मणिपुरमा जातीय हिंसा : भारतभर मोदी विरोधी स्वर गुन्जियो

महिला अस्मितामाथि खेडवाड गरेको भन्दै भारतभर बिरोध प्रर्दशन



काठमाडौं ।

छिमेकी मुलुक भारतको पूर्वोत्तर राज्य मणिपुरमा भएको जातीय द्वन्द्वले निम्त्याएको महिला विरोधी घटनाले विश्वको शिर निहुरिएको छ । झण्डै ३ महिनादेखि जारी जातीय द्वन्द्वका क्रममा मैतेइ जातीका आन्दोलनकारीले कुकी जातीका तीन महिलाई निवस्त्र पारेर बजार घुमाउनुका साथै उनीहरु मध्ये २१ वर्षकी एक युवतीलाई सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएपछि अहिले भारतभर आन्दोलनले उग्ररुप लिएको छ ।


गत मे ३ देखि शुरु भएको जातीय द्वन्द्वमा त्यहा बसोवास गर्दै आएका ५० हजार भन्दा बढी नेपालीभाषी हिन्दुहरु अहिले आफ्नो थाकथलो छोडेर अन्यत्र पलायन हुन वाध्य भएका छन् । झण्डै ३४ लाख जनसंख्या रहेको मणिपुरको राजधानी इन्फालमा अहिले हिंसा उत्कर्षमा पुगेको छ ।

आधा जनसंख्या भन्दा बढी अर्थात ५४ प्रतिशत जनसंख्या रहेको मैतेइ जातिले आफुहरु पनि जनजातीको सूचीमा पर्नुपर्ने माग राख्दै अदालतमा मुद्दा दायर गरेपछि भारतको सर्वाेच्च अदालतले पनि मैतेइ जातीलाई जनजातीको अनुसुचीमा समावेश गर्न आदेश दिएपछि गत मे ३ देखि दुई समूहबीच झडप भइरहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

हिंसाले जातीय रुप लिएपछि अल्पसंख्यको सुचीमा रहेका कुकी र नागा जातीहरुले मैतेइ जातीको घर जलाउने बस्ती बस्तीमा पसेर आक्रमण गर्ने जस्ता काम भएपछि शुरु भएको जातीय हिंसामा परेर १ सय भन्दा बढी मानिसको मृत्यु भएको छ भने २ लाख भन्दा बढी स्थानीय ज्यान जोगाउन छिमेकी राज्यतर्फ पलायन भएका छन् ।

मणिपुरका मुख्यमन्त्री एस बिरेन सिंहले आन्दोलनरत पक्षलाई आतंककारीको संज्ञा दिएपछि त्यहाँको माहौल थप तनावग्रस्त बनेको छ । मणिपुरमा भएको हिंसालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै प्रतिक्रिया नजनाएको भन्दै भारतभर मोदीको तीव्र विरोध हुँदै आएको छ । मणिपुरमा भएको आन्दोलनका बारेमा अन्य राज्यका जनताले थाहा नपाउन भन्दै केन्द्र सरकारले इन्टरनेट र फोन काटिदिएपछि प्रधानमन्त्री मोदी विरुद्ध माहोल बन्दै गएको छ ।

तीन महिना अघि भएको महिलामाथिको अत्याचार गरिएको भिडियो हालै सार्वजनिक भएपछि आम भारतीय महिला अहिले मोदी विरुद्ध खुलेर विरोध गर्न थालेका छन् । भारतीय सर्वाेच्च अदालतका प्रधानन्यायाधीश धनन्जय यशवंत चन्द्रचुडले मणिपुरमा भएको महिला हिंसा विरोधी कामका बारेमा आफूले कारवाही गर्ने चेतावनी दिएपछि भारतीय प्रधानमन्त्री मोदीले पहिलो पटक मणिपुरको घटनालाई लिएर आफू दु : खी भएको बयान दिएका थिए ।

महिलामाथि भएको हिंसालाई प्रधानमन्त्री मोदीको निर्देशनमा अहिलेसम्म दवाएर राखेको आरोप विपक्षी भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीले आरोप लगाएपछि आगामी वर्ष भारतमा हुने संसदीय निर्वाचनमा मोदीलाई फलामको च्युरा चपाउनु बराबर हुने आंकलन भारतीय बुद्धिजिविहरुले गरेका छन् । धर्मको नाममा राजनीति गरेको र देशलाई माथि उठाउन मोदीले जती काम गर्नुपर्ने थियो त्यो नगरेको भन्दै भारतीय जनताले आगामी प्रधानमन्त्री गान्धी नै हुने ठोकुवा गर्दै आएका छन ।

अहिले भारतमा महिला विकास मन्त्री स्मृती इरानी, प्रधानमन्त्री मोदी र मणिपुरका मुख्यमन्त्री सिंहले राजीनामा दिनुपर्ने भन्दै भारतका प्रमुख शहरहरुमा विरोध प्रर्दशन हुँदै आएको छ । राजधानी इन्फालमा बाक्लो वस्ती रहेको मैतेइ जातीका युवाहरुले कुकी जातीका महिलामाथि गरेको अत्याचारको भिडियो भाइरल भएपछि प्रधानमन्त्री मोदीलाई महिला विरोधी प्रधानमन्त्रीको उपमा त्यहाँका महिलाहरुले दिँदै आएका छन् ।

मणिपुरको भ्रमणमा रहेका कांग्रेसका नेता राहुल गान्धीले हिंसा भड्काउन त्यहाँको भ्रमण गरेको आरोप भारतीय जनता पार्टीका नेताहरुले लगाउँदै आएपनि मणिपुरका जनताले भने गान्धीलाई राजधानी इन्फालमा भव्य स्वागत गरेका छन् । अल्पसंख्यक कुकी जातीका ५२, ४२ र २१ बर्षका महिलालाई नांगै बनाएर जुलुसमा बजार परिक्रमा गराएपछि २१ वर्षकी युवतीलाई एउटा चौरमा लगेर सार्वजनिक स्थानमा सामुहिक बलात्कार गरेपछि ती युवतीको अवस्था चिन्ताजनक रहेको पनि भारतीय मिडियाले जनाएको छ ।

उक्त सामुहिक बालात्कार काण्डमा मैतेइ जातीका २२ जना आन्दोलनमा सहभागी रहेका युवाहरुले ती युवतीलाई सार्वजनिक स्थानमा लगेर सामुहिक बालात्कार गरेको भिडियो सार्वजनिक भएपछि भारतभर मोदीको विरोध शुरु हुनुका साथै राहुल गान्धीलाई आगामी प्रधानमन्त्रीको रुपमा चित्रण गर्न थालिएको छ ।

लामो समय सत्ता बाहिर रहेको कांग्रेसलाई पुन सत्तामा फर्काउने उद्देश्यले गान्धीले भारतजोडो यात्रा शुरु गरेपछि गान्धीको लोकप्रियता ह्वात्तै बढेपछि सत्तारुढ दल भाजपाले राहुललाई चौतर्फी घेरावन्दी गरेको थियो । तर गान्धीले राज्यपक्षबाट भएको दमनलाई वास्तै नगरी आफ्नो यात्रा पुरा गरेका थिए ।

कांग्रेस लगायत विपक्षी दलले मणिपुरको घटनालाई मुख्य मुद्दा बनाएर देशभर माहौल आफ्नो पक्षमा पार्न सफल हुँदै गएको छ । मणिपुर घटनापछि भारतीय संचारमाध्यमलाई आम जनताले दोगी मिडियाको संज्ञा दिँदै ठाउँठाउँबाट सञ्चारकर्मीलाई लखेट्नुका साथै मुखभरीको जवाफ दिँदा समेत सञ्चारकर्मी निरिह भएर हिड्नु परेको छ ।

केन्द्र सरकारले मणिपुरको हिंसलाई दवाउन केन्द्रबाट पठाएको सुरक्षाफौजले स्थानीय जनतामाथि गरेको ज्यायतीका भिडियोहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन ।

मैतेइ जातीले आन्दोलनका क्रममा अल्पसंख्यक कुकी जातीका महिलामाथि गरेको अत्याचारका क्रममा आफ्नो अस्तित्व जोगाउन ३ जना पीडित महिलाले सुरक्षाकर्मीको साथ खोज्दै सुरक्षाकर्मीको नजिक गएको भएपनि सुरक्षाकर्मीले ती महिलालाई धकेलेर आन्दोलकारी तर्फ पठाइदिएको भिडियो समेत अहिले भइरल भएको छ ।

(एजेन्सीको सहयोगमा) 

प्रतिक्रिया दिनुहोस्