महिला तथा बालबालिका हराउने क्रम बढ्यो

0
Shares

डडेल्धुरा ।

पछिल्लो समय डडेल्धुरामा महिला, बालबालिका तथा पुरुष हराउने क्रम बढेको छ । जिल्लामा महिला, बालबालिका र पुरुष गरेर अझै ४२ जना बेपत्ता छन ।

बेपत्ता हुनेमा सबैभन्दा बढी महिला र बालबालिका छन । गत आर्थिक बर्षमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा महिला, बालबालिका, पुरुष तथा जेष्ठ नागरिक हराएको भन्दै एक सय आठ ओटा निवेदन दर्ता भएका थिए । ती मध्ये २३ महिला, छ पुरुष र १३ बालबालिका अझै बेपत्ता छन ।

जिल्लाका विभिन्न क्षेत्रबाट ४७ महिला हराएको निवेदन दर्ता भएकोमा २४ महिला फेला परेका छन भने २३ महिला अझै बेपत्ता छन । ४७ बालबालिका हराएकोमा ३४ बालबालिका मात्र फेला परेका छन भने १३ बालबालिकाको अवस्था अझै अज्ञात छ । दुईजना जेष्ठ नागरीक हराएकोमा दुइटै फेला परेका छन ।

जिल्लाका बिभिन्न क्षेत्रबाट १२ पुरुष हराएको निबेदन दर्ता भएकोमा छ जना फेला परेका छन भने छ जनाको अवस्था अज्ञात छ । डडेल्धुराबाट सबैभन्दा बढी २३ महिला, नौ बालिका, छ पुरुष र चार बालक अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्यांक छ ।

महिलासँगै बालिका हराउने संख्या पनि डरलाग्दो रुपमा देखिएको छ । कतिपय किशोरीहरुले प्रेम विवाह गरेको अबस्थामा परिवारजनले प्रहरीलाई खोजबिनका लागि निवेदन दिने गरेको प्रहरी अधिकारीहरु बताउछन् ।

आफन्त हराएको भन्दै प्रहरीमा निवेदन दिनेको संख्या पछिल्लो समय बढ्दै गएको र हराएका महिला, बालबालिका तथा पुरुष खोज्ने कार्यमा प्रहरीको सक्रिता बढेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले बताउनु भयो । पछिल्लो छ महिनामा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले ६६ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाईसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।