सय किलो सुन तस्करी प्रकरण : अदुकियाको घरमा छापा



काठमाडौं । झण्डै सय किलो सुन काण्डमा संलग्न रहेको आशंकामा व्यापारी राकेश अदुकियाको कमलपोखरीस्थित घरमा बुधबार राजस्व अनुसन्धान विभागले प्रहरीको सहयोगमा छापा मारेको छ ।

हङकङबाट नेपाल आएर भारततर्फ तस्करी हुन लागेको उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि सिनामंगलबाट बरामद गरेको थियो ।

लामो समयदेखि नेपालमा बसेर सुनचाँदीको समेत कारोबार गर्दै आएका अदुकिया उक्त सुन नेपालबाट भारतसम्म पठाउने बिचौलियाको भूमिकामा रहेको आशंका गर्दै विभागको टोलीले प्रहरीको सहयोगमा उहाँको घरमा छापा मारेको एक प्रहरी अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

विभागको टोलीले अदुकियाको घरमा छापा मारे पनि घरबाट के के बरामद ग¥यो भन्ने विषयमा प्रहरी र विभागको टोलीले केही खुलाउन चाहेन ।

उक्त सुन काण्डमा अदुकियाको पनि संलग्नता रहेको आशंका विभागले गरेको र उनको बारेमा सूचना संकलन गर्ने काम विभागले गरेको जानकारी आफूले पाएको काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस विषयमा आफूलाई थप जानकारी नभएको बताउँदै एसएससी कार्कीले भन्नुभयो– ‘थप अनुसन्धान विभागले गरिरहेको होला ।’

विभागले उक्त सुन तस्करी प्रकरणमा अदुकियाको संलग्नताको बारेमा अनुसन्धान शुरू गरेपछि अदुकियाका छोरा रोहन अदुकिया साउन ५ गते बिहान नेपाल वायुसेवा निगमको उडान नम्बर २०५ बाट भारततर्फ भागेका थिए ।

रोहन दिल्ली भागेपछि राकेशले उक्त काण्डबाट जोगिन विभिन्न शक्ति केन्द्रमा धाएको भए पनि विभागको टोलीले भने बरामद गरिएको सुन भारतसम्म पु¥याउने जिम्मेवारी अदुकियाले पाएको सुराक पाएपछि अनुसन्धानलाई त्यसतर्फ मोडेको विभागका एक अधिकारीले जानकारी दिए ।

हङकङबाट चाँदीभित्र सुन राखेर नेपाल ल्याई सुन र चाँदी छुट्याएर नेपाली बजारमा सुनको आपूर्ति गर्दै आएका अदुकियाले चाँदीको मात्रै भन्सार तिर्ने गरेको विषयलाई समेत विभागले छानबिनको दायरामा ल्याउने काम विभागले गर्न लागेको बताइएको छ ।

चिनियाँ र भारतीय सुन तस्करको लगानीमा नेपाल आएको सुनको व्यवस्थापन गर्ने जिम्मा अदुकियाले लिएको निष्कर्ष पनि विभागको अनुसन्धान टोलीले निकालेको छ ।

अदुकियाको विगत ६ महिनादेखिको हङकङ, दुबई र भारत भ्रमण नै शंकास्पद रहेको पाएपछि विभागले उहाँको घरमा छापा मारेको हो । ६ महिनाको बीचमा अदुकियाले ती देशमा १५ पटकभन्दा बढी भ्रमण गरेको पनि विभागले जानकारी दिएको छ ।

आफ्नै घरमा सुन र चाँदी प्रशोधन गर्ने गरेको आरोप लागेका अदुकियाले चाँदीको मात्रै भन्सार तिरेर सुनको व्यापार गर्ने गरेको उहाँ निकट स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ । उक्त स्रोतले अदुकियाले आफ्नै घरमा सुन र चाँदी छुट्याउने केमिकलसहितको मेसिन राखेर उक्त अवैध धन्दा चलाउँदै आएको पनि दिएको छ ।

साउन २ गते हङकङबाट रेडी ट्रेड लिंकको नाममा ब्रेक सुभित्र लुकाएर ल्याएको १ सय किलो सुन विमानस्थलस्थित भन्सार कार्यालयबाट पास भएर बिहिरिएपछि विभागको टोलीले पक्राउ गरेको थियो ।

उक्त सुन तस्करी काण्डमा संलग्न रहेका एक भारतीय, एक चिनियाँ र १५ जना नेपालीलाई विभागको टोलीले पक्राउ गरी अनुसन्धान शुरू गरेको छ । यसै शिलशिलामा बुधबार विभागको टोलीले सुन तस्करी काण्डमा संलग्न रहेको भन्दै सुरेन्द्र तामाङलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्