आधारबिना उत्कृष्ट विद्यालय घोषणा गर्न पाइँदैन : शिक्षा मन्त्रालय

कामपा भन्छ : यस्तो प्रवृत्ति बन्द गर्छौं



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड र आधारबिना कुनै पनि विद्यालयलाई उत्कृष्ट घोषणा गर्न नमिल्ने जनाएको छ । पछिल्लो एक सातायता राजधानीमा विभिन्न कार्यक्रम आयोजना गरी केही माध्यमिक विद्यालयलाई ‘अब्बल’ विद्यालयको संज्ञा दिँदै सम्मान गरेपछि मन्त्रालयले आधार र प्रमाणबिना उत्कृष्ट विद्यालयको नाममा सम्मान गर्न नहुने बताएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले सम्मान गर्ने संस्थाको विधान, वैधानिकता र मापदण्डका आधारमा मात्र सम्मान गर्न मिल्ने तर नियामक निकायले सर्वोत्कृष्ट र उत्कृष्ट घोषणा नगरी आफूखुसी सम्मान गर्न नपाइने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘कुनै नियामक निकायले निर्णय नगरी उत्कृष्टको लोगो दिएर सम्मान गर्नु गलत प्रवृत्ति हो । उत्कृष्ट विद्यालयको दर्जा तय गर्ने निकाय काठमाडौं स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका शिक्षा विभागले नियमविपरीत उत्कृष्ट प्लस टु भन्दै भ्रम छर्न नपाइने जनाएको छ ।

शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले यस विषयका महानगरपालिकाले चाँडै आफ्नो धारणा सार्वजनिक गर्ने बताउनुभयो । प्याब्सनका अध्यक्ष डीके ढुंगानाले हचुवाको भरमा उत्कृष्ट विद्यालयको नाममा सम्मान गर्न नपाइने टिप्पणी गर्दै भन्नुभयो– ‘कुनै पनि पुरस्कार र सम्मान दिन पाइन्छ । तर, नियम कानुनविपरीत नियामक निकायको स्वीकृतिबिना उत्कृष्टताको नाममा विद्यालयलाई लोगो लगाउन पाइँदैन ।’

पछिल्लो समय उत्कृष्ट २० वटा विद्यालयको नाममा सम्मान गरेपछि अन्य विद्यालयले आपत्ति जनाएका छन् । प्याब्सन अध्यक्ष ढुंगानाले यस विषयमा स्थानीय तहले ध्यान दिनुपर्ने बताउनुभयो ।

संघीय संरचना परिवर्तन हुनुअघि विगतमा त हिमाल र नेपाल नामक पत्रिकाले सर्वोत्कृष्ट १०औं वा २०औं प्लस टु कलेज वा विद्यालय भनेर घोषणा गर्ने गरेका थिए । करिब एक दशकअघि गोरखा ब्रुअरीको तर्फबाट एसएलसी उत्कृष्ट विद्यालयलाई टुबोर्ग एक्सिलेन्स एवार्ड प्रदान गर्ने प्रचलन पनि थियो ।

शुरूमा एसएसलसी कार्यालय र पछि उच्च माध्यमिक शिक्षा परिषद्ले, विद्यार्थी संख्या, नतिजा, भौतिक अवस्था, सिकाइका आधारको आधारमा उत्कृष्ट घोषणा गर्ने प्रचलन थियो । अब यो प्रचलन बन्द गर्ने विषयमा तत्काल सूचना जारी गर्ने तयारी भइरहेको कामपा शिक्षा विभाग प्रमुख कोइरालाको भनाइ थियो ।

हिसानका अध्यक्ष रमेश सिलवालले ¥याङकिङ गर्ने निकायले नम्बर दिने, विद्यालयको पछिल्लो अवस्था, पढाइ र गुणस्तरीयताको आधारमा मात्र उत्कृष्ट घोषणा गर्न मिल्ने बताउनुभो । उहाँले भन्नुभयो– ‘सरकारी वा नियामक निकायले मात्र उत्कृष्ट घोषणा गर्न मिल्छ । तर, जुन पायो, त्यही निकायले उत्कृष्ट घोषणा गर्न मिल्दैन । विद्यार्थी उत्तीर्ण भएको आधारमा उत्कृष्ट ठानेर सम्मान गर्नु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्