एमाले काँग्रेस लगायतले विकासमा साझा धारणा बनाउन नेताहरुको आग्रह

0
Shares

धादिङ  । 

जनताको समस्या समाधान गर्नका लागि नेकपा एमाले नेपाली काँग्रेस लगायतका दल एक भएर विकासका विषयमा साझा धारण बनाएर अघि  बढ्नु पर्ने राजनीतिक दलहरुले बताएका छन् ।

नेकपा एमालेद्वारा धादिङबेसीमा ४५ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पालालको योगदान विषयक विचार गोष्ठीमा  नेकपा एमाले, नेपाली काँग्रेस लगायतका सामाजिक अगुवाहरुले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले जनताको समस्या समाधान गर्नका लागि जनतका साझा विषयमा एमाले नेपाली काँग्रेस लगायतका दल एक भएर अघि बढ्नु पर्ने बताउनुभयो ।

एमालेले जितेका ठाउँमा सहकार्य गर्न जनप्रतिनिधिहरूलाई निर्देशन दिइएको बताउँदै नेपाली काँग्रेसले जितेको ठाउँमा विकासका योजनामा सहकार्यगर्नका लागि आग्रह गर्नुभयो । राजनीति सेवा भएकोले चुनावपछि जितेकाहरुले निजि सम्पत्ति जस्तो ठान्ने बानी त्यागेर  चुनाव जितेपछि साझा मान्छे हुन सिक्नु पर्नेमा अहिलेका जनप्रतिनिधि त्यो हुन नसकेको बताउनुभयो ।

दुख कष्टबाट प्राप्त गरेको व्यवस्थालाई समृद्ध पार्दै समाजवादका लागि इमानदार भएर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस धादिङका पूर्व सभापति रमेश धमलाले विकासका साझा विषयमा साझा धारणा बनाउन दलहरुलाई आग्रह गर्नुभयो । हरेक वडामा कम्तीमा विकासका ५ ओटा विषयमा साझा  एजेन्डा बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । पुष्पलाल जस्ताले गर्दा यो व्यवस्था आएर अहिले विकासको यो अवस्थामा आएकोले योगदानको चर्चा गर्दै सम्मान गर्दै नयाँ काम गर्नु पर्ने धमलाको भनाइ छ ।

पुष्पलाललाई लेनिनसँग तुलना गर्दै माक्र्सबाद अध्यायन प्रतिष्ठानका अध्यक्ष सीताराम कोइरालाले नेपालका कम्युष्टिलाई एकतावद्ध गर्दै अघि बढ्न पुष्पलालको विचारले योगदान गरेको बताउनुभयो ।

पुष्पलालको विचारले सबै राजनीतिक दल एकजुट भएर एकताबद्ध अघि बढ्नु पर्ने बताउनुभयो। मृत्युको अन्तिम घडीमा समेत भारतले उपचार गरिदिन्छु भन्दा इन्कार गरी आफ्नै देशको जनताले उपचार गर्ने बताएर आफूलाई सादगीको उदाहरण दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य जानुका सिंखडा, रेशम लामा लगायतले पुष्पलालको जीवनी र योगदानबारे चर्चा गर्नुभएको थियो ।