‘बाघ संरक्षणमा युवा पुस्ताले नेतृत्व लिनपर्छ’

0
Shares

काठमाडौं।

वरिष्ठ पत्रकार रामकृष्ण रग्मीले बाघ नभइ वातावण संरक्षणको लक्ष हासिल हुन नसक्ने भन्दै बाघ जोगाउने अभियानको नेतृत्व अवको युवा पुस्ताले लिनपर्ने आवश्यकता औंल्याए । लैण्ड आवर फ्युचर संस्थाले शनिबार बालकुमारीस्थित स्कीम्स कलेजमा आयोजना गरेको रिफ्लेक्सन्स अन दि बुक ‘नेपाल टाइगर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बाघ जोगाउने अभियानको नेतृत्व युवा पुस्ताले लिनुपर्नेमा जोड दिएका हुन् ।

२५ वर्षअघि प्रकाशित बाघसम्बन्धी पुस्तक नेपाल टाइगरका सह लेखक तथा वरिष्ठ पत्रकार रामकृष्ण रग्मीले जलवायु परिवर्तन र वन्यजन्तु संरक्षण एक अर्कासंग अन्योन्याश्रित रुपले सम्बद्ध रहेको जिकिर गर्दै भने– ‘साधारण मानिसलाई बाघ संरक्षणको महत्व बुझाउन नसकेसम्म बाघको संरक्षण प्रभावकारी रुपमा गर्न सम्भव हुँदैन । पत्रकारहरुले पनि बाघ संरक्षणको कार्यलाई अघि बढाउन वैज्ञानिक तथा बाघ विशेषज्ञहरुलाई झक्झकाउन आवश्यक छ।’

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि पूर्व विज्ञानमन्त्री गणेश शाहले जलवायु परिवर्तन, जैविक विविधता संरक्षण र फोहोर मैला व्यवस्थापन आजको आधुनिक युगका तीन प्रमुख चुनौति भएको कुरा औंल्याउंदै जलवायु परिवर्तनलाई न्युनिकरण गर्न पनि बाघ संरक्षणमा जोड दिनुपर्ने बताए ।
उनले नेपालको दक्षिणी भागमा स्थित चुरेक्षेत्रको उचित संरक्षण नभए सम्पूर्ण तराइ र विहारमै पानीको अभाव हुने कुरा चर्चामा आइरहँदा पानीको स्रोत संरक्षणको एउटा महत्वपूर्ण भूमिकामा बाघ पनि रहेको बताए।

कार्यक्रममा विश्व वन्यजन्तु संरक्षण (डब्लुडब्लुएफ ) को नेपालस्थित राष्ट्रिय प्रतिनिधि घनश्याम गुरुङले राजनैतिक इच्छाशक्ति, सेनाको कडा सुक्षा, प्रहरीको गुप्तचर संयन्त्र, सामुदायिक संलग्नतामा संचालित संरक्षण कार्यक्रम तथा दातृ संस्थाहरुको सहयोगले बाघ चोरी शिकारी शून्यमा झार्न सम्भव भएको र बाघ संरक्षणमा नेपाललाई अभूतपूर्व सफलता हासिल हुनसकेको बताए ।

पूर्व वातावरणमन्त्री तथा लैण्ड आवर फ्युचरका सल्लाहकार सुनील मानन्धरले भने– ‘नेपाल टाइगर पुस्तकका लेखकद्वय रामकृष्ण रेग्मी र शिरीषवल्लभ प्रधानले २५ वर्ष अघिको परिस्थितिमा जसरी बाघको बासस्थान नष्ट हुन थाले र चोरी शिकारीका घटना बढे, त्यसअनुरुप बाघ पनि डाइनासोर जस्तै लोप भएर जाने चिन्ता व्यक्त गर्दै बाघको संरक्षणमा गम्भीर भएर लाग्नपर्ने आवश्यकता औंल्याएका थिए। अहिले पनि बाघ संरक्षणमा त्यतिकै गम्भीर भएर लाग्नु जरुरी छ ।’

सो अवसरमा पत्रकार तथा पुस्तकका सहलेखक शिरीषवल्लभ प्रधानले हालैका दिनहरुमा बाघ र मानिसवीच द्वन्द्व घटना बढेकोमा चिन्ता व्यक्त गर्दै बाघ संरक्षणमा सीमापारीका देशसंग सहकार्य गर्नुका साथै समुदायको घनिष्ठ सहकार्यमा बाघ संरक्षणको अभियानलाई अगाडि लानुपर्ने आवश्यकता औंल्याए ।
प्रयास गोलेले संचालन गरेको सो अन्तक्र्रिया कार्यक्रममा ‘बाघ गणना– २०२२’ मा संलग्न रोशन चौधरीले बाघ गणनाका अवसरमा जंगलमा विताएका करीव दुई महिनाको रोमान्चकारी अनुभव साटेका थिए भने लैण्ड आवर फ्यूचरका सहनिर्देशक शिक्षा खनालले नेपालमा बाघ संरक्षणबारे कार्यपत्र प्रस्तुत गरेका थिए भने अर्का सहनिर्देशक रोमन प्रजापतिले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।