कृतिम गर्भाधान सेवा भैँसीमा भन्दा गाईमा बढी प्रभावकारी 

0
Shares

लमजुङ  । 

लमजुङबाट प्रवाह भएको कृतिम गर्भाधान सेवा भैँसीमा भन्दा गाईमा बढी प्रभावकारी देखिएको छ । पशुको कृत्रिम गर्भाधान सेवालाई गाउँ–गाउँसम्म पु¥याइएपछि जिल्लाका किसानहरू लाभान्वित बनेका छन् ।

आफूले चाहे अनुसारको उन्नत जातको पशुको उत्पादन हुने, छिटो, सजिलो र दूधको उत्पादनमा वृद्धि हुने भएकाले किसान कृत्रिम गर्भाधान प्रक्रियामा आकषिर्त भएको पशु सेवा कार्यालय लमजुङले जनाएको छ ।

जिल्लामा २०६५ साल देखि पशुमा कृतिम गर्भाधान सेवा सुरु भएको हो । कृत्रिम गर्भाधान गर्दा स्थानीय पशुमा दूध बढ्ने र जन्माएको पाडा पाडी वा बाच्छा बच्छी उन्नत जातका हुने, थोरै वीर्यबाट धेरै पशुलाई प्रजनन गराउन सकिने, पशुमा लाग्ने सरुवा रोगबाट बच्न सकिने जस्ता फाइदा हुने भएपछि पशुको कृत्रिम गर्भाधान गर्नेको संख्यामा वृद्धि भएको पशु कार्यालयले जनाएको छ ।

पशुमा प्रजनन इच्छा जागेको १६ घण्टा भित्रमा गर्भाधान गराउनुपर्ने पशु चिकित्सकले बताएका छन् । ठिक समयमा सही तरिकाले गर्भाधान गराउन सके गर्भ रहन सक्ने नत्र बाँझो बस्ने प्राविधिकको भनाई छ ।

लमजुङमा गत आर्थिक वर्षमा मात्रै १६ सय बढी पशु चौपायाको कृतिम गर्भाधान भएको छ । पशु व्यवसायमा राम्रो उन्नति गर्न पशुको कृत्रिम गर्भाधान (एआई) गर्ने व्यवस्था भएसँगै आर्थिक वर्ष ०७९-८० मा जिल्लामा एक हजार ६ सय ५४ पशुमा कृतिम गर्भाधान भएको हो ।

जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार गत आर्थिक वर्षमा आठ सय ७० गाई, सात सय ७३  भैँसी र ११ वटा बाख्रामा कृतिम गर्भाधान भएको हो । सो मध्ये सदरमुकाममा रहेको भेटेरीनरी अस्पतालमै आएर २२ पशुमा कृतिम गर्भाधान भएको थियो । सो बाहेकका पशुहरूमा भने जिल्लाका अन्य स्थानमा कृतिम गर्भाधान सेवा प्रवाह भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा रुपेश श्रेष्ठले जानकारी दिनुभयो ।

 कार्यालयका अनुसार जिल्लामा सबैभन्दा धेरै मध्य नेपालमा पाँच सय ९७ पशु चौपाया कृतिम गर्भाधान भएको छ । सो बाहेक बेसीशहर नगरपालिका अन्तर्गत एक सय ९५, सुन्दर बजारमा एक सय ९८, राईनासमा दुई सय १९, दोर्दीमा चार सय ६ र मर्स्याङ्दी १७ पशु चौपायामा कृतिम गर्भाधान भएको छ ।

जिल्लामा पशु कृतिम गर्भाधान सेवाका लागि पाँच वटा केन्द्र रहेका छन् । उक्त सेवा प्रवाहका लागि १६ जना तालिम प्राप्त प्राविधिक जनशक्ति रहेको कार्यालय प्रमुख श्रेष्ठको भनाई छ । अघिल्लो आर्थिक वर्ष जिल्लामा दुई हजार बढी पशुहरूमा कृतिम गर्भाधान भएको थियो । पछिल्लो १० वर्षको तथ्याङ्क अनुसार कृत्रिम गर्भाधान गर्नेको सख्या वृद्धि भएको पशु सेवा कार्यालयको तथ्यांकले देखाएको छ ।

जिल्लाको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७६-७७ मा मात्रै जिल्लामा दुई हजार दुई सय ८१ पशुमा कृतिम गर्भाधान भएको थियो । पछिल्लो १० वर्षको तथ्याङ्क अनुसार जिल्लामा आर्थिक वर्ष ०६८-६९ देखि ७७-७८ सम्म पाँच हजार बढी गाई र सात हजार बढी भैँसीमा कृतिम गर्भाधान भएको छ ।