दलाई लामा र चीन सरकारबीच अनौपचारिक संवाद



नयाँदिल्ली । चीनले हालै तिब्बतका धार्मिक नेता दलाई लामासँग सम्पर्क गरेको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार दलाई लामाले करिब एक साताअघि चिनियाँ नेताहरूले आफूसँग सम्पर्क गरेको बताएका थिए ।

यद्यपी यो कहिले भयो र चीनसँग के वार्ता भयो ? त्यो भने उनले खुलाउन चाहेनन् ।

दलाई लामाले यसअघि आफू वार्ताका लागि सधैं तयार रहेको बताएपछि चीन सरकारले सम्पर्क गरेको बताईएको छ ।

दलाई लामाले भारतमै बसेर ‘तिब्बत सरकार’ चलाईरहेका छन् । । यसलाई तिब्बतको निर्वासन सरकार पनि भनिन्छ ।

हालै यो सरकारकी मन्त्री नोर्गिन डोल्मा जापान भ्रमणमा गएकी छन् । त्यहाँ उनले चीनले दलाई लामासँग अनौपचारिक रूपमा ब्याकडोर वार्ता गरिरहेको र यो निकै महत्त्वपूर्ण रहेको पनि पुष्टि गरेका थिए ।

दलाई लामाले आफ्नो जीवनकालमा तिब्बतको समस्याको समाधान खोज्नेमा हामी सबै सहमत छौं भन्ने सन्देश निरन्तर दिएपछि चीन सम्पर्कमा आएको हुनसक्ने जनाईएको छ ।

यसअघि आफ्नो जन्मदिनको अवसरमा दलाई लामाले भनेका थिए– ‘चीन अब परिवर्तन हुँदैछ र म उनीसँग कुरा गर्न तयार छु । मलाई भेट्न चाहनेले तिब्बतको समस्या समाधान गर्न आउन सक्छन् । हामी पूर्ण स्वतन्त्रता चाहँदैनौं । धेरै वर्ष पहिले हामीले निर्णय गर्यौं कि हामी चीनको हिस्सा रहनेछौं ।’

अहिले चीनले पनि तिब्बती जनताको मनोबल निकै बलियो भएको महसुस गरेको उनले जनाएका छन् । ‘त्यसैले अब तिनीहरू संबाद गर्नका लागि मसँग आउने छन भन्नेमा म बिश्वस्त छु ।’

प्रतिक्रिया दिनुहोस्