सुन काण्डले संसदमा हंगामा- साउन १५ सम्म संसद् बैठक स्थगित, उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

गृहमन्त्रीको राजीनामा माग



काठमाडौं । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै सय किलो सुन काण्डको विषयलाई लिएर प्रतिनिधि सभामा हंगामा मच्चिएको छ । बुधबारको बैठकमा सुन काण्डको विषयलाई लिएर सांसदहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै हंगामा मच्चाएपछि प्रतिनिधिसभाको बैठक साउन १५ गते बस्नेगरी स्थगित भएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै अधिकांश सांसदहरूले बैठक अवरोध गरेपछि बैठक साउन १५ गतेसम्मका लागि स्थगित गरिएको हो ।

गत साउन ३ गते हङकङबाट काठमाडौं आएको क्याथे प्यासिफिकको उडानमा एयर कार्गोमार्फत स्कुटरको ब्रेक सुमा लुकाएर ल्याएको एक क्विन्टल सुन विमानस्थलस्थित भन्सार गेटबाट राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । सोही सुन काण्डलाई लिएर सांसदहरूले प्रतिनिधिसभामा हंगामा गरेपछि संसद् बैठक स्थगित गरिएको हो । उक्त प्रकरणमा सरकाले १० जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान भइरहेको बताएको छ । तर, प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सहित राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उक्त अवैध सुन तस्कर प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका छन् ।

संसद् बैठक शुरू हुनेबित्तिकै एमाले सांसदहरू बसेको ठाउँबाट उठेर सदन अवरुद्ध गर्न खोजेलगत्तै सभामुख देवराज घिमिरेले प्रमुख सचेतक पदम गिरीलाई बोल्ने समय दिनुभएको थियो । गिरीले सुन प्रकरणबारे छानबिन गर्न माग गर्दै उक्त प्रकरणमा नाम जोडिएकाहरूलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो । सत्तापक्षकै दलका नेता कृष्णबहादुर महरा र उहाँका छोरामाथि छानबिन हुनुपर्ने माग राख्दै गिरीले प्रश्न गर्नुभयो– ‘ठूला माछा उम्कने, सानालाई खोजीखोजी कारबाही गर्ने ?’

पछिल्लो १ वर्षयता विमानस्थलको सुरक्षा व्यवस्था फितलो बनाइएको टिप्पणी गर्दै सचेतक गिरीले विमानस्थलबाट केही समयअघि मात्रै दुबईबाट ९ किलो सुन विद्युतीय चुरोटभित्र लुकाएर ल्याइएको थियो । विद्युतीय चुरोटभित्र लुकाइएको सुन माघ २९ गतेसम्म भन्सारभित्रै राखिएको र बाहिर ल्याउन कृष्णबहादुर महराका बाउछोराले धेरै पटक फोन गरेको कुरा बाहिर आएकोे आरोप लगाउनुभयो । उनीहरूले महराले पटक–पटक भन्सारका कर्मचारीलाई फोन गरेका प्रमाणहरू सार्वजनिक भए पनि उहाँलाई सरकारले जोगाउन खोजेको आरोप लगाएका छन् ।

१० दिनअधि राजस्वका महानिर्देशकलाई तस्करीको सुन आउँदै गरेको सूचना आएको बताउँदै गिरीले भन्नुभयो–‘राजस्वका डिजीलाई १० दिनअघि नै सूचना आउँछ भने प्रधानमन्त्रीलाई त्यो सूचना आयो कि आएन ? गृहमन्त्रीलाई त्यो सूचना थियो कि थिएन ? अर्थमन्त्रीलाई जानकारी थियो थिएन ? अवश्य थियो सभामुख महोदय । अर्थ र गृह मन्त्रालयका कर्मचारीको मात्र सेटिङले यत्रो क्विन्टलका क्विन्टल यसरी सुन तस्करी भएको छैन ।’ वैशाखमा दर्ता भएको कम्पनीले दुई तीन महिनाको अवधिमा ३३ पटक क्विन्टलका क्विन्टल समान भित्रिएको भन्दै त्यसको संरक्षण गर्ने काम प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीले गरेको आरोप लगाउँदै उहाँले गृहमन्त्रीको राजीनामा माग गर्नुभयो ।

प्रतिपक्षी सांसदहरूले मात्रै होइन, सत्ता पक्षकै सांसदहरूले समेत सुन काण्डदेखि ललिता निवास प्रकरणलगायतका भ्रष्टाचारजन्य गतिविधिमा सरकारले सदनमा जानकारी गराउनुपर्ने माग गरेका छन् । सत्ता गठबन्धनका सांसद रामहरि खतिवडाले संसद् बैठकमा भरियालाई पक्राउ गरेर मुख्य नाइकेलाई छाडेको भन्ने आरोप लागेको भन्दै यो विषयमा संसद्लाई सरकारले सत्य तथ्य जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका सांसद खतिवडाले भन्नुभयो– ‘सुन तस्कर होस् वा बालुवाटार जग्गा प्रकरण, भ्रष्टाचारसम्बन्धी सबै प्रकरणमा सरकारले के गर्दैछ । त्यसको यथार्थ जानकारी सदनलाई गराउनुपर्छ । यी सबै खालका भ्रष्टाचारजन्य गतिविधिमा सरकारले कडा कदम चाल्नुपर्छ । साथै सरकारसँग सदनलाई यथार्थ जानकारी गराउन पनि माग गर्दछु ।’

सांसद बैठकमा नेपालको अन्तर्राष्ट्रिय विमानस्थल पछिल्लो समय सुन भित्र्याउन ट्रान्जिट प्वाइन्ट जस्तै बन्न थालेको भन्दै सांसदहरूले आक्रोश पोखेका थिए । सुन काण्डका सन्दर्भमा प्रहरीले पक्राउ गरी अनुसन्धानको दायरामा राखेका भन्सार कार्यालयका कर्मचारीहरूलाई समेत दबाबमा राखेको र सरकारकै संरक्षणमा यी सबै गतिविधि भइरहेको एमालेको आरोप छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्विन्टलका क्विन्टल सुन भित्र्याउने सुन तस्करका नाइकेलाई सरकारले संरक्षण गरेको आरोप लगाउँदै सरकारले ट्याक्सी ड्राइभर र सुन बोक्ने भरियालाई समातेर मालिकको संरक्षण गरेको टिप्पणी गर्नुभयो । सरकारले विभिन्न भ्रष्टाचारका प्रकरणमा अलिअलि गर्न खोजेजस्तो गर्ने तर जरासम्म नपुग्ने गरेको भन्दै संसद बैठकमा भन्नुभयो– ‘जब यस्ता घटना आउँछन्, अनि कर्मचारीको सरुवा गरिन्छ ।’

संसद्भित्रै आमरण अनसन बस्ने घोषणा

बुधबारको संसद् बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले विमानस्थल भन्सारबाट १ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य नाइकेलाई पक्राउ नगरे संसद् भवनभित्रै आमरण अनसन बस्ने घोषणा गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले भन्नुभयो– ‘नेताहरू काठमाडौं बसेका बेला त्रिभुवन विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन आउँदाखेरी मुख्य अभियुक्तलाई पक्रन नसक्नु भनेको हामी संसद्मा रहेका सांसदहरू पनि दोषको भागीदार बन्नु हो । अहिले प्रधानमन्त्री बाहिर हुनुहुन्छ ।

बाहिर होउन्जेल त म पर्खिउँला । तर, यो चिजलाई गुपचुप पारेर बिचरा पहाडको गाउँको भरियालाई मात्र तस्करको फन्दामा पारेर जेलभित्र कुहाउने अभिप्रायले मुख्य नाइकेहरू भाग्छन्, दुईजना मन्त्री गृहमन्त्री र अर्थमन्त्री फेरि त्यही बिचरा भुजेललाई पक्रिएर मुख्य नाइकेलाई नपक्री बस्छु भनेर सोच्नुभएको छ भने म यो सदनमा घोषणा गर्न चाहन्छु, प्रधानमन्त्रीको आगमन पछाडि उहाँहरूले मुख्य नाइकेलाई पक्राउ गर्नुभएन भने यो सदनभित्र म आमरण अनसन बस्ने घोषणा गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्