साउदीमा खेलाडी पुग्दा गार्डिओलालाई चिन्ता



लन्डन, (एजेन्सी) । साउदी प्रो लिगको वित्तीय प्रभावले खेलाडी ट्रान्सफरको लागि बजार परिवर्तन भएको म्यानचेस्ट सिटीका मेनेजर पेप गार्डिओलाले बताएका छन् । साउदी प्रो लिगको ठूलो लगानीले युरोपका ठूल्ठूला क्लबहरुलाई समेत चुनौती दिइरहेको गार्डिओलाको प्रतिक्रिया छ । यसले भविष्यमा हुने प्रभावको लागि युरोपका क्लबहरु सचेत हुन पनि जरुरी भएको उनको भनाइ छ ।

पोर्चुगल स्टार क्रिस्टियानो रोनाल्डो गत डिसेम्बरमा साउदी अरेबियामा पुगेपछि लिगले केही ठूला नामका खेलाडीलाई पनि आकर्षित गरिरहेको छ । रोनाल्डोकै सिको गर्दै सिटीका खेलाडी रियाद माहरेज अल अहलीसँग आबद्ध भएका छन् ।

गार्डिओलाले भने—साउदी अरेबियाले बजार परिवर्तन गरेको छ । जब क्रिस्टियानो रोनाल्डो केही महिना अघि साउदी जाँदा उनी एक्लै थिए । कोही पनि शीर्ष खेलाडीले यस्तो सोचेका पनि थिएनन् । तर, अहिले साउदी लिगमा ठूल्ठूला खेलाडी खेल्न चाहेका छन् । भविष्यमा यो संख्या बढ्न सक्नेछ । त्यसैले क्लबहरु यस विषयमा सोच्नु पर्छ र सचेत हुन जरुरी छ । हाम्रा खेलाडी रियादलाई आकर्षित रकमको प्रस्ताव आएको थियो । हामीले उनलाई यस्तो नगर पनि भन्न सकेनौ ।

सिटीले माहरेजलाई ३० मिलियन पाउन्डमा बेच्न सहमति भएको थियो । बायर्न म्युनिखका साडियो मानेले अल नासरबाट प्रस्ताव आएको बताएका छन् । बालन डिअर विजेता करिम बेन्जामा समेत साउदीमा पुगिसकेका छन् । उनी रोनाल्डोकै पथ पछ्याउँदै साउदी पुगेका हुन् ।
माने पनि साउदीतिर जान सक्ने

जर्मन बुन्डेसलिगाको शीर्ष क्लब बायर्न म्युनिखका खेलाडी साडियो माने साउदी लिगमा जान सक्ने संभावना रहेको छ । उनलाई साउदी प्रो लिग टोली अल नासरबाट आकर्षित प्रस्ताव आएको उनले बताए । कावासाकी फ्रोन्टेलसँगको खेलमा उनको टोलीमा माने सम्मलित भएका छैनन् । बायर्नले एक वक्तव्यमा बतायो—साडियो माने संभवत साउदी लिगमा जान सक्नेछन् ।

माने गत सिजनमा मात्रै बायर्नमा आबद्ध भएका थिए । उनलाई तीन वर्षका लागि बायर्नले सम्झौता गरेको हो । उनले टोलीका लागि ३८ खेल खेल्दा १२ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्