चार महिनाका लागि समाजवादी मोर्चाको संयोजकमा माधवकुमार नेपाल र सदस्य सचिवमा प्रमेश हमाल

0
Shares

समाजवादी मोर्चा नेपालको संयोजकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सदस्य सचिवमा नेकपा एकीकृत समाजवादीकै उपाध्यक्ष प्रमेश हमाल चयन भएका छन् । उनीहरू चार महिनाका लागि चयन भएका हुन् । मोर्चाको केन्द्रीय संयोजन समितिको दोस्रो बैठक ३० असारमा नेपालको अध्यक्षतामा बसेको थियो ।

बैठकले उनीहरूको कार्यकाल चार महिना तोकेको हो । बैठकले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी तथा माओवादी केन्द्रकी सल्लाहाकार सीता दाहालको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको थियो ।

बैठकमा यसअघि बसेको बैठकले गठन गरेको कार्यदलको प्रतिवेदन पेस गरिएको छ । मोर्चाको कार्यविधि तय गर्न चार सदस्यीय कार्यदल बनाइएको थियो । कार्यविधिअनुसार मोर्चामा आवद्ध पार्टीहरुले केन्द्रीय संयोजन समितिमा सहभागी हुन पार्टी प्रतिनिधिको जिम्मेवारी दिएको छ । त्यसअनुसार नेकपा (माओवादी केन्द्र) बाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र महासचिव देव गुरुङ रहेका छन् । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्षद्वय राजेन्द्र पाण्डे, प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेका छन् ।

बैठकले प्रदेश र जिल्ला स्तरमा मोर्चा संयोजन समिति गठन गर्ने निर्णय गरेको छ । यस सम्बन्धमा सम्वद्ध दलहरुले सम्बन्धित पार्टी कमिटीहरुलाई निर्देशन दिन बैठकले आग्रह गरेको छ ।  बैठकले मोर्चा गठन भएको सन्दर्भमा प्रदेशस्तरमा ‘सन्देशसभा’ को आयोजना गर्ने र त्यससम्बन्धी विस्तृत कार्ययोजना सचिवालयले तयार गर्ने निर्णय गरेको छ ।