सुदूरपश्चिममा कालो महिना मनाईदैं



डडेल्धुरा  ।

सुदूरपश्चिम प्रदेशमा साउन महिनालाई कालो महिनाका रुपमा मनाइदैँछ । साउन महिनामा हरेक रात बत्ती बालेर भक्तिभावकासाथ श्रद्धासहित पूजाआजा गर्ने सुदूरपश्चिमेली समाजको मौलिक परम्परा हो ।
धार्मिक महिनाका रुपमा चिनिने साउन महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ भनिन्छ । कालो महिना मानिने भएकाले साउन संक्रान्तिदेखि बत्ती बालेर उज्यालो पार्ने पर्वका रुपमा मनाइन थालिएको सुदूरपश्चिमेली संस्कृतिका जानकार कैलाशकुमार पाण्डेयले बताउनु भयो ।

साउने सङ्क्रान्तिदेखि सुदूरपश्चिमका जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको उहाँले बताउनु भयो। साउनको महिना देवीदेवता वैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको हो ।

‘साउनमा सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने गर्दछन्, हरिशयनी एकादशीदेखि साउनसम्म भगवान वैकुण्ठमा बस्ने गर्छन्,’ पाण्ड्यले भन्नुभयो,‘देवीदेवताले बैकुण्ठधाममा पुगेर शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास रहिआएको छ ।’
साउन सङ्क्रान्तिदेखि भक्तजनले बिहानै उठेर नुहाएर एक महिनासम्म व्रत बस्ने तथा देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुने र अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास रहिआएको छ । साउन महिनाभरी मन्दिरमा राति जाग्राम बस्ने र बत्ती बाल्ने चलन रहिआएको ज्योतिष पण्डित कालीप्रसाद जोशीले बताउनु भयो । यसबेला यँहाका सात पहाडी जिल्लाबाट बसाइँ सरेर गएका पनि मन्दिरमा पूजापाठ गर्न तथा बत्ती बाल्न जिल्ला भित्रिने गर्दछन् ।

बत्ती बाल्ने महिना सुरु भएसँगै यहाँका शक्तिपीठहरुमा दर्शनाथीको भीड लाग्ने गरेको स्थानीय बताउँछन् । तर यसबर्ष अधिकमास परेकाले अधिकमासका बेला पूजापाठ गर्ने चलन नरहेको स्थानीय संस्कृतिका जानकारहरु बताउँछन् । साउन महिनाभरी शक्तिपीठ तथा मन्दिरहरुमा पुगेर बत्ती बाल्ने र भजन किर्तनसँगै पूजापाठ गरेमा मनोकाङ्क्षा पुरा हुने धार्मिक विश्वास छ ।

कालो महिना शुरु भएसँगै खेतबारीमा रोगब्याधी नलागोस् र बालीनालीमा उत्पादन बढोस् भनेर कुरिलो, मेललगायत हरिया वनस्पतिको ह¥याल हाल्ने चलन पनि सुदूरपश्चिममा छ । ह¥याल हाल्ने भन्नाले कुरिलो, मेललगायत हरिया वनस्पति खेतबारीको आलीमा रोप्नुलाई भनिन्छ । साउनमा देवीदेवता शयन गर्ने भएकाले खेतबारीमा लगाइएको अन्नबालीको संरक्षण होस् भनेर ह¥याल हाल्ने गरिएको हो ।

हरेक वर्ष साउन सङ्क्रान्तिका दिन ब्राह्मण र चेलीबेटीलाई टीका लगाएर दान दक्षिणा दिने चलन रहेको ज्योतिष पण्डित जोशीले बताउनुभयो । साउनमा खीर पकाएर खाने तथा पराइघर गएका चेलीबेटीलाई मीठा खाद्यान्न परिकार पकाएर दिनुका साथै असारभरी हिलोमा खेतीपाती गर्नुपर्दा शरीर चिलाउने, खटिरा, लुतो आदि आउने भएकाले सफासुग्घर गरी ‘लुतो फाल्ने’ परम्परा पनि छ ।

गाउँघरमा साँझ अगेनामा कुरिलो र तीतेपाती सल्काएर एउटा अगुल्टो झिकेर चारै दिशामा घुमाउँदै ‘लुतो लैजाऊ’ भनी फ्याँक्ने प्रचलन रहेको स्थानीय संस्कृतिका जानकार पाण्डेयले बताउनु भयो । त्यसरी लुतो फालिसकेपछि जिउमा घाउ, खटिरा आएको छ भने कुकुरडाइनो जलाई त्यसको मलम बनाएर लगाउने चलन छ । साउन महिनामा देवीदेवता धर्तीमा नबस्ने भएकाले भूत प्रेतको सन्त्रासबाट मुक्ति पाउन कुरिलोको काँडालाई दैलो र झ्यालमा झुन्ड्याउने प्रचलनसमेत छ ।

अध्यारो महिना भएकाले झिझिरकाँडी (कुरिलोको काँडा) दैलो र झ्यालमा झुण्ड्याउँदा भूत प्रेतको सन्त्रास नहुने धार्मिक मान्यता रहेको पाण्डेयले बताउनु भयो । भविष्यमा केही अनिष्ट नहुने र नकारात्मक शक्तिको आगमन नहुने मान्यताका कारण साउन सङ्क्रान्तिको दिन सन्ध्याकालमा घरका ढोका र झ्यालहरुमा झिझिरकाँडी, मेल र कुर्जाे राख्ने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो । यसरी घरमा झिझिरकाँडी राखेको देखेपछि नकारात्मक शक्तिका रुपमा रहेको मानिने भुतप्रेतले खेतमा किसान काममा व्यस्त रहेको मौका छोपी घरमा प्रवेश गर्न नसक्ने जनविश्वास छ ।

साउन महिनामा पार्वतीले व्रत बसी महादेव पति पाएको धार्मिक विश्वासका आधारमा यस महिनालाई पवित्र महिनाका रुपमा मान्ने गरिन्छ । साउन सङ्क्रान्तिसँगै सुदूरपश्चिममा स्थानीय चाडपर्व सुरु भएको मानिने भुवनेश्वरी नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक डम्बरसिँह थ्वालले बताउनु भयो । उहाँले कालो महिना मनाउने संस्कृति सुदूरपश्चिमेली मौलिक संस्कृति भएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्