जुवाको खालबाट वडाअध्यक्ष पक्राउ



सुनसरी । जिल्लाको धरानमा जुवा खेल्दै गरेको अवस्थामा भोजपुरको आमचोक गाउँपालिका–६ का वडाअध्यक्ष पक्राउ परेका छन् ।

प्रहरीले वडाअध्यक्षसहित सहित ११ जनालाई जुवाको खालबाट पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानले सोमबार राति ११ बजे धरान उपमहानगरपालिका–१० विजयपुर अस्पतालअगाडिको केक प्यालेसबाट जुवा खेलिरहेको उनीहरूलाई पक्राउ गरेको हो ।

प्रकाउ पर्नेमा आमचोक गाउँपालिका–६ का वडाअध्यक्ष बमबहादुर बस्नेत पनि छन् । उनी नेकपा (माओवादी केन्द्र)बाट विजयी भएका हुन् ।

जुवाको खालबाट राजेन्द्र श्रेष्ठ, भरत थापा, विपिन गुरुङ, आशीषकुमार राई, अशोक राई, सागर राई, जसबहादुर राई, कुमार राई, कविराज राई र रोहित श्रेष्ठलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभु ढकालले बताए ।

पक्राउ परेका राजेन्द्र श्रेष्ठ आमचोककै वडा नम्बर–९ का पूर्व वडाअध्यक्ष बमबहादुर श्रेष्ठका हुन् । त्यस्तै अशोक राई आमचोककै लक्ष्मी मावि पाङ्चाका शिक्षक हुन् ।

पक्राउ परेका उनीहरुलाई मंगलबार म्याद थप गरेर कारबाही अघि बढाइएको पनि ढकालले बताए ।

यो घटना सोमबारको हो ।

 

प्रतिक्रिया दिनुहोस्