डिभिजन वन कार्यालय म्याग्दीको प्रगति सार्वजनिक

0
Shares

म्याग्दी ।
डिभिजन वन कार्यालय म्याग्दीको हिजो (मङ्गलवार) गएको आर्थिक वर्षमा सञ्चालित योजना, बजेट र कार्यक्रमहरुको प्रगति विवरण सार्वजनिक भएको छ । डिभिजन वन कार्यालयद्वारा सदरमुकाम बेनीमा एक कार्यक्रमको आयोजना गरी प्रगति सार्वजनिक गरिएको हो ।
डिभिजन वन कार्यालय म्याग्दीले पुरस्कार वितरण समारोह तथा गत आर्थिक वर्ष २०७९-०८० को सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत वार्षिक प्रगति विवरण सार्वजनि गरेको जनाएको छ । गतवर्ष डिभिजन वन कार्यालयलाई प्रदेश र संघ सरकारमार्फत कुल चार करोड ४३ लाख रुपैयाँ बजेट प्राप्त भएकोमा ९९ दशमलव ४४ प्रतिशत वित्तीय प्रगति भएको छ ।
यसैगरी गतवर्ष डिभिजन वन कार्यालयको भौतिक प्रगतितर्फ कुल ७९ दशमलव ९४ प्रतिशत मात्रै भएको छ । कार्यालयमार्फत गएको वर्षमा म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण गाउँपालिका–६, घारस्थित घोडेपानीको वन क्षेत्रमा गुराँसपार्क र सोही वडाको पोखरेबगरस्थित रातोपानी कुण्डमा विश्रामस्थल निर्माण गरिएको निमित्त डिभिजनल वन अधिकृत मनोज रानाभाटले बताउनुभयो ।
त्यस्तै पकेट क्षेत्रमा जडिबुटी खेती विस्तार कार्यक्रमबाट बेनी नगरपालिका–३, भकिम्लीको मुसुङडोलेमा सतुवा र धवलागिरी गाउँपालिका–१, गूर्जामा अतिस र सेकदचिनी जातको जडिवुटीको खेती गरिएको छ । बेनी नगरपालिका–५, पुलाचौरस्थित सिभाको पाखो सामुदायिक वन उपभोक्ता समूहमा १.५ हेक्टर अतिक्रमित वन फिर्ता गरी एक हजार ६०० गोटा घाँस प्रजातिका बिरुवाहरु रोपिएको छ ।
बेनपा–१, रत्नेचौरको पहिरोग्रस्त कमेरे झ्याउले सामुदायिक वनमा ३० थान ग्याविन जाली लगाएर पर्खाल निर्माण, ३०० बाँस र ६०० गोटा अम्लिोसोको बिरुवाहरु रोपिएको छ ।
वन्यजन्तुलाई पानी पिउनका लागि एक पालिकामा एकवटा पोखरीका दरले जिल्लाको ६ वटा पालिकामा पोखरी निर्माण गरिएको निमित्त डिभिजनल वन अधिकृत रानाभाटले जानकारी दिनुभयो । कार्यक्रमको अवसरमा जिल्लाभर रहेका ३ सय १४ वटा सामुदायिक वनहरुमध्ये उत्कृष्ट तीन वटालाई पुरस्कृत गरिएको थियो ।
सामुदायिक वनहरुतर्फ उत्कृष्ट कार्यसम्पादन गर्नेहरुमा रघुगंगा गाउँपालिका–८, कुईनेमङ्गलेको कृष्ण तालाबन्दी सामुदायिक वन उपभोक्ता समूह प्रथम, अन्नपूर्ण–७, हिस्तानस्थित औल सामुदायिक वन उपभोक्ता समूह द्वितीय र धवलागिरि–३, मुनाको छेरपातल सामुदायिक वन तृतीय भएको छ । उत्कृष्ट वन समूहलाई क्रमशः नगद १० हजार, सातहजार र पाँचहजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
यसैबीच डिभिजन वन कार्यालयका गतिविधि, वन तथा वातावरण संरक्षणको क्षेत्रमा पत्रकारिताको माध्यमबाट प्रचारप्रसार गरी सहयोग पु¥याएको भन्दै कान्तिपुर राष्ट्रिय दैनिकका म्याग्दी जिल्ला संवाददाता घनश्याम खड्का र उत्कृष्ट कार्य गर्ने सव–डिभिजन वन कार्यालय दरबाङ फरेष्टर दिपक शेरचनलाई दोसल्ला ओढाई प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
पुरस्कृत हुने वन समूह तथा व्यक्तिलाई जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल र डिभिजन वन कार्यालय प्रमुख रानाभाटले पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै जिसस प्रमुख थापाले सामुदायिक वन क्षेत्रको संरक्षण र प्रवद्र्धनमा सरोकारवाला निकाय सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी पौडेलले वन, जङ्गल क्षेत्रको संरक्षण गर्नको लागि स्थानीय प्रशासनको तर्फदेखि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रम सहायक वन अधिकृतद्वय चन्द्रमणि सापकोटाको स्वागत र नरबहादुर क्षत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।