राप्रपाको कार्यालय भत्काउँदै कामपा : बल प्रयोग गरे कानुनी उपचारमा जाने राप्रपाको चेतावनी

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउने भएको छ । महानगरले उक्त कार्यालय एक त नक्सा पास नगरिकनै बनाएको र अर्को विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि रहेको भन्दै महानगरले शुक्रवार माइकिङ गरी कार्यालय खाली गर्न तीन दिनको समय दिएको थियो । उक्त समय आज पूरा हुँदैछ ।

यसअघि गत वर्ष असोज १३ गते पनि कामपाले कार्यालय हटाउनुपर्ने भन्दै सूचना टाँस गरेको थियो । त्यसबेला कार्यालय हटाउन सफल नभएपछि शुक्रवारबाट पुनः प्रक्रिया अघि बढाइएको जानकारी दिँदै कामपा प्रहरीबल प्रमुख राजुनाथ पाण्डेले भन्नुभयो– ‘आज सोमबारसम्म हेर्छौं, त्यसबेलासम्म पनि राप्रपाले कार्यालय हटाउने विषयमा चासो नदेखाए हामी आफैं हटाउने छौं ।’ कामपाले ‘राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहनुभएका पदाधिकारीज्यूहरू, यो कार्यालयलाई आगामी सोमबारभित्र हटाई खाली गराइदिनुहुन काठमाडौं महानगरपालिका हार्दिक अनुरोध गर्दछ’ भन्दै माइकिङ जारी राखेको छ ।

कामपाका अनुसार धुम्बाराहीस्थित उक्त भवन स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार नक्सा पास नगरी निर्माण गरेको देखिएको छ । साथै विद्युत् नियमावली २०५० को नियम ५० को अनुसूची १३ मा बिजुलीको तारदेखि घरसम्मको न्यूनतम दूरी कायम नगरी विद्युत् प्रशारण लाइनमुनि नै भवन निर्माण गरेकोले कामपाले उक्त भवन भत्काउन लागेको हो । कामपा शहरी व्यवस्थापन विभाग प्रमुख सुरज शाक्यले भन्नुभयो– ‘एक त नक्सा पास भएको देखिँदैन, अर्को धरापजस्तो हाइटेन्सन लाइनमुनि भवन रहेको छ । हाइटेन्सन लाइनमुनि भवन रहेको कारण महानगर आफंैले टेकुस्थित जग्गा एकीकरण आयोजनाहरू र मिसिल शाखा रहेको भवन भत्काउने तयारी गरेको अवस्थामा नियमविपरीत निर्माण भएको राप्रपाको भवन नभत्काउने भन्ने त हुँदैहँुदैन ।’

राप्रपाका मुख्य सचिव केदारबहादुर अधिकारीले भने लिखित पत्र उपलब्ध नगराई कार्यालय भवन खाली गराउन नमिल्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘हचुवाको भरमा मुलुकको ठुलो पार्टीको भवन भत्काउने विषय सामान्य मानिँदैन ।’ उहाँले केन्द्रीय कार्यालय सार्वजनिक सम्पत्ति भएको जिकिर गर्दै भन्नुभयो– ‘हचुवाको भरमा बल प्रयोग गरे कानुनी उपचारमा जान्छौं ।’

दिलविकास राजभण्डारीले आफ्नी पत्नी शशीकला राजभण्डारीको स्मृतिमा तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापाको कार्यकालमा उक्त भवन बनाइ दिनुभएको हो । १२ आना जग्गामा बनेको उक्त भवन ६ हजार ५ सय वर्गफिटमा फैलिएको छ । स्रोतका अनुसार सो भवन राप्रपाको नाममा नामसारी भएको छैन । राजभण्डारीसँग पटकपटक पार्टीको नाममा घर नामसारी गर्न आग्रह गर्दा पनि कार्यान्वयन हुन नसकेको राप्रपाका एक नेताको भनाइ छ ।

राप्रपाका मुख्य सचिव अधिकारीले केही वर्षअघि दस्तुर बुझाएर नक्सा पासको प्रक्रियामा पुग्दा समेत वडा कार्यालयले बेवास्ता गरेको दाबी गर्नुभयो । तर, कामपा प्रहरी प्रमुख पाण्डेले भने राप्रपाले अहिलेसम्म कुनै पनि प्रक्रिया अघि नबढाएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘प्रक्रिया अघि बढाएको भए हामीले किन कारबाही गर्नुपथ्र्यो, कुनै पनि आधार नभएपछि कारबाही प्रक्रिया अघि बढाएका हौं ।’

शहरी व्यवस्थापन विभागका निर्देशक शाक्यले कुनै पनि प्रक्रिया पूरा नगरेको कारण भत्काउन आग्रह गर्दै माइकिङ गरेको दाबी गर्दै भन्नुभयो– ‘राप्रपाले आफ्नो नाममा नभएको भवनको कसरी नक्सा पास गर्ने प्रक्रियामा गयो भन्ने विषयले थप अन्योल बनाएको छ ।’

उता राप्रपा नेता सुरेश आचार्यले सामाजिक सञ्जालमा विगत लामो समयदेखि सञ्चालनमा नरहेको धुम्बाराहीको हाइटेन्सन लाइन तलको जग्गामा बालेन प्रहरीको आँखा किन लागेको हो बुझ्न नसकिएको उल्लेख गर्दै लेख्नुभएको छ– ‘न त्यो हाइटेन्सन लाइनमुनिको जग्गा सरकारी हो, नत ऐलानी नै हो, न नेविप्राले मुआब्जा दिएर अधिग्रहण गरेको हो, नत महानगरपालिका अन्तर्गतको सार्वजनिक जमिन नै हो ।’

उहाँले प्रतिप्रश्न गर्नुभएको छ– ‘राप्रपाका देशभरका कार्यकर्ता र शुभचिन्तकहरूले चन्दा उठाएर बनाएको राप्रपाको केन्द्रीय कार्यालयमाथि कसैको बहकावमा बालेनले डोजर चलाएमा त्यसले गम्भीर नतिजा उत्पन्न गर्ने निश्चित छ । अरिंगालको गोलोमा ढुंगा हान्दा वागमती किनारामा महानगर प्रहरीले के भोग्यो ?’ उहाँले भवन भत्काउने विषयमा १० वटा बुँदागत टिप्पणी स्मरण गराउँदै लेख्नुभएको छ– ‘सर्वप्रथम मन्त्रिपरिषद्को पूर्वस्वीकृति लिनुपर्छ, किनभने राप्रपा संवैधानिक राजनीतिक पार्टी भएकोले त्यो संवैधानिक अंग हो । बालेन प्रशासनले सार्वजनिक रूपमा सडकमा माइकिङ गरेर कसैको घर भत्काउनु विधिको शासनविपरीत कुरा हो ।’ यदि, स्थानीय तहको क्षेत्राधिकारमा रहेर राप्रपाको भवन भत्काउने निर्णय महानगरपालिकाको बोर्डले गरेको हो भने अधिकारसम्पन्न व्यक्तिको हस्ताक्षरसहितको लिखित जानकारी विधिसम्मत तरिकाले दिनुपर्ने धारणा राख्दै उहाँले भन्नुभएको छ– ‘राप्रपा सचिवालयलाई सोसम्बन्धी लिखित सूचना हालसम्म पनि दिएको छैन । लिखित सूचना विधिसम्मत तरिकाले नदिई बलजफ्ती कसैको घर वा सम्पत्तिको नोक्सानी गर्नु गैरकानुनी कार्य हुनेछ ।’ उहाँले वडा समिति वा वडा अध्यक्षलाई समेत राप्रपाको भवनमाथि डोजर चलाउनेबारे कुनै जानकारी नदिएको उल्लेख गर्नुभएको छ ।

राप्रपा नेता सुरेश आचार्यले राप्रपा कार्यालयमात्र नभई सो क्षेत्रमा मात्रै १८ वटाभन्दा बढी भवन मृत (चालू नरहेको) हाइटेन्सन लाइनमुनि रहेकाले राप्रपाको मात्रै खाली गराउने कुरा उपयुक्त नभएको र साथै ती सबै घरहरूलाई उठीबास लगाउने कुरा पनि मान्य नहुने बताउनुभयो । उहाँले कानुनसम्मत तरिकाले कामपाले आफ्ना कार्यहरूलाई अघि बढाएमा राप्रपा जस्तो राष्ट्रियस्तरको राजनीतिक दलले समर्थन र सहयोग नगर्ने भन्ने प्रश्नै नठ्ने भन्दै कामपालाई कानुनसम्मत ढंगले अघि बढ्न सुझाव पनि दिनुभएको छ ।