बंगलादेशमा भयानक बस दुर्घटना १७ यात्रुको मृत्यु

0
Shares

एजेन्सी  ।

बंगलादेशमा भयानक दुर्घटना भएको खबर छ । बंगलादेशको झलकाठी सदर उपजिल्लाको छत्रकांडा क्षेत्रमा बस पोखरीमा खस्दा तीन बालबालिकासहित १७ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

चालकको लापरवाहीका कारण यो दुर्घटना भएको घाइतेहरुले आरोप लगाएका छन् । उनीहरुका अनुसार बसमा यात्रु खचाखच भएको पनि बताए । बंगलादेशी अखबार डेली स्टारका अनुसार ५२ जना क्षमताको बसमा ६० भन्दा बढी यात्रु सवार थिए। पिरोजपुरको भण्डारीयाबाट बिहान करिब ९ बजे छुटेको बस बरिशाल–खुल्ना राजमार्गको छत्रकाण्डामा बिहान १० बजेतिर सडक छेउको पोखरीमा खसेको थियो ।

जुन यात्रामा रहेका एक घाइते एमडी मोमिनले भने, ‘म भण्डारियाबाट बसमा चढेँ । बस यात्रुले खचाखच भरिएको थियो । तिनीहरूमध्ये कोही कोरिडोरमा उभिरहेका थिए। मैले चालकलाई सुपरभाइजरसँग कुरा गरिरहेको देखेँ। अचानक बस सडकबाट चिप्लिएर दुर्घटनामा पर्न गयो ।’ मोमिनले अगाडी भने, ‘सबै यात्रु बसभित्र फसेका थिए । ओभरलोडका कारण बस तत्कालै डुबेको थियो । म कुनै तरिकाले बसबाट बाहिर निस्कन सफल भएँ।’

बारिशालका डिभिजनल कमिश्नर एमडी शौकत अलीले सबै १७ जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी घाइतेहरूलाई अस्पताल लगिएको पुष्टि गरेको डेली स्टारले जनाएको छ। मृत्यु हुनेमा अधिकांश पिरोजपुरको भण्डारीया उपजिल्ला र झलकाठीको राजापुर क्षेत्रका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

एक महिनामा दुर्घटनामा ५६२ जनाको मृत्यु

बंगलादेशमा बस दुर्घटना सामान्य भइसकेको छ । सडक सुरक्षा फाउण्डेशन (आरएसएफ) का अनुसार जुनमा मात्रै ५५९ सडक दुर्घटना भएका छन् । जुन दुर्घटनामा परेर ५६२ जनाको मृत्यु भएको थियो भने ८१२ जना घाइते भएका थिए । ढाका ट्रिब्यूनका अनुसार बुधबार जारी गरिएको प्रतिवेदनमा थप भनिएको छ कि देशभर २०७ मोटरसाइकल दुर्घटनामा १६९ जनाको मृत्यु भएको छ, जुन कुल मृत्युको ३३.७५ प्रतिशत हो। प्रतिवेदनका अनुसार यसमा ७८ महिला र ११४ बालबालिका रहेका छन् ।