‘निजी क्षेत्रलाई सम्बोधन गर्ने बजेट आएन’

0
Shares

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योगी व्यवसायी जोखिम र संकटको क्षेत्रमा रहेको बताउनुभएको छ । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आठौं तथा नवौं वार्षिक साधारण सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो र

प्रदेश अध्यक्ष शर्माले बैकको बेथितिका कारण लुम्बिनी प्रदेशमा करिब १२ हजार उद्योगी व्यवसायीको पेशा व्यवसाय धरापमा परेको औंल्याउनुभयो ।

आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेटमा निजी क्षेत्रलाई सम्बोधन नगरिएको प्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष शर्माले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा पनि त्यति धेरै आशा गर्ने ठाउँ नभएको गुनासो गर्नुभयो ।

कार्यक्रममा संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव)ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै राज्यले निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्न नसकेसम्म आर्थिक विकास सम्भव नहुने बताउनुभयो । उद्योगी व्यवसायीले जुनसुकै काम गर्दा पनि सरकारी निकायबाट हुने झन्झटिलो प्रकृया र असहज वातावरणका कारण भ्रष्टाचारमा वृद्धि भएको उल्लेख गर्दै सरकारका विभिन्न निकायबाट हुने कानुनी प्रक्रियाका नाममा उद्योगी व्यवसायीलाई दुःख दिने र आर्थिक मारमा पार्ने कामलाई रोक्न आग्रह गर्नुभयो ।

अध्यक्ष भण्डारीले हाल मुलुकको विग्रदो अर्थतन्त्रलाई सुधार गर्न पुँजीगत खर्चमा वृद्धि, संस्थागत निक्षेपलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने, कृषि, पर्यटन, साना तथा मझौला उद्यमलगायतका उत्पादनमुलक क्षेत्रमा पुनःकर्जाको सिमा र अवधि बढाउन आग्रह गर्नुभयो ।

त्यस्तैगरी नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा उद्योग समितिका सभापति राजेशकुमार अग्रवाल र नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण राम्रो नभएको भनाइ राख्नुभयो । उहाँहरुले मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढी निजी क्षेत्रको योगदान रहेको उल्लेख गर्दै यति धेरै योगदान गरेको निजी क्षेत्रको संरक्षण हुन सकेन भने देशको अर्थतन्त्र झनै विग्रिदै जाने उल्लेख गर्नुभयो ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख शान्तिराम निरौलाले ऐन कानुनको परिधिमा रहेर काम गर्दा कुनै समस्या नआउने बताउनुभयो । उहांले उद्योगी व्यवसायीलाई परेका समस्या समाधान र नजानेका केही कुरा भए सिकाउन कार्यालय तयार रहेको भन्दै त्यसको व्यवस्थापन मिलाउन संघलाई आग्रह गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका निर्देशक सत्यन्द्रराज सुवेदीले उद्योगी व्यवसायीलाई मात्रै नभएर व्याजदर बढाउनु बैंकका लागि पनि राम्रो नभएपनि देशको परिस्थितिका कारण व्याजदर बढाउन बैंकहरु बाध्य भएको बताउनु भयो । उहाँले व्याजमा दायित्व बढ्दा त्यसको व्यवस्थापन गर्ने कुरामा अग्रगामी सोंच नहुंदा अहिले उद्योगी व्यवसायीलाई समस्या भएको भनाई राख्नुभयो ।

त्यस्तैगरी नेकपा माओवादी केन्द्रका तिलोत्तमा नगर अध्यक्ष वेलप्रसाद शर्मा, संघका कानुनी सल्लाहकार माधव घिमिरे, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, उद्योग उपाध्यक्ष सुरज पंगेनी, महासचिव राजकुमार पाण्डेलगायतले बोल्दै बैंक तथा वित्तिय संस्थाबाट प्रदान गरिने कर्जामा एकल अंकको व्याजदर कायम गर्र्न माग गर्नुभयो ।