अर्थमन्त्री महत र चिनियाँ समकक्षीबीच भेटवार्ता



गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ ।

भारतको गुजरात राज्यको गान्धीनगरमा भइरहेको जी २० अर्थमन्त्री स्तरिय बैठकको क्रममा अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री लिउबीच भेटवाताृ भएको हो ।

द्विपक्षीय वार्तामा दुई देशबीच ऐतिहासिक र सहयोगात्मक सम्बन्ध रहेको कुरा दुवै मन्त्रीहरूले व्यक्त गरेका छन् ।

एक अर्काको चासो र सरोकार प्रति दुवैपक्ष सम्वेदनशील रहेको बारेमा पनि दुवै मन्त्रीको समान धारणा रह्यो ।

मन्त्री महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् ।

सन् २०१९ मा चीनका राष्ट्रपतिले गर्नुभएको नेपालको भ्रमणकाक्रममा उहाँले नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकोमा कोभिड-१९ को कारणले समयमा अगाडी बढ्न नसकेकोमा अब चाँडै अगाडी बढ्ने विस्वाससमेत व्यक्त गरेका छन् ।

उक्त भेटका अवसरमा मन्त्री महतले नेपाल र चीनबीचका महत्वपूर्ण सीमा नाकाहरूबाट दुई देश जोड्ने सडक परियोजनाहरु सहयोगको महत्वपूर्ण क्षेत्र हुन सक्ने र दुवै देशका सम्बन्धित निकायहरूले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विस्वास व्यक्त गरे ।

सुरुङ मार्गको प्रसङ्गमा टोखा छहरे सुरुङ मार्ग चाँडो कार्यान्वयनमा आउने आशा व्यक्त गरे ।

चिनियाँ अर्थमन्त्रीले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजनाहरू चाँडै कार्यान्वयनमा आउने विस्वाससमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्