष्ट जवाफ पठाएको छ ।

वीर अस्पताल उजुरीकर्ता कर्मचारीले एमालेको आधिकारिक वेभसाइटमा रहेको उहाँको फोटोसहितको नामलाई उहाँ एमालेको संगठित सदस्य रहेको प्रमाणस्वरूप पुनः निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्वास्थ्य मन्त्रालयसमक्ष पेस गरेको वीर अस्पतालका कर्मचारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्