पीडामा ५ हजार व्यवसायी

पीडितलाई क्षतिपूर्ति-मुआब्जा दिन कांग्रेसको माग

0
Shares

हेटौंडा ।

डिभिजन सडक हेटौंडाद्वारा प्रकाशित सूचनाविरुद्ध स्थानीय पीडित पक्षलाई क्षतिपूर्ति र मुआब्जा दिएरमात्र पीडितका घरटहरा भत्काउन आग्रह गरिएको छ ।

घरटहरा नभत्काउन र सडक बिस्तार गरे उचित मुआब्जा र क्षतिपूर्ति व्यवस्था गरेरमात्र बाटो बिस्तार गर्ने आदेश माग गरी दिइएको निवेदनउपर सर्वोच्च अदालतको अन्तिम फैसलालाई उच्च सम्मान गर्दै सडक बिस्तारसंगै जनताको स्थायी वा अस्थायी संरचना नष्ट हुन गए सोको उचित क्षतिपूर्ति तथा मुआब्जा उपलब्ध गराउनु सम्पत्तिसम्बन्धि हक हो भन्ने दृष्टिसहित नेपाली कांग्रेस मकवानपुरले उक्त माग गरेको हो । पार्टी प्रवक्ता अर्जुनप्रसाद चौलागाईंले जारी गरेको विज्ञप्तिमा उक्त माग गरिएको छ ।

विश्वव्यापी सडकसञ्जालमा जोडिन पुगेको महेन्द्र राजमार्गको केही खण्ड वागमती प्रदेशको राजधानी हेटौंडा–१५, रातोमाटेदेखि राप्तिपुलसम्म सडक बिस्तारका लागि सडक ऐन, २०३१ अनुसार बिस्तार कार्य प्रारम्भ गर्नका लागि सडकका दायाँ बायाँ २५ मिटर सडकको क्षेत्राधिकार कायम गरी बिस्तार गर्ने प्रयोजनका लागि विगत वर्षमा सडक विभागले पटकपटक ३५ दिने सूचना जारी गरेको र हालको सडक ऐन, २०२१ अनुसार पछिल्लो सूचना प्रकाशन गरी निर्धारित क्षेत्रभित्र पर्ने घरटहरा हटाउन अनुरोध गरिएको छ ।

‘प्रादेशिक संरचनलाई संस्थागत गर्दै संघीय गणतान्त्रिक नेपालको संविधान, २०७२ जारी भएपश्चात नेपाल राज्य ७ वटा प्रदेशमा विभाजन भइ संविधानअनुसार जननिर्वाचित प्रादेशिक सरकार गठन भएको दोस्रो कार्यकालमा अभ्यासरत छ,’ कांग्रेसको विज्ञप्तिमा नेपाल प्रादेशिक संरचनामा प्रवेशपश्चात परम्परागत शहरीकरण भएका क्षेत्रमा यातायात पूर्वाधारका समस्या टड्कारोरुपमा देखापर्नुले शहरीकरणलाई आधुनिक र वैज्ञानिक रुपान्तरण गराउनु राज्यको प्रमुख दायित्व र चुनौती बनेर आएको देखिने बताइएको छ ।

शहरीकरणलाई व्यवस्थित बनाउँदै सडक यातायातलाई विश्वव्यापी सञ्जालमा जोड्दै नेपालको सडक पूर्वाधारलाई विकसित देशसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता अभिवृद्धिका लागि राज्यउन्मुख भएको देखिने कांग्रेसले भनेको छ ।

हेटौंडाको मुख्य बजार क्षेत्रका घरहरु बिना मुआब्जा भत्काउन नदिन उद्योगी, व्यावसायी र घरधनीले शनिबार शक्तिप्रदर्शन गरेका छन् । हेटौंडाको रातोमाटेदेखि चौकीटोल सिरान क्षेत्र र राप्तिरोड क्षेत्रका अधिकांश घरधनी, उद्योगी, व्यवसायीहरु, राजनीतिक दलका नेतासहितले हेटौंडाको मुख्य बजार क्षेत्रमा शनिबार नाराजुलुस गर्दै शक्ति प्रदर्शन गरेका हुन् ।

लालपुर्जा भएका घरजग्गाको क्षतिपूर्ति दिएरमात्र सडक बिस्तारका लागि मकवानपुर उद्योग वाणिज्य संघ र हेटौंडा बसोबास संरक्षण समितिले माग गरेका छन् । हेटौंडाको बुद्धचोकमा जम्मा भएका उद्योगी/व्यवसायी र घरधनीले बिनामुआब्जा घर भत्काए त्यसको प्रतिकारमा उत्रने चेतावनी दिए । पूर्वपश्चिम राजमार्गअन्तर्गत पथलैया–नारायणगढ सडकखण्ड बिस्तारको विषयले यतिबेला हेटौंडा तातिएको छ । हरेक दिन सडक बिस्तारको विषयमा कुनै न कुनै मुद्धाले चर्चा पाउने गरेको छ ।

सडक डिभिजन कार्यालयले हेटौंडाको मुख्य बजार क्षेत्रमा सडक दायाँ बायाँ २५ गज सडक बिस्तार गर्ने भएपछि घरधनी र व्यवसायीले लालपुर्जा आफूहरुसँग भएकाले त्यसको मुआब्जा दिएरमात्र भत्काउन दबाब दिएका हुन् ।

हरेक वर्ष हेटौंडा उपमहानगरपालिकालाई कर तिर्दै आएको र लालपुर्जामा उल्लेख भएको जग्गा बिनाक्षतिपूर्ति भत्काउन नपाइने मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्णकुमार गुप्ताअग्रवालले बताए । सर्वोच्च अदालतको प्रष्ट फैसला हुँदा हुँदै पनि सडकको प्रस्तुति अदालतको फैसलाको अवहेलना हुने देखिएको बताउँदै उनले यसले कानुनी राज्य र लोकतन्त्रमा जनता सर्वोपरि हुने तथ्यलाई खिल्ली उडाएको आभाष भएको बताए ।

तर, मउवा संघले व्यवसायीका पक्षमा वकालत नगरेको गुनासो व्यवसायीले गरेका छन् । १६ गते नजिकिंदै छ । तर, छाता संघहरु भने व्यवसायीका मागमा सुस्ताएको आभाष भएको पीडित व्यवसायीले गुनासो गरेका छन् । उनीहरुले मउवा संघबाट आफूहरुलाई स्थानान्तरणको त कुरै छाडौं आइपर्ने समस्याबारे बोलिदिने फुर्सद् नभएको आरोप लगाएका छन् ।

उनीहरुले आफूहरु विस्थापित हुँदा यसको असर र उब्जने समस्याबारे चासो नलिएको गुनासो पोखे । हेटौंडाका धेरै व्यवसायी सडक बिस्तारको मारमा पर्ने देखिन्छ । ‘चाडपर्व नजिकिंदै छ, सामान हाल्नुपर्छ, लगानी फस्यो भने मर्नु न बाँच्नुको अवस्था हुन्छ,’ व्यवसायीको दुःखेसो छ । उनीहरुले अब सडक बिस्तारमा कसैले रोकेर नरोकिने अवस्थामा पुगिसकेको बताउँदै घरधनीभन्दा बढी भाडामा व्यवसाय गर्नेहरु बढी मारमा परेको गुनासो पोखे ।

मुआब्जा विवाद र व्यवसायी व्यवस्थापनको विषयमा बजार क्षेत्रका नागरिक तथा व्यवसायी सडक बिस्तारविरुद्ध संघर्षमा छन् भने ३५ दिने सूचना जारी गरेको डिभिजन सडक कार्यालय सडक बिस्तारको लागि साउन १५ कुरेर बसेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बजार क्षेत्रको मानवबस्तीका कारण विगतदेखि नै सडक बिस्तारमा समस्या हुँदै आएको छ । बजार क्षेत्रका कारण पथलैया–नारायणगढ सडकखण्ड बिस्तार हुन सकेको छैन । दक्षिणतर्फ हेटौंडाको रातोमाटेदेखि बुद्धचोक र बुद्धचोकबाट पश्चिम राप्तिपुलसम्म घरटहरा हटाउन नसक्दा सडक बिस्तारमा बाधा पुग्दै आएको सडकका कर्मचारी बताउँछन् ।

२५ मिटर सडक बिस्तार हुँदा १ हजार ८ सय घरधुरी प्रभावित हुनेछन् भने ५ हजार भन्दा बढी व्यवसायी प्रभावित हुनेछन् । यसबाट १५ अर्ब लगानी क्षति, २५ हजार जना आश्रित मानिसको रोजीरोटी खोसिने, १५ हजारको स्वरोजगार वा रोजगारी गुम्ने अवस्था सिर्जना हुने देखिन्छ । कर्जा तिर्न नसक्ने अवस्थामा रहेका व्यवसायी करिब २ हजार छन् भने बैंक तथा वित्तीय संस्था र अन्य लगानी गर्ने व्यवसायीको करिब १५ अर्ब नोक्सान हुने तथ्यांक छ ।