गौर हत्याकाण्ड आन्दोलनमा रौतहटमा माओवादी केन्द्र विभाजित



गौर । गौर हत्याकाण्डको छानबिनको मागलाई लिएर रौतहट जिल्लामा नेकपा माओवादी केन्द्र विभाजित भएको छ ।

उक्त हत्याकाण्डका विषयलाई लिएर पछिल्लो समयमा जिल्लामा आन्दोलन र जुलुस जारी रहँदा रौतहटमा भने माओवादी केन्द्र विभाजित भएको हो ।

जिल्लाको एउटा समूहले सत्तारूढ ६ दलीय मोर्चामा बसेर आन्दोलन गरे पछि जिल्ला इञ्चार्ज समीर भट्टराईले सो आन्दोलनमा आफनो पार्टीको संलग्नता नभएको प्रस्टाएका छन् ।

गौरमा केही दिनअघि माओवादी केन्द्रको ब्यानरसहित आन्दोलन शुरू भएपछि त्यसमा आफनो पार्टीको संलग्नता नरहेको उनको भनाइ छ ।

‘आज भन्दा १७ वर्ष अगाडि भएको अमानवीय र क्रुर गौर हत्याकाण्डको विषयलाई लिएर केही दिनदेखि रौतहटको गौरमा भईरहेको ६ दलीय संघर्ष समितिको नाममा धर्ना, जुलुस, विज्ञप्ति र ज्ञापनपत्रको दोहोरी चलिरहेको यो आन्दोलनमा हाम्रो पार्टीको कुनै प्रकारको संलग्नता नरहेको जानकारी गराउँछु,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गौर हत्याकाण्ड माओवादी केन्द्रको आन्दोलनले शान्तिपूर्ण राजनीतिक बाटो समातेपछि सबैभन्दा ठूलो कार्यकर्ताको क्षति व्यहोरेको अमानवीय र निन्दनीय घटना भएकाले दोषीलाई हदैसम्मको कानुनी कार्बाही हुनुपर्छ भन्ने कुरा प्रति हाम्रो पार्र्टी दृढ रहेको कुरा जानकारी गराउन चाहान्छौं, साथै आम जनता, सञ्चारकर्मी तथा पार्टी पंक्तिका मित्रहरूलाई भ्रम पार्ने र भ्रमित हुने कार्यप्रति सतर्क रहनु हार्दिक अनुरोध गर्दछ ।’

आम जनता पार्टीले गौर हत्याकाण्डको दोषीलाई कारबाही गर्न माग गर्दै साउन पहिलो साता प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रभु साहको नेतृत्वमा सो आन्दोलन भएपछि सत्तारूढ दलले त्यसको काउन्टरमा ‘प्रभु साहलाई पक्राउ गर्नुपर्ने’ भन्दै आन्दोलन शुरु गरेको थियो । ६ दलीय सत्तारूढ गठबन्धनले गरेको साहविरूद्दको आन्दोलनमा माओवादी केन्द्रको पनि ब्यानर राखिएपछि भट्टराईले सो आन्दोलनमा आफनो पार्टीको संलग्नता नभएको प्रष्टाएका हुन् ।

तर, सत्तारुढ गठबन्धनको आन्दोलनमा माओवादी केन्द्रको कुन तहका नेताहरू सहभागी छन् ? भन्ने उनले विज्ञप्तिमा भने खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्