पीपीए खुलाउन निजी क्षेत्रको आग्रह

चमेलिया–स्याउले–अत्तरियाको दोस्रो सर्किट सञ्चालनमा

0
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतसँग जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुला गर्न आग्रह गरेको छ ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रधानमन्त्रीको हालै भएको भारत भ्रमणका क्रममा भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत् आयोजनाको पीपीए पूर्णरुपमा खुला गरी निर्माणको वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्न, प्रसारणलाइन निर्माण तथा विद्युत व्यापारमा निजी क्षेत्रको संलग्नता गराउन उहाँले आग्रह गर्नुभयो । विद्युत निर्यात हुँदै गर्दा स्वदेशमै रहेका उद्योगहरुले सहज रुपमा विद्युत नपाइरहेको र यसले उद्योगहरुको उत्पादन लागत बढाउन सहयोग गरेको उहाँले बताउनुभयो । अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रलाई उकास्न बजेटको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिनुभयो ।

सो अवसरमा मन्त्री बस्नेतले समग्र ऊर्जाको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले हालकै लागतमा १० हजार मेगावाट उत्पादन गर्न २० खर्ब बराबर लगानी आवश्यक पर्ने र त्यसले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने बताउनुभयो । उहाँले समग्र उर्जा क्षेत्रको विकासका लागि ‘उर्जा दशक’ घोषणा गरी अगाडि बढ्न गृहकार्य गरिरहेको बताउनुभयो

चमेलिया–स्याउले–अत्तरियाको दोस्रो सर्किट सञ्चालनमा

दार्चुला र बझाङका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका गर्न निर्माण गरिएको चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट सुरु भई बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको गोदावरी नगरपालिस्थित अत्तरिया सबस्टेसनमा अन्त्य हुने १३२ केभी डबल सर्किट प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा ल्याइएको हो । प्रसारण लाइनको लम्बाइ १३१ किलोमिटर छ ।

नेपाल विद्युत प्राधिकरणले दार्चुलामा निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाले बनाएको प्रसारण लाइनको पहिलो सर्किट २०७३ बाट सञ्चालनमा थियो । कोरियाली एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा डबल सर्किटलाई हुने गरी प्रसारण लाइनका टावर संरचनाहरु बनाएको थियो ।तर, आयोजनाले एउटा मात्र सर्किट निर्माण गरी सञ्चालनमा ल्याएको थियो । नेपाल सरकारको करिब ६० करोड रुपैयाँ लगानीमा दोस्रो सर्किट निर्माण गरी लाइन सञ्चालनमा ल्याइएको हो ।

चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनमा अहिले प्राधिकरण र निजी क्षेत्रले निर्माण गरेका आयोजनाहरुको करिब ११० मेगावाट विद्युत् जोडिएको छ । निजी क्षेत्रका आयोजनाहरुको ५० मेगावाट विद्युत् जोडिने क्रममा छ ।

सुदूरपश्चिमका प्रदेशका पहाडी जिल्लामा विद्युत आपूर्तिलाई नियमित र भरपर्दो बनाउन डडेलधुराको स्याउलेमा १३२÷३३ केभी सबस्टेसन सञ्चालित छ । बलाँच सबस्टेसनबाट आएको विद्युत स्याउले सबस्टेसनबाट डडेल्धुरा, दार्जुला,डोटी, वैतडी र अछाममा आपूर्ति गरिएको छ । त्यस क्षेत्रमा करिब ६ मेगावाट विद्युत् खपत हुन्छ ।

स्याउले सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्ति गरी बाँकी रहेको विद्युत् अत्तरिया सबस्टेसनमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । कोहलपुरबाट पश्चिम क्षेत्रको विद्युत् माग जाडो र गर्मीमा क्रमश : करिब ८० र २०० मेगावाट हुन्छ ।

चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किटको आयोजना आर्थिक वर्ष २०७४÷७५बाट सुरु गरिएको थियो ।