ओखलढुंगामा फेरी पहिरो कै त्रास



ओखलढुंगा ।

ओखलढुंगाको विलन्दुमा गत असार ७ गते राती १९ घर परिवार विस्तापित सहित ४ जनाको ज्यान जाने गरी गएको पहिरोको मार्का नभुल्दै ओखलढुंगामा पहिरोको अर्काे पिडा थपिएको छ ।

साेमबार बेलुकादेखि परेको भीषण वर्षापछि गएको पहिरोका कारण सदरमुकाम ओखलढुंगामा दुई घरमा क्षति पुगेको छ भने तीन घर उच्च जोखिममा छन् । जिल्ला समन्वय समिति नजिकै गएको पहिरोले सिद्धिचरण नगरपालिका १२ स्थित खोरियामा पहिरो जाँदा २ घरमा क्षति पुगेको हो ।

घर माथिबाट पहिरो खस्दा सोमबहादुर खत्रीको साँढे ३ तले पक्की घरकोबिच तलाको पछाडिको भाग भत्किएको छ भने ठाउँका पेशल खत्रीको ३ तले पक्की घरको पछाडी पट्टीको भाग भत्किएको छ । घरभन्दा माथिबाट आएको पहिरो घरमा क्षति पुर्याएको हो ।

पहिरोमा परी खत्रीको घरमा कोठा भाडामा बस्दै आएका २ जना सामान्य घाईते भएका छन् । पहिरोले १ करोडमाथि क्षति गरेको प्रहरीको अनुमान छ । वस्तीमाथि पहिरो खस्ने अरु संभावना रहेकाले अन्य तीन घर जोखिममा छन् । पहिरोको जोखिममा परेका ३ परिवार विस्थापित भएका छन् । उनीहरुलाई अन्यत्र बस्ने व्यवस्था मिलाइएको प्रहरी निरिक्षक देवेन्द्र दासले बताए ।
पहिरोले कोल बहादुर खत्रीको कुखुरा फर्म समेत पुरेको छ ।

उक्त फर्ममा १ लाख बढीको क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकभन्दा माथिबाट पहिरो खसेर रमाइलोडाँडा जिसस सडक खण्डमा समेत क्षति पुर्याएको छ । पहिरो पन्छाएर सवारी सुचारु गराइए पनि पहिरोको जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्